केही वर्षयता प्रेम सम्बन्धमा रहेका बलिउड जोडी फरहान अख्तर र शिवानी डन्डेकरले बिहे गर्ने चर्चा छ। बलिउड लाइफका अनुसार उनीहरूले चाँडै बिहे गर्न लागेको जानकारी निकटस्रोतले दिएको हो।
'उनीहरूले चाँडै बिहे गर्दैछन्,' स्रोतलाई उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, 'फरहान र शिवानीले यही वर्ष अप्रिल अन्तिम वा मार्चको पहिलो साता बिहे गर्ने योजना बनाइरहेका छन्।'
उनीहरूले आउँदो फेब्रुअरी २१ मा कोर्टमा बिहे गर्ने पनि बताइएको छ।
'उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् र बिहेबारे छलफल पनि गरिरहेका थिए,' उनीहरूनिकट स्रोतले भनेको छ, 'अब उनीहरूको सम्बन्धलाई अर्को तहमा लैजाने बेला भएको छ। यसबारे उनीहरू प्रेमीबाट पतिपत्नी हुनेबारे गम्भीर छन्।'
फरहान र शिवानीले यसअघि सामान्य तरिकामा बिहे गर्ने योजना बनाएका थिए। उनीहरूले आफूनिकट केही साथीहरू र परिवारका सदस्यलाई मात्र निम्त्याउने भने पनि अहिले आएर भव्य बिहे गर्ने योजना बनाएको बताइएको छ।
'फरहान र शिवानीले कोर्टमा बिहे सकेपछि भव्य रूपमा बिहे गर्ने भएका छन्,' स्रोतलाई उद्धृत गर्दै बलिउड लाइफ लेख्छ, 'पहिले महामारीका कारण सामान्य बिहे गर्ने भने पनि अहिले अवस्था सामान्य भएसँगै उनीहरूले योजना बदलेका हुन्। अब उनीहरूले भव्य बिहे नै गर्नेछन्। तर सरकारले तोकेका मापदण्ड पूरा गर्नेछन्।'
बिहेमा शिवानी र फरहानले चर्चित डिजाइनर शव्यसाचीको लुगा लगाउने भएका पनि बताइएको छ।
शिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा सक्रिय छन्। फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूका दुई छोरी छन्।
कामको कुरा गर्दा फरहान 'जी ले जरा' निर्देशन गर्ने तयारीमा छन्। सन् २०११ मा 'डन २' फिल्मको निर्देशनपछि फरहान अब जी ले जरा फिल्मबाट निर्देशकका रूपमा फर्किन लागेका हुन्।
यो फिल्ममा प्रियंका चोपडा, कटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका हुनेछ। पोस्टरमा प्रियंका, आलिया र कटरिनाको नामसँगै भारतका विभिन्न ठाँउको चित्रबाट बनेको गाडी देख्न सकिन्छ। यसले पुरानो चर्चित फिल्म दिल चाहता है र जिन्दगी ना मिलेगी दोबारा फिल्मजस्तै झलक दिएको हिन्दुस्तान टाइम्सले बताएको छ।