'ड्रिम्स' रिलिज अघि अभिनेता अनमोल केसी चर्चामा थिए। सिनेमा रिलिज भयो- नयाँ अभिनेत्रीले सारा ध्यान र सिनेमाको जस आफूतीर तानिन्। ती अभिनेत्री थिइन्, साम्राज्ञी राज्य लक्ष्मी शाह।
उनी अभिनित दोश्रो सिनेमा 'ए मेरो हजुर २' रिलिज भयो। सिनेमामा साम्राज्ञीसँग डेब्यू गर्दै थिए नव अभिनेता सलिन मान बाँनिया। अघिल्लो सिनेमामा अनमोलले सुरूवाती दर्शक तानेको थियो, यसपटक दर्शक तान्ने जिम्मा साम्राज्ञीको थियो।
सिनेमा ब्लकबस्टर भयो। सिनेमाको सफलताले नव अभिनेतालाई मात्र चिनाएन, साम्राज्ञीलाई रेखा थापा पछि दर्शक तान्ने क्षमता बोकेकी अभिनेत्रीका रूपमा उभ्यायो। दोश्रो सिनेमाबाट उनले पाएको सफलता आफैमा धेरैपछि एउटा नयाँ मानक थियो।नेपाली सिनेमाले यी नयाँ अभिनेत्रीमा स्टारडमको सम्भावना प्रचुर देख्यो। लामो समयपछि निर्माताहरू कुनै अभिनेत्रीका लागि पैसा खन्याउन तम्सिए।
त्यसपछि निर्माताको लाइन साम्राज्ञीसँगको पछाडी लाग्न सुरू भयो।
पहिलो सिनेमाको लागि करिब १ लाखको छेउछाउ पारिश्रमिक बुझेकी उनको पारिश्रमिक अहिले २-३ लाख हुँदै १५ लाख रूपैयाँ प्रति सिनेमा पुगेको छ। कुनै पनि अभिनेत्रीको पारिश्रमिक यसरी उकालो लागेको सम्भवतः पहिलोपटक नै होला।
गत वर्ष साम्राज्ञी अभिनित तीन सिनेमा- कायरा, तिमीसँग तथा 'इन्टुमिन्टु लन्डनमा' रिलिज भए। जसमा पछिल्लो सिनेमाले बल्लकबस्टर कमाइ गर्यो भने कायराले ठीकठाक व्यापार गर्यो। त्यसैगरी पटकपटक सरेर रिलिज भएको 'तिमीसँग'ले भने अपेक्षित व्यापार गर्न सकेन।
सिनेमाका सफलता र असफलताको चर्चा एकातर्फ रहँदा साम्राज्ञीको लोकप्रियता भने बढिरहेकै छ। यस्तोमा उनलाई राम्रा सिनेमामा गर्ने चुनौती छ।
यस वर्ष उनी अभिनित दुई सिनेमा- 'मारूनी' तथा 'रातो टिका निधारमा' रिलिज हुँदैछन्। दशैंमा रिलिज हुने 'रातो टिका निधारमा' छक्का पन्जा फेमको निर्माण रहेको 'छ माया छपक्कै'सँग भिड्दैछ भने 'मारूनी' सफल कमेडी फ्रान्चाइज 'कबड्डी'को तेश्रो सिक्वलसँग भिड्दैछ।
दुबै सिनेमासँगको भिडन्त नेपाली वक्सअफिसमा ठूलै भिडन्त हो। यी भिडन्तमा दर्शकलाई आफुतीर तान्ने अभिभारा दुबै सिनेमामा साम्राज्ञीलाई मात्रै छ।
'मारूनी'मा साम्राज्ञीको जोडी बनेका पुष्पल खड्का नयाँ जस्तै हुन भने अर्की अभिनेत्री रेबिका गुरूङको त डेब्यू सिनेमा हो। यस्तो सुरूवाती सप्तान्तमा दर्शक तान्ने अभिभारा स्वभाविकरूपमा साम्राज्ञीलाई छ।
'कबड्डी कबड्डी कबड्डी'सँग भिड्न लागेकाले साम्राज्ञीका लागि दर्शक तान्न सजिलो भने हुनेछैन। सिक्वलहरूको लोकप्रियताका बीचमा नयाँ सिनेमा र नयाँ कथाम दर्शक तान्ने दबाब यो सिनेमालाई छ, जुन साम्राज्ञीसँग जोडिन्छ।
त्यसैगरी दशैंमा रिलिज हुने सिनेमामा उनीसँग निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन्। त्यसैले यस सिनेमाको प्रचारको प्रमुख हतियार साम्राज्ञी नै हुन्।
दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे 'माग्ने बुढा' आदिको बलियो काँध चढेको 'छ माया छपक्कै'सँग पनि साम्राज्ञीकै भरमा हुनेछ- 'रातो टिका निधारमा'
पछिल्लो समय उनको लोकप्रियताको पारो बढेकै कारण उनका सिनेमाका निर्माता उनकै भरमा भिड्न तम्सीरहेका छन्।
यस्तोमा यो वर्ष साम्राज्ञीले वक्सअफिसमा एउटा अस्तित्वको लडाई लड्दैछिन्। यो उनका लागि एउटा परिक्षा भन्दा कम हुनेछैन्। यसमा उनी पास हुनुको विकल्प छैन।