सामाजिक सञ्जालमा अचेल अभिनेत्री कंगना रनावतका विवादास्पद कुरा बढी आउँछन्। तर यस पटक उनीसँग जोडिएको रमाइलो प्रसंगको चर्चा भइरहेको छ। खासमा भन्दा यो चर्चा कंगनाको नभएर उनीजस्तै देखिने बालिकाको हो।
सामाजिक सञ्जालमा उनी फुच्ची कंगना भनेर चिनिएकी छन्। कंगनाकी डुुप्लिकेटका गतिविधिले असली कंगनालाई समेत हैरान बनाएको बलिउड हंगामाले छापेको छ।
यी फुच्ची हुन् सुमन पुरी जसलाई सामाजिक सञ्जालमा कंगनाको नक्कलले चर्चा दिलाएको हो। सुमन आफ्नो इन्स्टाग्राममा कंगनाका लुक्स नक्कल गर्दै तस्बिर र भिडिओ सेयर गर्छिन्। अरु त अरु स्वयम् कंगना पनि यी फुच्चीको प्रतिभा र लुक्सबाट अचम्मित बनेकी छन्। उनको नक्कलले अरु मानिसहरुलाई जस्तै कंगनासमेतलाई कमेन्ट गर्न बाध्य पारेको छ।
'छोटी कंगना' नामबाट इन्स्टाग्राम चलाउने यी फुच्ची कंगना अभिनेत्री कंगनाकै जस्तो लुगा लगाउँछिन् र मेकअप गर्छिन्। डायलग र अभिनय कंगनाकै जस्तो गर्छिन्।
आफूजस्तै कर्ली कपाल र उनकै हाउभाउसँग मिल्दाजुल्दा एक्सप्रेसनबाट प्रभावित कंगनाले समेत फुच्ची कंगनाको भिडिओ सेयर गरेकी छन्।
आफंनो इन्स्टा स्टोरीमा भिडिओ राख्दै कंगनाले रमाइलो शैलीमा लेखेकी छन्, 'ए फुच्ची कंगना, तिमी पढ्छौं पनि कि सारा दिन यही नक्कल?'