वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको 'मुटुको कथा' शीर्षकको कृति सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा मंगलबार आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्य, हास्यकलाकार हरिवंश आचार्य र लेखक कोजुले सो कृति लोकार्पण गरेका हुन्।
बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाती त दुखेको छैन नि?, हत्तेरिक्ता औषधि नै छुट्यो, नुनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थना सहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटना सम्बन्धी विषयवस्तु समेटिएका छन्।
कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले तुलनात्मक रुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राखे।
मुटुरोग विशेषज्ञ डा. कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामो समयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्य लाभ लिन सकिने अनुभव सुनाए।
उनले भने, 'मैले बिरामीलाई सधैं भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम हो।'
डा. मकाजुले किताब अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी किताबले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राखे।
हास्यकलाकार आचार्यले किताबलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सव लगायतका अवसरमा उपहारका रुपमा किताब दिँदा उपयुक्त हुने धारणा राखे।
डा. शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ्य क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावना लगायतका विषयवस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको बताइन्।
लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरूबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर किताब लेख्ने जमर्को गरेको बताए।
उनले जीवनको ४० वर्ष चिकित्सा सम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयवस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पुर्याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिए।