अभिनेता दयाहाङ राईको निर्देशनमा बनेको ‘मितज्यू’ नाटक मण्डला नाटकघर बानेश्वरमा नियमीत मञ्चन शुरू भएको छ।
सोमनाथ खनालले लेखेको ‘मितज्यू’ यसअघि डिजिटल माध्यमबाट युट्युवमा सार्वजनिक भइसकेको थियो।
मितज्यू दुई वृद्धहरूले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ कथा हो।
नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनो अन्तर्गत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ।
मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।
पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ । तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।
७ वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक ‘मितज्यू’ लाई डिजिटल प्लेटफर्मबाट पनि सार्वजनिक गरिएको थियो।
बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको नाटक राजन खतिवडाको मञ्च परिकल्पनामा भएको हो। नाटकमा बेनुका राईको संगीत सुनिनेछ।
नाटक एक हप्तासम्म मण्डला नाटकघरमा नियमित मञ्चन हुने भएको छ।