'बाँच्नलाई मान्छे होइन भाग्य बलियो हुनुपर्छ।'
यो हाल प्रदर्शनरत: एक्सन सिनेमा 'रणवीर'को संवाद हो। सिनेमामा हिरो छन् सुशिल सिटौला। हाल उनको अवस्था आफ्नै सिनेमाको संवाद जस्तो भएको छ।
साउथ सिनेमाको स्वादमा त्यही अनुसार मेकिङ शैली भएपनि सिनेमाले हलमा दर्शकको साथ पाउन सकिरहेको छैन्। सिनेमा हेरेका नेपाली सिनेकर्मीले सिनेमाले मेकिङ स्केलमा आफूलाई गतिलो देखाएको र सुशिल एक्सन हिरोको रूपमा राम्रो लागेको प्रतिक्रिया नदिएका पनि हैनन् तर सिनेमाले दर्शकलाई तान्न सकिरहेको छैन्।
'होस्टल रिटन्स'बाट नेपाली रजतपटमा डेब्यू गरेका सुशिलको यो चौथो सिनेमा हो। ४ सिनेमा गरिसक्दा चारै पटक उनले फरक भूमिका गरे। उनको डेब्यू सिनेमा चले पनि पछिल्ला दुई सिनेमा वक्सअफिसमा चम्कन सकेनन्।
'रणवीर' अघि रिलिज भएको 'गाँजाबाजा' सेन्सरसँग विवाद भएपछि लामोसमय अदालतको चक्करमा झुल्यो। कानुनी झमेलाबाट रिलिज भएको सिनेमाले आफ्नो विषय, प्रस्तुति र अभिनयको लागि तारिफ पनि बटुलेको हो तर दर्शकले चासो देखाएनन्।
तेश्रो सिनेमाको पनि हालत यस्तै भएको छ। सिनेमाले विशेषगरी साउथ सिनेमाको शैलीलाई टक्कर दिएको, सिनेम्याटोग्राफीका साथमा कलाकारहरूको अभिनय राम्रो भएको प्रतिक्रिया सिनेक्षेत्रबाट बटुलेपनि हल खाली छन्।
सुरूमा एक्सन भूमिकामा सुशिलको खिरिलो ज्यानलाई हेरेर धेरैले यस्तो एक्सन हिरो भनेर नाक खुम्चाएपनि रिलिजपछि सिनेमा हेर्ने उनको तारिफ नै गरे। कमाइले सिनेमाको सफलता नापिने सिने उद्योगमा राम्रो भएर राम्रो काम गरेर पनि प्रतिफल गतिलो नपाएपछि यसलाई सुशिलले पनि 'ब्याडलक' नै ठानेको हुनुपर्छ।