प्रचारबिना सिनेमा चल्न गार्हो छ। उसो त प्रचारले पनि सिनेमा चल्ने ठेगान त हुँदैन। तर, सिनेमाको प्रचार दर्शकलाई रिलिज अगाडि सकेसम्म हलसम्म तान्नका लागि गरिन्छ, गर्नुपर्छ। यसक्रममा साना बजेटका सिनेमाको प्रचार सानै हुन्छ भने ठूलो बजेटका सिनेमाको ठूलै।
साउन ३० गते एउटा ठूलो बजेटको भनिएको सिनेमा रिलिज हुँदैछ। सिनेमाको नाम हो-हजार जुनीसम्म। यसलाई निर्देशन गरेका छन् विकासराज आचार्यले।
सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेत, शिवहरि पौडेल, अखिलेश प्रधान, अनुभव रेग्मी, संचिता लुइँटेल आदिको अभिनय छ ।
यी उल्लेखिय सबै नाम हाल चलेका, चिनिएका र ठूला नाम हुन्।
रिलिजका लागि ३ साताको छोटो समय छ तर यस्ता कलाकार र निर्देशकले काम गरेको सिनेमाको प्रचार शून्यजस्तै छ। हालसम्म प्रचारका नाममा सिनेमाले गीत र पोस्टर रिलिज गर्नेबाहेक अरू केहि गरेको छैन।
यसबीचमा यो सिनेमाले गरेको अर्को काम भने रिलिज डेटको हेरफेर हो।
सुरूमा साउन ३० गते रिलिज हुने भनिएको सिनेमा बलिउडका ३ सिनेमा 'मिसन मंगल', 'बाटला हाउस' र 'साहो' रिलिज हुनेभएपछि भदौ ६ मा पुग्यो। फेरि सो मितिबाट 'साहो'ले हात झिकेपछि सिनेमा फेरि साउन ३० कै मितिमा फर्कियो।
रिलिज मितिको तालमेल नहुँदा सिनेमाले हालसम्म ट्रेलरसमेत रिलिज गर्न सकेको छैन। यस्तोमा दर्शक सिनेमालाई लिएर दुविधामा छन्।
यसरी फ्लोरमा जानुअघि ठूलै हल्लाखल्ला भएको सिनेमा रिलिजको मिति निकट हुँदा बेपत्ता जस्तै हुनु सोचनिय छ।
सिनेमाको यो शुन्यताको अर्थ जान्न निर्माता अरूण रेग्मीसँग सम्पर्क गर्दा उनले सिनेमाको प्रचार नभएको स्वीकार गरे।
त्यस्तै ट्रेलर किन आएन? भन्ने प्रश्नमा उनले भोली शुक्रबार १ बजे सिनेमाको ट्रेलर रिलिज गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए।
उनले यसमा ढिला हुनुमा सिनेमाको रिलिज मितिको हेरफेरले असर गरेको उनले स्वीकार गरे।
'भोलिबाट ट्रेलर आउँछ, अनि सिनेमाको प्रचार बढ्छ', उनले भने।
अब निर्माता नै यति ढुक्क छन् भने अरूले यसमा के नै भन्न सक्छन् र? अब उनको यो दाबीले कति काम गर्छ, ट्रेलर रिलिजपछि थाहा हुने नै छ।