गएको वर्षको होली सँगै मनाएदेखि अभिनेत्री वर्षा सिवाकोटी र कलाकार राज कटुवालका प्रेम किस्साबारे धेरैको चासो बढेको छ। आफूलाई साथी भन्दै-भन्दै यो जोडीले बिस्तारै प्रेम सम्बन्ध प्रदर्शन गर्न चुकेको छैन।
कलाकारहरुको बर्थ डे, इन्गेजमेन्ट र बिहेजस्ता समारोहदेखि म्युजिक भिडिओमा पनि सँगसँगै देखिन थालेपछि यो जोडीको प्रेम सामाजिक सञ्जालमा पनि छताछुल्ल हुने गरी पोखिन थालेको छ।
म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेका राज चलचित्र विकास बोर्डका सदस्य पनि हुन्।
इन्स्टा स्टोरीमा राजसँगको फोटो हालिसकेकी वर्षाले राजलाई खुलेर जन्मदिनको शुभकामना पनि दिएकी थिइन्।
काठमाडौंमा कामको सिलसिलामा होस् वा घुम्न जाँदा यी दुईबीचको भेटघाट नियमित भइरहेको थियो। केही समयअघि सँगै सौराहा गएको चर्चा चलेको थियो। अहिले यी दुई सँगै दुबई पुगेका छन्।
यसअघि वर्षा सबिनजंग थापासँग प्रेममा थिइन्। सबिनलाई भेट्न उनी अमेरिकासमेत पुगेकी थिइन्। तर उनीहरुको प्रेम लामो समय टिकेन।
के वर्षाले राजसँगको सम्बन्ध टिकाउन सक्लिन्? उनीहरुको प्रेम विवाहमा बदलिएला?
वर्षालाई नजिकबाट चिन्ने र पछ्याउनेहरु धेरैमा अहिले यस्तै जिज्ञासा छ।
वर्षाले दुबई पुगेर इन्स्टाग्राममा राखेको फोटोमा कालो रंगको टिसर्ट लगाएकी छन्। टिसर्टमा लेखिएको छ, 'टुगेदर वी विल बी।'
'हामी सँगै हुनेछौं' लेखिएको टिसर्ट नै लगाउनुको अर्थ उनी राजसँग बिहे गर्ने सोचमा पुगेकी त होइनन्?
वर्षाले जस्तै राजले पनि दुबई पुगेर सामाजिक सञ्जालमा तस्बिरहरु राखेका छन्। तर यी दुईले सँगै भएको तस्बिर भने राखेका छैनन्। दुबैको सम्बन्ध खुला छ। तर लाग्छ, अझै दुबै लुकिछिपी माया गरेको अभिनय गरिरहेका छन्।