पूरूषप्रधान चरित्रका सिनेमाको बोलबाला रहेको नेपाली सिनेमामा अभिनेत्रीका लागि फरक भूमिकाको अवसर दुर्लभ छन्।
यस्तोमा अहिलेकी बोल्ड अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले फरक भूमिकामा काम गरेको संकेत मिलेको छ।
सोमबार रिलिज भएको उनी अभिनित 'मारूनी'को ट्रेलर हेर्दा त्यस्तै संकेत मिल्दछ।
सर्सर्ती हेर्दा ट्रेलरमा उनी एकोहोरो माया गर्ने प्रेमीका जस्तो लाग्छिन्। तर गहिरिएर हेर्दा सिनेमाको ट्रेलरले संकेत दिन्छ, सिनेमामा उनी एकोहोरो पागल प्रेमिका मात्र बनेकी छैनन्।
सिनेमामा उनी एक ट्रान्सजेन्डर (जन्मिदा केटा तर यौन अंग परिवर्तन गरेर केटी बनेकी) भएको ट्रेलर देखाएको छ। ट्रेलरका केहि सटहरूले यसलाई पुष्टि गर्ने बलियो आधार दिएको छ।
पहिलो शिव-पार्वतीको अर्ध नारीश्वर चित्रको पृष्ठभूमिमा साम्राज्ञीको प्रवेश, दोश्रो एयरपोर्टको सटमा उनको गेटअप र ट्रेलरको अन्त्यमा पाउजु र लिपिस्टिक लगाएका बालकको तेश्रो सटले साम्राज्ञी सिनेमामा एक ट्रान्सजेन्डरको भूमिकामा छिन् भनेर पुष्टि गर्ने बलियो आधार दिन्छ।
यस्तै सिनेमाको नाम 'मारूनी' र यस अघि सार्वजनिक गरिएका फस्टलुक पोस्टरले पनि त्यही संकेत दिन्छ। फस्टलुक पोस्टरमा सिनेमाका मूख्य अभिनेता पुष्पल खड्का र साम्राज्ञीको शिव-पार्वतीको जस्तै अर्धनारीश्वरको पोस्टरले पनि यस आधारलाई बलियो बनाएको छ।
अब यदि यस्तो हो भने सिनेमाले एक फरक प्रेमकथाबाट दर्शकलाई मनोरञ्जन दिन लागेको आशा गर्न सकिन्छ। यसमा निर्देशकको कथा शैली कस्तो छ? सिनेमाको सफलताको आधार त्यसमै छ।
हुन त नवल नेपाल पारिवारिक प्रेमकथाहरू पस्कने निर्देशकमा पर्छन्। उनका अघिल्ला सिनेमाले यिनै कुराहरू पुष्टि गर्दै आएका छन्। उनी निर्देशित पछिल्लो रिलिज 'मंगलम'मा इच्छा मरणको कुरा उठाइएको थियो।
ट्रेलर रिलिज समारोहमा उनले यसपटक पनि आफूले भिन्न र गहकिलो विषयमा सिनेमा ल्याएको भनेर बताएका थिए। उनको यस भनाइले पनि सिनेमा 'ट्रान्सजेन्डर'को विषयमा रहेको कुरालाई बल दिन्छ।
अब यस्तोमा साम्राज्ञी सिनेमामा कस्तो भूमिकामा छिन् भन्नका लागि रिलिज सम्म कुर्नुको विकल्प छैन्।
सिनेमा भदौ १३ गते रिलिज हुँदैछ।