'ड्रिम्स'बाट डेब्यू गर्दा सुरूमा उनी अनमोलको चर्चाको छायाँमा परिन तर सिनेमा रिलिज भएपछि चर्चाले साम्राज्ञीलाई पछ्याउन सुरू गर्यो।
उनी सम्भावनाले भरिएकी अभिनेत्रीका रूपमा देखा परिन्। निर्माताहरूको तँछाड मछाड नै छ उनलाई सिनेमामा लिन।
निर्माताहरूको तँछाडमछाडसँगै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह डेब्यू हिरोहरू लागि भाग्यशाली बन्दै आएकी छन्।
कारण जोजो अभिनेताले उनीसँग डेब्यू गरे ती सिनेमा सबै सफल भएका छन्।
उनीसँग दुई नायकले सफल डेब्यू गरिसकेका छन् भने तेश्रा नायक पनि उनीसँगै सफल हुने पर्खाइमा छन्।
साम्राज्ञी अभिनित 'ए मेरो हजुर २' वक्सअफिसमा सुपरहिट बन्यो। त्यो सिनेमामा उनीसँग सलिनमान वानियाँले डेब्यू गरेका थिए। यस्तै 'इन्टु मिन्टु लन्डनमा' सिनेमाबाट धिरज मगरले डेब्यू गरे। यो सिनेमा पनि हिट भयो। आज निर्माताहरूको रोजाईमा धीरज र सलीन दुबै छन्।
यस्तैमा साम्राज्ञी स्टारर तथा अशोक शर्मा निर्देशित 'रातो टिका निधारमा' असोज १० गते दशैंको छेकोमा रिलिज हुँदैछ।
यसै सिनेमाबाट निर्देशक शर्माका छोरा अंकित शर्मा डेब्यू हुँदैछन्। यस्तोमा धेरैको चासो दुई डेब्यू अभिनेताका लागि भाग्यशाली ठहरिएकी साम्राज्ञी अंकितका लागि पनि उस्तैगरी भाग्यशाली होलिन् भन्ने जिज्ञासा धेरैमा छ।
सिनेमाबाट त्यसो त साम्राज्ञीलाई पनि राम्रै आशा छ। उनले यसलाई एउटा खाले भूमिकामा प्रस्ताव आइरहेका बखत आएको फरक सिनेमा भनेर बताउने गरेकी छन्। यस्तोमा साम्राज्ञीको स्टारडमसँगै उनी स्वयंलाई फरक लागेको सिनेमाले अंकितलाई सफल डेब्यू दिलाउने आशा धेरै छ।
बाँकी समयले बताउला।