बलिउडका दुई चर्चित कलाकार विक्की कौशल र कट्रिना कैफबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले बिहे गर्न लागेको खबर चलेको धेरै भयो। यो खबरबारे यो जोडी कहिले मौन बस्यो, कहिले खण्डन गर्यो।
अफवाह नै रहेछ कि भन्ने ठानिए विक्की र कट्रिनाको सम्बन्ध यो दिपावालीसँगै स्पष्ट भएको छ। इन्डियाटिभीन्युजका अनुसार दीपावलीको अवसरमा यी दुईबीच ‘रोका’ (इन्गेजमेन्ट) भएको छ। सीमित नातेदारका साथमा भएको गोप्य समारोह निर्देशक कबीर खानको घरमा सम्पन्न भएको बताइएको छ।
कट्रिनाले कबीरलाई आफ्नो दाइ मान्छिन् जो 'बजरंगी भाइजान', 'एक था टाइगर' जस्ता फिल्मका निर्देशक हुन्। त्यसैले रोकाका लागि कट्रिना र विक्कीले कबिरको घर रोजेका हुन्।
खबर अनुसार रोकामा कट्रिनाका उनकी आमा सुजेन टुर्क्वेट र बहिनी इसाबेल कैफ सहभागी थिए। विक्कीको तर्फबाट उनकी आमा वीणा कौशल, उनका बुबा, प्रख्यात एक्सन निर्देशक शाम कौशल र अभिनेताका भाइ सन्नी उपस्थित थिए।
दीपावली शुभ दिन भएकोले कबिर र उनकी पत्नी मिनी माथुरले समारोह आयोजना गरिएको हो। इन्डियाटिभीन्युज अनुसार रोकापछि यी दुईले डिसेम्बरको अन्तमा राजस्थानमा लगनगाठो बाँध्ने सम्भावना छ। तर उनीहरूले कुनै निमन्त्रणा पठाएका छैनन्, न त साथीहरूलाई फोन कल गरेका छन्।