पर्दामा चमत्कार गर्ने शाहरुख खान र काजोल बलिउडकै सफल र रोमान्टिक जोडी हो। उनीहरुले कहिले 'दिलवाले दुलहनिया ले जाएंगे'का राज-सिमरन त कहिले 'कुछ कुछ होता है'का राहुल-अन्जली बनेर मन जितेका छन्।
पर्दामा केमेस्ट्री मिल्ने यी दुई वास्तविक जीवनमा पनि मिल्ने साथी हुन्। यो मित्रताले पनि उनीहरुको अभिनयलाई आकर्षक देखाउने काम गर्दै आएको छ। तर यस्तो समय पनि थियो जब यी दुई एक अर्कासँग आँखा समेत नजुधोस् भन्ने ठान्थे।
इन्डियन एक्सप्रेसका अनुसार उनीहरु 'बाजिगर' फिल्ममा सँगै काम गरिरहेको बेलाको कुरा हो। शाहरुख काजोलबाट खासै प्रभावित थिएनन्। उनलाई काजोलको ध्यान काममा केन्द्रित छैन भन्ने लाग्थ्यो। यही कारण शाहरुखले आमिर खानलाई काजोलसँग काम नगर्न चेतावनीसमेत दिएका थिए।
इन्डियन एक्सप्रेसले एउटा पुरानो अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै शाहरुख र काजोलको सम्बन्धबारे सामग्री छापेको छ। यसबारे शाहरुखले भनेका थिए, 'जब म काजोलसँग बाजिगरमा सँगै काम गरिरहेका थियौं त्यसबेला आमिरले काजोलसँग काम गर्ने चासो राखी उनको बारेमा सोधेका थिए। मैले आमिरलाई म्यासेजमा लेखेको थिएँ- उनी ज्यादै खराब छिन्, ध्यान एकत्रित छैन र तिमी उनीसँग काम गर्न सक्दैनौं।'
'मेरो कुरा त्यतिमै सकिएन। त्यसपछि आमिरलाई पटक पटक आफूले काजोलबारे भनेका कुरा प्रष्ट पार्न कल गरिरहेँ। मैले आमिरलाई भनेँ- मलाई थाहा छैन यो के हो तर पर्दामा उनी जादू गर्छिन्,' शाहरुखले थप भनेका थिए।
काजोलको पनि शाहरुखसँग जोडिएको सुरुवाती सम्झना मीठो छैन। शाहरुखसँग उनको कथा 'बाजिगर'को छायांकन स्थलबाटै सुरु भएको थियो।'
'म सम्झन्छु शाहरुख र अरु कलाकार छायांकन स्थलमा आउँदा पूरै ह्यांगओभरमा हुन्थे। म मराठीमा शाहरुखको मेकअप म्यानको दिमाग खाइरहन्थेँ।'
उनीहरु मेरो बकबकले टाउको दुखाएझैं गर्थे। शाहरुख पनि वाक्क भइसकेका थिए, तर म बोलिरहेँ। अन्तमा उनले भने, कृपया चुप लाग।हामी यसरी नै साथी बनेका थियौं।'
काजोलको यो सन्दर्भमा शाहरुखले भनेका थिए, 'उनी अझै बदलिएकी छैनिन् र मैले काजोललाई अझै चुप लाग भन्नु पर्छ।'
यसबीच उनीहरुको सम्बन्धमा ठूलो परिवर्तन आइसकेको छ। काजोलले पछिल्लो अन्तर्वार्तामा भनेकी थिइन्, 'मलाई लाग्छ हामी बदलिएका छौं। तर अझै पनि म पहिलाजस्तै बोलिरहन्छु। हामी राम्रा कलाकार र मानिस भएका छौं। म सधैं भन्छु शाहरुख उनी अहिलेको समयमा एक उत्कृष्ट अभिनेता हुन्। उनीसँग काम गर्न पाउनु रमाइलो अनुभव र सिक्ने प्रक्रिया पनि हो।'
बलिउडकै सर्वाधिक रुचाइएको यो जोडीले पछिल्लो पटक सन् २०१५ मा दिलवालेमा सँगै काम गरेको थियो। आज पनि शाहरुख र काजोलको जोडी फेरि नयाँ फिल्ममा सँगै देख्न चाहने दर्शकको संख्या करोडमा छ।