बलिउडका चर्चित फिल्म निर्माण गरिसकेको प्रोडक्सन कम्पनी फ्राइडे फिल्मवर्क्स र नेपालको अनन्या फिल्म्सको सहकार्यमा नेपाली फिल्म बनाउने सम्झौता भएको छ।
फ्राइडे फिल्मवर्क्स निर्देशक तथा निर्माता निरज पान्डे र शीतल भाटियाले स्थापना गरेको प्रोडक्सन कम्पनी हो। यसले 'अ वेनस्डे', 'ट्वाइलेट एक प्रेमकथा', 'एमएस धोनी : द अनटोल्ड स्टोरी', 'रुस्तम', 'बेबी'जस्ता चर्चित फिल्म निर्माण गरेको छ।
खबरअनुसार, बलिउडसँग सहकार्यमा बन्ने सो फिल्म नेपाली निर्देशक हेमराज बिसीले निर्देशन गर्नेछन्। हेमराज बिसी 'होस्टल', 'जेरी', 'गाजलु', 'घामड शेरे', 'ग्याङस्टर ब्लुज' जस्ता चर्चित फिल्मका निर्देशक हुन्।
फिल्मको कथा र स्क्रिनप्ले निरज पान्डेको रहनेछ। गत साता दुई पक्षबीच सम्झौता भएको बुझिएको छ।
यसबारे अनन्या फिल्म्सका निर्माता सरोज न्यौपानेले सेतोपाटीलाई भने, ‘सम्झौता भएको कुरा साँचो हो। तर यसबारे कलाकार र अरू केही कुरा टुंगो लागेपछि औपचारिक रुपमा जानकारी सार्वजनिक गरिनेछ।’
यसबारे निर्देशक हेमराज बिसीले भने खुल्न चाहेनन्।
यो फिल्म सुरूमा नेपाली भाषा र पछि हिन्दीमा रिमेक गरिने बताइएको छ।
पछिल्लो समय नेपाल र भारतका सिनेकर्मीबीच सहकार्य बढेको छ। यसअघि निर्माता सरोजको अनन्या फिल्म्सले दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाजसँगको सहनिर्माणमा 'थिरिमाली' बनाउने काम सुरू गरिसकेको छ। फिल्म चाँडै छायांकनमा जाँदैछ।
मलयालम भाषामा बन्ने थिरिमालीमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता माओत्से गुरूङ महत्वपूर्ण भूमिकामा देखिनेछन्।