मैथिली भाषा–साहित्य अनुसन्धानका क्षेत्रमा ‘मिथिला मिथक’ नाममा एउटा नयाँ कृति आएको छ। लेखक हुन् धर्मेन्द्र विह्वल।
लेखकले मुख्यतया नेपालको मैथिलीभाषी समाजमा किंवदन्ती र जनविश्वासका रूपमा जीवित कथनहरू संकलन गरी पुस्तकमार्फत प्रस्तुत गरेका छन्।
पुस्तकका ६ अध्यायमा कुल १११ वटा मिथक संकलित छन्।
लेखकका अनुसार मिथिला क्षेत्रमा जनविश्वासका रूपमा मिथकका धेरै सन्दर्भ छन् जसको खोजी र अध्ययन हुनु जरूरी छ। पुस्तकको भूमिकामा मैथिली साहित्यका अनुसन्धाता डा. रमानन्द झा रमणले मिथक अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउँछ भनेका छन्।
अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक इतिहास मनिँदैन तर यसले इतिहासको अध्ययन प्रक्रियामा आधार प्रदान गर्ने विश्वास गरिन्छ।
धर्मेन्द्रले पुस्तकमा संकलित सबै सन्दर्भ मिथक नै हुन् भन्ने दाबी गरेका छैनन्। उनलाई मिथक हो भन्ने लागेको सन्दर्भ मिथकका रूपमा प्रस्तुत गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको थियो।
त्यसबाहेक नेपाल र यहाँ बोलिने भाषामा मिथकबारे खासै काम हुन भएको छैन। धर्मेन्द्रका अनुसार ‘मिथिला मिथक’ नेपाली भाषेत्तर मिथकको पहिलो पुस्तक हुन सक्छ।
लेखक धर्मेन्द्र विह्वल नेपाली पत्रकारिताका ‘धर्मेन्द्र झा’ हुन्। उनी खासगरी मैथिली भाषासहित्यमा कलम चलाउँछन्। नेपाली साहित्यमा पनि उनका कृति प्रकाशित छन्। उनले मैथिली र नेपाली गरी दुबै भाषामा एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन्।
पत्रकारका रूपमा धर्मेन्द्रले विभिन्न सञ्चामाध्यममा सम्पादकीय नेतृत्व सह्मालेका छन्। नेपाली पत्रकारहरूको छाता संस्था ‘नेपाल पत्रकार महासंघ’ को नेतृत्व पनि गरिसकेका छन् । उनी २०६५–२०६८ कार्यकालमा महासंघको अध्यक्ष थिए।
उनी पत्रकारिताका प्रशिक्षक हुन्। उनले पत्रकारितासम्बन्धी पुस्तक पनि लेखेका छन्। हाल उनी राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्षका रूपमा कार्यरत छन्।
मैथिली र नेपाली भाषा सहित्यमा उनको कलम निकै सशक्त छ।
साहित्यको सबैजसो विधामा कलम चलाउने उनी मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारका रूपमा स्थापित छन्।
केही महिनाअघि ‘शहरक भीडमे एसगर हम’ नामको प्रयोगवादी मैथिली कविता संग्रह पाठकमाझ आएको थियो। यसपटक भने अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ लिएर पाठकमाझ उपस्थित भएका छन्।
यो कृतिले मिथक अध्ययनका बारेमा बहस प्रारम्भ गर्ने लेखकको विश्वास छ। यस हिसाबले यो अध्ययन प्रारम्भमात्र हो, अन्त्य होइन।