एउटै मात्र सफलता हात पर्दा पनि मानिसहरू त्यसैत्यसै दंगदास पर्छन्।
एकपछि अर्को सफलता हात पर्दा मानिसहरू कति खुशी होलान? यस स्वभाविक प्रश्नमा जवाफ पनि स्वभाविक हुन्छ- एकदमै धेरै।
त्यसमाथि सिनेमाले समिक्षकीय तारिफ पनि गतिलो पाएको छ।
धेरैलाई यस्तो अनुभूत हुने भएपनि लगातार ३ सुपरहिट सिनेमा दिएका निर्देशक प्रदिप भट्टराई भने अलि फरक अनुभव सुनाए।
'जात्रा', 'शत्रु गते' तथा पछिल्लो समय सिनेमाघरमा लगातार दर्शक बटुलिरहेको 'जात्रै जात्रा'का निर्देशकले सिनेमाले नेपालभरको प्रदर्शनबाट सिनेमाले हालसम्म ९ करोडको ग्रस व्यापार गरेको सुनाउँदै भने, 'म जति राम्रो भयो त्यति डराउने मान्छे हो। २-४ दिन रमाएँ, अब कस्तो सिनेमा बनाउने चिन्ता बढेको छ। दर्शकको मन फेरि पनि कसरी रिझाउने भन्ने चिन्ताले मन भारी छ मेरो।'
हुन पनि शिखरमा पुग्न पो त सजिलो, टिकीराख्न त अर्को झन ठूलो संघर्ष गर्नुपर्छ। सायद यहि सोचले प्रदिपलाई चिन्ता भएको हुनुपर्छ।
सिनेमा रिलिजको पूर्व सन्ध्यामा दिएको एक अन्तरवार्तामा उनले डेब्यू सिनेमा 'जात्रा' सफल भएपछि सुरूमा आफूमा घमण्ड चढेको खुलासा गरेका थिए। आफूले त्यतिबेला सो घमण्डले फूलेर एउटा स्टाटस लेखेको र पछि डिलिटसमेत गरेको बताएका थिए।
उनले त्यतिबेला भनेका थिए, 'घमण्डले मैले केहि पाउने रहेनछु। विनम्र हुँदै ठीक।'
त्यसैगरी उनले सिनेमाले डायस्पोराबाट १ करोड कमाइ गरेको पनि बताए।
'हामीले फिक्समा बेचेर यति कमाएका हौं, अझै केहि ठाउँका लागि कुरा भइरहेको छ', उनले भने।
सिनेमालाई डायस्पोराका दर्शकले मनपराएको सिनेमाको अस्ट्रेलिया रिलिज पनि देखाउँछ।
२-३ सय नेपालीमात्रको उपस्थिति रहेको अस्ट्रेलियाका शहरहरूबाट भइरहेको सिनेमाको मागले पनि यसलाई संकेत गर्छ। अस्ट्रेलिया विभिन्न शहरमा गरेर अहिलेसम्म ५५ वटा जति शो भएको प्रदीपको भनाइ छ।
नेपालमा सिनेमा हाल छैटौं सातामा चलिरहेको छ।
सिनेमामा विपोन कार्की, रविन्द्र सिंह वानियाँ, रविन्द्र झा, वर्षा राउत आदिको प्रमूख अभिनय रहेको छ।
सिनेमाको सफलताले दिएको २०४ दिनको खुशीको साथमा भट्टराईले आफ्नो आगामी सिनेमाको बारेमा सोच्न थालिसकेको पनि खुलासा गरेका छन्।
'असारभरी केहि गर्दिन। त्यसपछि कुनै कथा चित्त बुझेमा अर्को ६-७ महिना पछि फ्लोरमा जाने गरी नयाँ सिनेमाको तयारीमा जुट्छु', उनले भने, 'नयाँ सिनेमामा ह्यूमर त हुन्छ नै तर यो मेरा पछिल्ला सिनेमा भन्दा फरक हुन्छ। अहिले मैले बनाइसकेको जस्तो हुँदैन।'
उनले आफू सिनेमाको ५१ औं दिनको प्रतिक्षामा रहेको बताए। सिनेमाको व्यापारिक रिपोर्टहरू हेर्दा उनको प्रतिक्षा पूरा हुने देखिएको छ।