निर्देशक रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ चार दिनअघि रिलिज भएको थियो। रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन र केप गुड फिल्म्सको निर्देशनमा बनेको यो फिल्मले राम्रो कमाइ गरिरहेको छ।
‘सूर्यवंशी’मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता अक्षय कुमार फिल्मका सह-निर्माता समेत हुन्, तर कयौंलाई यसबारे जानकारी छैन। उनकै सहकर्मी अभिनेत्री कट्रिना कैफलाई फिल्म रिलिज भइसक्दासमेत यो कुरा थाहा थिएन।
'द कपिल शर्मा' सोमा फिल्मको प्रोमोसनका लागि उपस्थित भएका बेला कट्रिनाले अक्षय कुमार ‘सूर्यवंशी’का सहनिर्माता हुन भन्ने कुरा थाहा नभएको बताएकी हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार कपिल शर्माले कार्यक्रममा अक्षय र कट्रिनाको एउटा भिडियो देखाएका थिए। सो भिडियोमा कट्रिनाले रोहित सेट्टीको प्रशंसा गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘रोहित सरले यो फिल्मका लागि धेरै कुरा गर्नु भएको छ।’
उनको कुरा बीचमा रोक्दै अक्षयले भनेका थिए, ‘रोहित सरले गरे तर मैले चाहिँ केही गरिन?’ जसको जवाफमा कट्रिनाले ‘तिमीले पनि धेरै कुरा गरेका छौं’ भनेकी थिइन्।
‘म यो फिल्मको सहनिर्मातामा हो, तर कोही मेरो नाम नै लिँदैनन्’ अक्षयको कुरा सुनेर कट्रिना अवाक् बनिन्। फिल्ममा अक्षयको लगानी रहेको कुराले उनलाई चकित पारेको थियो। अनि उनले अक्षयसँग थप पैसा माग्न थालिन्। उनले हाँस्दै अक्षयसँग भनेकी थिइन्, ‘अझै अलिकति पैसा पाउन सकिन्छ?’
कट्रिनाले रोहितको नयाँ फिल्ममा महिला प्रहरी भएर अभिनय गर्न चाहेको इच्छा पनि व्यक्त गरेकी थिइन्। यदि उनले कुनै फिल्ममा महिला प्रहरी भएर मुख्य भूमिकामा काम गरिन् भने त्यसमा अक्षयलाई पनि लगानी गर्न भनेकी थिइन्।
‘सूर्यवंशी’ले बक्स अफिसमा ७७ करोड भारु कमाइ गरिसकेको छ। कोरोना महामारीपछि रिलिज भएको फिल्ममध्ये यो भारतमा धेरै कमाइ गर्ने फिल्ममा परेको छ।