विजय चालिसेद्वारा लिखित उपन्यास 'युगसन्धि' को लोकार्पण गरिएको छ।
ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यासमा आर्य र अनार्य जाती तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको छ।
यी प्रसंगहरूमा विश्वमित्र ऋषि र वशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ। उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ।
पुस्तक लोकार्पण समारेहमा बोल्दै समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शाष्त्रिय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभइ पराजयको पनि कथा भएको बताए। उनले युगसन्धिले प्राचिन समयको जातिय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गरे।
यसैगरी समीक्षक डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यास यसले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौं गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गरिन्।
वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उनको भनाइ थियो।
वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गरेका डा ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए।
लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरुलाई अध्ययन गरेर निकालेको निश्कर्षका आधारमा उपन्यास तयार पारेको बताए।
लोकार्पण समारोहमा समीक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिए।
पुस्तकलाई परिचय पब्लिकेशनले प्रकाशित गरेको हो।