शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर 'मारूनी'का निर्देशक नवल नेपालले सिनेमा रिलिजको पूर्व-सन्ध्यामा आफू निमोठिएको बताएका छन्।
बुधबार अबेर राती फेसबुकमा स्टाटस लेख्दै नेपालले यस्तो बताएका हुन्।
'मलाई बाले सिकाएनन्, कसैको व्यवसायमा हस्तक्षेप गर्न, मलाई आमाले सिकाइनन्। कसैको श्रृजनामा आक्रमण गर्न,फेरि पनि मेरो श्रृजना गर्भमै रहँदा, किन निमोठिएँ म..?', फेसबुकमा उनले लेखेका छन्।
नेपाली सिनेवृत्तमा पछिल्लो समय पारिवारिक सिनेमा बनाउने एकदमै थोरै निर्देशकमा पर्ने नेपालको यस स्टाटसले नेपाली सिनेवृत्तका मानिसहरूको ध्यान खिंचेको छ।
सरल र सिधा व्यक्तिको छवि बनाएका उनको यो स्टाटस् आफ्नो सिनेमालाई मल्टिप्लेक्स हलहरूले गतिलो शो संख्या नदिएकोतर्फ लक्षित छ।
भोलि शुक्रबारबाट 'बाहुबली' फेम प्रभास स्टारर 'साहो' पनि नेपाली हलहरूमा रिलिज हुँदैछ। नेपाली हलहरू विशेषगरी मल्टिप्लेक्स हलहरूले आफ्नो पर्दाका अधिकांश शो यस सिनेमालाई छुट्याएका छन्।
यसको प्रत्यक्ष असर नवलको सिनेमामा पर्यो। यसैप्रति उनको चित्त दुखाइ हो।
मल्टिप्लेक्सका वेबसाइटमा प्राप्त शोमा 'मारूनी'को भकाभक बुकिङ नभइरहेको अवस्थामा यो चित्त दुखाइ किन? भनेर सेतोपाटीले निर्देशक नेपालसँग सोधेको थियो।
'तपाईंले भन्नु भएको कुरा ठीक हो। तर यो सँगै यसमा बुझ्नुपर्ने कुरा के हो भने हिन्दी सिनेमाका दर्शकले टिकट नपाइएला भनेर अगाडि बुक गर्नुभए पनि नेपाली सिनेमाका दर्शकले बुकिङ गरेर सिनेमा हेर्दैनन्', उनले भने, 'उनीहरू हलमै पुगेर टिकट काटेर सिनेमा हेर्छन्। यस्तोमा शो नभएपछि के हुन्छ? रिलिजपछि दर्शक नआएर शो घटाउनुको मतलब बुझिन्छ तर शो नै नदिएपछि मेरो घाँटी निमोठिएको नै हो नी।'
हुन पनि भोलि शुक्रबार नेपालमा ठूलो चेन मानिएको मल्टिप्लेक्स क्यूएफएक्सले देशभरका पर्दामा ६१ शो पाएको छ भने 'मारूनी'ले १३ शो पाएको छ।
त्यसमाथि नवलको यस सिनेमाका वितरक यतिबेला गोबिन्द शाही आर्थिक लेनदेनको मामिलामा मुछिएपछि प्रहरी नियन्त्रणमा छन्। यसको असर पनि सिनेमाको वितरणमा देखिएको छ।
नेपाली सिनेमाको बुकिङ उस्तो हुँदैन। आजपनि अधिकाशं सिनेमाको व्यापार 'वर्ड अफ माउथ'मा ज्यादा निर्भर रहेको हुँदा सोझा नवलको चित्त दुखाइ ठीक हो की जस्तो लाग्छ।
नवल निर्देशित सिनेमाले पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक 'ट्रान्सजेन्डर' पात्रको प्रेमकथा भन्छ।
सिनेमामा अभिनेत्री साम्राज्ञीले 'ट्रान्सजेन्डर' युवतीको भूमिका गरेकी छन्। यस्तै पुष्पल खड्का र रेबिका गुरूङको मुख्य भूमिका रहेको छ।