म नदी हुँ, थुनेर कतिञ्जेल सक्छौ, थुनी हेर
म वायु हुँ, रोकेर कतिञ्जेल रोक्छौ, रोकी हेर
यो रातको अँध्यारोमा कतिञ्जेल राज गर्छौ, सोखले गर
उदाउँदै गरेको सूर्य हुँ म, भोलि त म उदाउनेछु, कतिञ्जेल थुन्छौ थुनी हेर...।
४५ वर्षपछि दोस्रो पटक यो मुक्तक सुनाउँदा पोखरेली दर्शकबाट विश्वविमोहन श्रेष्ठले 'वान्स मोर' पाए।
उनले यो मुक्तक पहिलो पटक २०३५ माघ २० गते पोखरामा सुनाएका थिए। त्यतिबेला पोखरेली युवा सांस्कृतिक परिवारले नेपालमै पहिलो पटक 'टिकटमा मुक्तक' कार्यक्रम आयोजना गरेको थियो।
त्यतिबेला अभिव्यक्ति स्वतन्त्रता थिएन। पञ्चायतकालका शासकलाई चुनौती दिन लेखिएको यो मुक्तक त्योबेला उत्तिकै 'हिट' थियो। स्वतन्त्र शैलीमा लेखिने चार हरफको मुक्तकले स्वतन्त्रता पक्षधरलाई बल पुर्याएको थियो।
पोखरेली युवा सांस्कृतिक परिवारले पहिलो पटक टिकटमा मुक्तक कार्यक्रम आयोजना गर्दा टिकट शुल्क दुई रूपैयाँ तोकेको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए प्रख्यात कवि हरिभक्त कटुवाल। पोखरामा मुक्तक वाचन गरेर काठमाडौं फर्किँदा बाटोमा एक साता बिताए। कविता र मुक्तकको रसस्वादन गर्दै फर्किएको श्रेष्ठले स्मरण गरे।
'सिर्जनाको पनि मूल्य हुन्छ' भन्ने मान्यताका साथ टिकटमा मुक्तक कार्यक्रम आयोजना गरेको साहित्यकार सरूभक्त सम्झिन्छन्। पोखराका युवा साहित्यकारहरू जमघट भएर साहित्यिक रचना सुनाउँथे। जमघटहरूमा 'रूसमा टिकट काटेर कविता सुन्ने कार्यक्रम हुन्छ' भन्ने थाहा पाएपछि उनीहरूले पोखरामा पनि टिकटमा मुक्तक कार्यक्रम आयोजना गरेको सरूभक्तले सुनाए।
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सचिव समेत रहेका सरूभक्तले टिकटमा मुक्तक कार्यक्रमले लेखक र दर्शक दुबैलाई जिम्मेवार बनाउने बताए।
'कवितालाई पनि अरू परफर्मिङ आर्ट जस्तै मञ्चन गर्न सकिन्छ भनेर हामीले यो कार्यक्रम सुरू गरेका थियौं,' उनले भने, 'टिकटमा मुक्तक भनेपछि मुक्तक सुनाउने पनि जिम्मेवार हुन्छ। टिकट काटेर सुन्न आउने दर्शक पनि जिम्मेवार हुन्छ।'
पोखरामा सुरू गरिएको टिकटमा मुक्तक कार्यक्रम पञ्चायतभर नियमित सञ्चालन भएको थियो। कवि गोष्ठीभन्दा प्रभावकारी कार्यक्रम हुन थालेपछि लेखक, साहित्यकारहरू पनि हौसिए। यसले मुक्तकलाई स्थापित गराउन सफल भएको सरूभक्त बताउँछन्।
त्यही सिलसिलाको निरन्तरतामा शनिबार साँझ पोखरा उद्योग वाणिज्य संघको सभाहलमा टिकट काटेर मुक्तक सुन्न दर्शक खचाखच भए। जहाँ ४५ वर्षअघि मुक्तक सुनाएका स्रष्टा र नयाँ गरी ३१ जनाले ३/३ वटा मुक्तक सुनाए।
उनीहरूले मुक्तकमार्फत देशको अवस्थाको चिरफार मात्र गरेनन्, प्रेम, वियोग र सामयिक अव्यवस्थामाथि पनि मुक्तकिलो प्रहार गरे। साहित्यकार सरस्वती प्रतीक्षाले सुनाएको तीन मुक्तकमध्ये एउटा यस्तो छ।
बाँच्नै जान्दैनन् मान्छेहरू, बाँच्दा बाँच्दै सिलसिला टुटाउँछन्
खै, के केसँग साट्छन् शर्महरू र बेशर्म जुटाउँछन्
आफैं नांगिन्छन् मान्छेहरू, नांगिएको थाहै पाउँदैनन्
र ऐनाले नांगो देखायो भनेर ऐना फुटाउँछन्...।
टिकटमा मुक्तक कार्यक्रम पहिलो पटक आयोजना गर्दा कवि उषा शेरचन आयोजक परिवारका उपाध्यक्ष थिइन्। उनले त्यतिबेला पनि मुक्तक वाचन गरिन्। र, ४५ वर्षपछि शनिबार पनि मुक्तक वाचन गर्न स्टेज चढिन्। उनले समकालीन निराशा र हताशा दर्शाउने एउटा यस्तो मुक्तक वाचन गरिन् —
रित्तो छु, निराश छु, तैपनि हाँसेकै छु
निस्तो छु, हतास छु, तैपनि नाचेकै छु
नसोध मलाई मेरो हालखबर तिमीले
एक्लो छु, उदास छु, तैपनि बाँचेकै छु...।
स्कुले जीवनमा पोस्टकार्डमा मुक्तक लेखेर साथीलाई पठाउने चलन थियो। माया, प्रेम, आपसी सम्बन्धका उतारचढाव पोस्टकार्डमा अभिव्यक्त हुन्थे। तिनै साथीहरू कोही लाहुर त कोही खाडी मुलुक पुग्दा पनि चिठी पत्रमा मुक्तक लेखेर पठाउँथे। अहिले जमाना फेरिएको छ। मुक्तक आदान प्रदान हुन छाडेको छ।
देशमा चुनावी सपना देखाएर युवालाई रूसी सेनामा पुग्न बाध्य पार्ने नेतृत्वलाई व्यंग्य कस्दै साहित्यकार अमृत सुवेदीले सुनाए —
सपना पनि यस्तो देखाइयो, सबथोक बसीबसी आउँछ
जीवन युद्ध न रहेछ, के कुरा हातगोडा नधसी आउँछ
कार्गिलबाट हिजो धागोले बाँधेको चिठी त आउँथ्यो
आज रूस–युक्रेनबाट न लास आउँछ न दसी आउँछ...।
पोखरा महानगरका मेयर धनराज आचार्यले कवि भूपी शेरचनको मुक्तक वाचन गरेर सुरू भएको कार्यक्रममा अन्तिमसम्मै दर्शकले साथ दिए। मुक्तकको चोटिलो प्रहारले दर्शक उत्साहित भइरहँदा साहित्यकार दीपक समीपले प्रेमिल मुक्तक सुनाए।
उनले सुनाएको मुक्तक यस्तो छ —
पासो नै सही उनको प्रेममा अल्झिने रहर छ
छ न त जुनीभर उनीसँगै जोडिने रहर छ
अरे ! कोही त आऊ मलाई सहिद बनाइदेऊ
उनकै घरअघि शालिक भई उभिने रहर छ...।
समाजमा प्रेम मात्र छैनन्, प्रेमका नाममा अपराध पनि छन्। यस्ता बेतिथिविरूद्ध अर्का मुक्तककार प्राञ्जलले चोटिलो मुक्तक सुनाए। उनले जहाँतहीँ गलत कार्य हुन सक्ने भन्दै मुक्तकमार्फत् नै सचेत गराए।
सीता हर्ने राम हुन्छ, कस्तो जमाना आयो
मन्दिर ठग्ने ठाम हुन्छ, कस्तो जमाना आयो
न बाबुले छोरी भन्छ, न मामाले भाञ्जी
भन्नै नमिल्ने काम हुन्छ, कस्तो जमाना आयो...।
पोखरेली युवा सांस्कृतिक परिवारले पञ्चायतकालमा नियमित आयोजना गरेको टिकटमा मुक्तक कार्यक्रम १० वर्षयता आयोजना हुन सकेको थिएन।
दर्शकको साथले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रयास गर्ने परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए।
सबै तस्बिर सौजन्यः प्रेम थापा