हरर जनरा नेपाली सिनेमामा खासै बनाइने जनरा त होइन तर एकाध सिनेमा यस जनरामाथि निर्माण भएका छन्।
यस जनरामा निर्माण भएका नेपाली सिनेमा लगभग सबै फ्लप नै भए। चाहे त्यो प्रियंका कार्की स्टारर 'आवरण' होस या अर्पण थापा निर्देशित 'सुनकेशरी'।
यी सिनेमाहरू हेरर दर्शकहरू डराउनुको सट्टा हाँसे। सिनेमा न वक्सअफिसमा चल्यो न समीक्षाका हिसाबले गतिलो ठहरियो।
तैपनि यसमा सिनेमा बनाउने क्रम रोकिएको छैन।
अभिनेता हुँदै निर्देशक बनेका अर्पण थापामा हरर सिनेमाप्रति विशेष लगाव छ।
उनको पहिलो हरर प्रयास 'सुनकेशरी'ले न दर्शकलाई डरायो, न पैसा कमायो न त समीक्षात्मक तारिफ नै बटुल्यो।
पहिलो हरर सिनेमाले 'ट्रेलर' रिलिज हुँदा दर्शकमा एउटा आकर्षण त बनाएको हो। सिनेमामा भूतको लुक लगभग हलिउड सिनेमामा देखिने भूतपात्र जतिकै निकटका देखिएका थिए तर सिनेमा त कथाको प्रस्तुतिले चल्ने हो। लुक्सबाहेक दर्शकले सिनेमालाई अस्वीकार गरिदिए।
पहिलो प्रयासमा असफल भएपनि अर्पणले अन्य निर्देशक जस्तो हार नै चाँहि मानेनन्। उनले दोश्रो प्रयास गरेका छन्। यसै जनरामा उनले 'घर' नामक सिनेमा निर्देशन गरे।
सिनेमा साउन ३ गते रिलिज हुँदैछ। सिनेमामा उनी निर्देशकमात्र नभई अभिनेतासमेत हुन्। सिनेमामा उनीसँगै प्रमूख भूमिकामा सुरक्षा पन्तले अभिनय गरेकी छन्।
सिनेमाको ट्रेलर रिलिजपछि सिनेमाले चर्चा बटुल्ने अपेक्षा गरिएपनि अपेक्षाकृत चर्चा कमाउन सकेको छैन।
रिलिजका लागि मात्र केहि दिन बाँकी रहँदा सिनेमाका निर्माता, निर्देशक तथा कलाकार सिनेमाको प्रचारमा उस्तो देखिएका छैनन्।
यसले गर्दा दर्शकमा 'सिनेमा आउँदैछ साउन ३ गते' भन्ने सन्देश त गएको छ? भन्ने सन्देह उठेको छ। त्यो सन्देहसँगै अर्पणको हरर सिनेमा निर्देशन फेरि फ्लपमा दरिन लागेको त होइन भन्ने प्रश्न उठेको छ।
यो सिनेमा पनि फ्लप भएमा अर्पणले निर्देशनमा फ्लपको ह्याट्रिक गर्नेछन्। स्मरण रहोस् उनको निर्देशखिय डेब्यू 'मुखौटा' पनि फ्लप भएको थियो।