अभिनयमा ऋचा शर्माले तारिफ नै बटुल्दै आएकी छिन्। सिनेमाबाट तारिफ सुन्दा ऋचा पक्कै पनि पुलकित हुन्छिन् तर उनी अभिनित सिनेमाका वक्सअफिस आँकडा भने उत्तिकै निराशाजनक छन्, बिर्सनलायक छ।
करिब ३ वर्ष अगाडि मल्टिस्टारर 'लुट २' हिट भएयता उनी अभिनित सिनेमा वक्सअफिसमा पछारिएकोपछारियै छन्। त्यसयता रिलिज भएका 'आधा लभ', 'फिर्के' र 'सुनकेसरी' वक्सअफिसमा पछारिए।
त्यसो त 'लुट २' अगाडीका सिनेमाको हालत पनि उस्तै नै रहे। उनी अभिनित ३ सिनेमाले मात्र पैसा कमाएका छन्। यसमा उनको डेब्यू सिनेमा 'फस्ट लभ', 'लुट' र 'लुट २' पर्छ।
झण्डै १० वर्ष लामो सिनेमा करियर झण्डै डेढ दर्जन बढि सिनेमामा अभिनय गरिसकेकी ऋचाका लागि वक्सअफिस समिकरण बिर्सन लायक छ।
यस्तोमा नेपाली सिनेमाघरमा उनी अभिनित नयाँ सिनेमा 'न यता न उता' साउन १७ गते रिलिज हुँदैछ।
कमेडी जनराको यस सिनेमाले के गर्छ, अहिले नै अनुमान गर्न गार्हो छ। सिनेमाको प्रचारप्रसार खास छैन। सिनेबजारमा हल्ला पनि खास छैन।
यस्तोमा ऋचालाई चुनौती छ। सिनेमाको सफलता वर्ड अफ माउथमा भरपर्नुपर्नेछ। तर आजकल शुक्रबार लागेको सिनेमा शनिबारबाट उत्रने खतरा रहेको अवस्थामा त्यो कति उनका लागि फाइदाजनक होला, रिलिजपछि थाहा हुने नै छ।
हो, ऋचा कुशल अभिनय गर्छिन्, यसमा कसैको शंका छैन। उनले अभिनयका लागि 'उमा', टलकजंग भर्सेज टुल्के', 'को आफ्नो', हाईवे, 'आधा लभ' जस्ता सिनेमाका लागि तारिफ नै बटुलेकी छन्।
'टलकजंग भर्सेज टुल्के'बाट त उनले राष्ट्रिय पुरस्कार नै जितेकी छिन्। तर सिनेमा उद्योगमा तारिफमात्र सफलताको आधार होइन। यसमा कुनै पनि कलाकारको सिनेमाले गर्ने व्यापारले पनि कलाकारको करियरको लेखाजोखा गर्छ, अगाडिको बाटो तय गर्छ।
यस कोणबाट हेर्दा ऋचाका लागि सहज अवस्था भने छैन्। नयाँ सिनेमा 'न यता न उता'ले उनको करियर कता जाला? सबैको ध्यान यसैमा छ।