लता मंगेशकर 'एक प्यारका नगमा है' गीत गाएर सामाजिक संजालमा एकाएक भाइरल भएर बलिउड गायिका बनेकी रानू मारिया मण्डलको जीवनीमाथि सिनेमा बन्ने बताइएको छ।
भारतीय संचारमाध्यमका अनुसार चर्चित सिनेमा निर्देशक ऋषिकेश मंडलले रानूको जीन्दगीलाई सिनेमाको पर्दामा प्रस्तुत गर्न लागेको जनाएका छन्।
सिनेमालाई उनी आफैले निर्देशन गर्ने बताइएको छ। यसैगरी यस सिनेमाको गीतमा रानूकै आवाज राखिनेछ।
भारतीय संचारमाध्यमले यस्तो जनाएपनि यस बारेमा आधिकारिक घोषणा भने भएको छैन। औपचारिक घोषणा नभएपनि उनीमाथि सिनेमा बन्ने कुराले हाल राम्रो चर्चा बटुलिरहेको छ।
लता 'एक प्यारका नगमा है' गीत गाएर रातारात भाइरल बनेपछि चर्चित संगीतकार हिमेश रेशमियाले आफ्नो आगामी सिनेमाको एक गीतमा रानूको स्वर भरिसकेका छन् भने अरू थुप्रै मानिसहरू उनीसँग काम गर्न इच्छुक छन्।
यस्तोमा उनीमाथि सिनेमा बनेमा त्यो दर्शकका लागि रोचक खुराक हुनेमा दुईमत छैन।