नेपालको भौगोलिक स्वरूप आज जे छ, यसले सिर्जना गरेको राजनीतिक तथा आर्थिक अवस्था आज जस्तो छ, हाम्रो यो नियति दुई सय नौ वर्षअघि आजकै दिन लेखिएको थियो — अर्थात् १४ मंसिर, १८७१ (सन् १८१४ नोभेम्बर २७)।
दिन — आइतबार
समय — दिउँसो १ बजे
स्थान — नालापानी किल्ला
अंग्रेज सेनाका कमान्डर कर्णेल सेब्राइट मबीले दुई दिनअघि मंसिर १२ गते नै नालापानी किल्लामा तोप पड्काएर धावा बोलिसकेका थिए।
मुख्य सैन्य कारबाही भने आइतबार सुरू भयो।
यसबीच कर्णेल मबीले नालापानी किल्लामा डेरा जमाएर बसेको नेपाली फौजमाथि चौतर्फी हमला गर्न पैदल सेना खटाउने तयारी गरे। नेपालीहरू भाग्लान् भनेर वरिपरिका सबै गौंडा र बाटामा आफ्नो फौज खटाए। नेपालीहरू राति नै किल्ला छाडेर जालान् भनेर फौजलाई सतर्क पनि गराए।
एक महिनाअघि कात्तिक १० गते पहिलोचोटि नालापानी हान्दा अंग्रेज सेना नराम्ररी हारेको थियो।
झन्डै पाँच घन्टा चलेको उक्त लडाइँमा नौ जना अंग्रेज सैनिक मारिएका थिए भने नेपालीतर्फ दुई जना घाइते मात्र भए।
सात दिनपछि दोस्रोचोटि हान्दा पनि अंग्रेजहरूको चिल्लीबिल्ली भयो। स्वयं मेजर जनरल रबर्ट रोलो जिलेस्पीले ज्यान गुमाए। उनी नालापानी किल्लाको ढोकाबाट २७ मिटर दुरीमा उभिएर आफ्ना सिपाहीहरूलाई हौस्याउँदै थिए। त्यही बेला नेपाली फौजले हानेको गोली छातीमा लागेर ठाउँको ठाउँ उनको प्राण गयो।
जिलेस्पीको मृत्युपछि नै अंग्रेज फौजको नेतृत्व कर्णेल मबीको काँधमा आएको थियो।
पहिलोचोटिको हारले घाइते बाघझैं तिलमिलाएको अंग्रेज फौज यसपालि जसरी पनि नालापानी कब्जा गर्ने सुरमा थियो।
कर्णेल मबीले आफ्नो सैनिक मुख्यालयका प्रमुख प्रशासक लेफ्टिनेन्ट कर्णेल जीएच फागनलाई लेखेका पनि थिए, ‘अब मसँग एउटै उपाय बचेको छ। त्यो हो, नालापानी किल्ला धुलोपिठो भएर माटोमा नमिलेसम्म लगातार गोलाबारी गरिरहने।’
यही योजनाअनुरूप कर्णेल मबीले आजभन्दा ठ्याक्कै दुई सय नौ वर्षअघि १८७१ मंसिर १४ गते दिउँसो १ बजे नालापानी किल्लामाथि फेरि धावा बोले।
त्यस दिन अंग्रेज फौजको एउटा दस्ताले किल्लामा लगातार गोला बर्साइरह्यो।
तोपका गोलाले किल्लाका सख्त पर्खालहरू धुजा धुजा भए। छत खसे, बुर्जाहरू ढले।
अर्को दस्ता बन्दुकको संगीनले नेपाली सिपाहीहरूलाई रेट्दै अगाडि बढ्यो। किल्लाको पर्खाल र ढोकामा जहाँ जहाँ नेपाली सिपाही भेटिन्छन्, उनीहरूले त्यहीँ त्यहीँ काट्न थाले।
हमला गर्ने दस्तालाई सहयोग गर्न किल्लाबाहिर अर्को फौज तम्तयार थियो भने बाँकी फौजलाई आवश्यक पर्नासाथ अगाडि बढ्ने निर्देशनसहित तयारी अवस्थामा क्याम्पमै राखिएको थियो।
दुई घन्टाको घमासानपछि किल्लाभित्रका धेरै नेपाली सिपाही मारिए। केही सम्पत्ति पनि आगोमा पोलिए।
यति हुँदा पनि नेपालीहरूले किल्ला छाडेनन्। बरू किल्ला तोडेर भित्र घुस्न खोजेका अंग्रेज सिपाहीलाई ढुंगै ढुंगाले हानेर मारे। कतिलाई तीखा भालाले घोपेर ज्यान लिए। कतिलाई खुकुरीले सेरे। कतिलाई बाँसले हानेर रक्तमुच्छेल पारे।
आखिरमा दिउँसो ३ बजे कर्णेल मबीले तोप हमला बन्द गराए र किल्लामा मारिएका आफ्ना सिपाहीहरूको लास माग्न मान्छे पठाए।
नेपालीहरूले किल्लाभित्र अड्किएका अंग्रेजका लास बाहिर झारिदिए।
अंग्रेज फौजले यसपालि पनि नालापानी किल्लामा विजय झन्डा फहराउन सकेन।
कर्णेल मबी भने हार मान्ने सुरमा थिएनन्। उनले नालापानी किल्लालाई धुलोपिठो पार्ने प्रण गरिसकेका थिए।
प्रण पूरा गर्न उनले किल्लाभित्र जाने पानीका केही मुहान बन्द गराइदिए। खानेकुरा आपूर्ति रोक्न हर तरहले प्रयास गरे। नेपालीहरूलाई सहयोग गर्न आएको फौजलाई नालापानी नजिक ढिम्किनै दिएनन्। किल्ला जोगाउन भनी पठाइएका गोलाबारूद, ढुंगा, बिख र बन्दुक पनि नेपालीहरूको हात पर्नै दिएनन्।
यसले नेपाली फौजमा अफरातफरी मच्चियो।
हडबडीमा थुप्रै नेपाली सिपाहीले हातहतियारसहित किल्ला छाडे।
जो भित्र थिए, उनीहरू तिर्खाले प्याकप्याक परे। भोकले रन्थनिएर काँचो चामल खान बाध्य भए।
मंसिर १६ गते झन् भीषण लडाइँ भयो।
अंग्रेजहरूले बिहानैदेखि तोप र बन्दुक पड्काउँदै किल्लामा चढाइँ गरे।
किल्लाको चारैतिर २०–२५ वटा तोपबाट गोला बर्साइयो।
तोप र बन्दुकको गर्जनले दुर–दुरसम्म कोलाहल मच्चियो। कतिसम्म भने, नालापानी किल्लाबाट ७७ किलोमिटर पूर्वमा रहेको उल्खागढीमा बसेका सिपाहीसमेत आतंकित भएका थिए।
अंग्रेज सिपाहीहरू दमाहा बजाउँदै, ठुल्ठूलो स्वरले चिच्याउँदै, होहल्ला गर्दै सलहको बथानझैं किल्लाभित्र छिरे।
भोक र तिर्खाले आलसतालस नेपाली सिपाहीहरूले त्यो बथानको सामना गर्न सकेनन्।
अंग्रेज फौजले बर्साएको बमगोला थेग्न सकेनन्।
किल्लाका पर्खाल केही बाँकी नहुँदा अंग्रेजहरूलाई छेक्ने कुनै उपाय पनि रहेन।
यस्तो दुरूह अवस्थामा कप्तान बलभद्र कुँवरले आफ्ना सिपाहीहरूलाई सम्बोधन गर्दै भने, ‘अब हामीले किल्लाभित्रै मर्नु योग्य छ। जो जो मलाई साथ दिन तयार छौ, उनीहरूले कबुल गरी आफ्नो नाम लेखेर देऊ। वैरीहरू आक्रमण गर्न आउलान्, हामी तरबार गरेर मरौंला।’
कमान्डर रिपुमर्दन थापाले कप्तान बलभद्रको कुरामा सही थापे।
यसरी कबुल गराउँदा जागिरे र भाडाका सिपाहीसमेत ८५ जनाको नाम लेखियो। तीमध्ये केही सिपाही पछि बाहिर निस्केर अंग्रेजसँगै मिसिए।
बचेका ५०–६० जनाले बलभद्र कुँवर र रिपुमर्दन थापाको हात समातेर किल्लाबाहिर निकाले।
बाहिर अंग्रेज फौज शिकार पर्खिरहेको शिकारीझैं आक्रमण गर्न तयार बसेको थियो।
नेपाली कप्तान र सिपाहीहरूलाई देखेर अंग्रेजहरू कराए। नेपालीहरू पनि नांगो तरबार हातमा लिएर गर्जिए।
तर यो युद्धको ललकार थिएन। नेपाली फौज हार स्वीकार गर्दै किल्ला छाडेर हिँडेको थियो।
मंसिर १७ गते बिहान ४ बजे अंग्रेजले नालापानी किल्ला कब्जा गर्यो।
जसै किल्ला कब्जा भयो, कर्णेल मबी आफ्नो दलबलसहित भित्र पसे।
भित्र महिला र पुरूषका लास भुइँमा जताततै छरिएका थिए। दस फिट लामो र छ फिट चौडा ठाउँमा सातवटा लास एकमाथि अर्को खप्टिएका थिए। सानो ठाउँमा ८६ वटासम्म लास लडेको पाइयो। किल्लाका चारैतिर दुई फिटजति गहिरो खाडल खनिएको थियो। उनीहरूले त्यहीँ लुकेर बाँच्ने कोशिस गरेका थिए।
किल्लाबाहिर पनि चारैतिर भुइँ अलिअलि खोस्रिएर थुप्रै लास गाडिएका थिए। आधाउधी मात्र गाडिएका र हात वा खुट्टा बाहिर निस्किएका ३० वटासम्म लास फेला परे।
अरू धेरै घाइते सिपाहीहरू पनि किल्लामा थिए। घाइतेको अवस्था झनै खराब थियो। खान नपाएर वा थाकेर वा दुवै कारणले कोही अर्धमृत हालतमा थिए। घस्रन सक्नेहरू घस्री घस्री बाहिर निस्कन खोज्दै थिए। कोही ‘पानी पानी’ भन्दै चिच्याउँदै थिए। कोही तीन दिनअघि भाँचिएका हातखुट्टा लिएर लम्पसार परेका थिए।
खुट्टा भाँचिएकी एक युवती लासको थुप्रोबीच पल्टिएकी थिइन्। उनको शरीरका केही भाग लासहरूमुनि थिचिएका थिए। उनी हलचल गर्ने अवस्थामा थिइनन्। तिर्खाले उनको मुख प्याकप्याक गर्दै थियो।
अर्की एक महिला छातीमा बच्चा टाँसेर बसेकी थिइन्। उनी आफू त घाइते थिइनन्, तर उनको बच्चा घाइते थियो। घाइते बच्चा आमाको दूध चुस्दै थियो।
एक घाइते पुरूष ओछ्यानमा लम्पसार थिए। टाउकोमा चोट लागेर बेसुरा बनेका थिए। रगतले भिजेको धुलोमा उनी आफ्ना औंलाले के के अक्षर कोर्दै थिए।
एउटी चार वर्षजतिकी र अर्की एक वर्षजतिकी बच्ची पनि किल्लाभित्र थिए, जसका आमाबाबु दुवै मरिसकेका थिए। ठूली बच्ची आफ्नी बहिनीसँग छुट्टिनुपर्ला भन्ने डरले चिच्याउँदै थिइन्।
किल्लाभित्रका यस्ता विदारक दृश्यले मृतकहरूको लास नगनाउञ्जेल र आफू तिर्खाले आकुलव्याकुल नहुञ्जेल नेपालीहरू डटेर लडेका रहेछन् भन्ने झल्काउँथ्यो।
यसैबीच कर्णेल मबीले नेपाली कप्तान बलभद्र कुँवरको खुट्टामा चोट लागेको छ भन्ने खबर पाए। उनले हो कि होइन बुझ्न आफ्ना एक लेफ्टिनेन्टलाई खटाए।
सँगसँगै आदेश दिए, ‘बलभद्रलाई राम्रो व्यवहार गर्नू। उनी बहादुर सिपाही हुन्।’
यसरी १८७१ कात्तिक १० गते सुरू भएको नालापानी लडाइँ दोस्रो खेपको हमलापछि मंसिर १७ गते बिहान अन्त्य भयो।
नालापानीको हारबाट नेपाली सेनाले एउटा महत्वपूर्ण किल्ला मात्र गुमाएन, पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म फैलिएको नेपाललाई आजको भौगोलिक स्वरूपमा खुम्च्याउने प्रस्थान विन्दु पनि त्यही हार बन्न पुग्यो।
महाभारतको कुरूक्षेत्र लडाइँमा चार पक्ष अहम् थिए —
एक — कौरव र पाण्डव, जसले त्यो लडाइँ लडे।
दुई — हस्तिनापुरका राजा धृतराष्ट्र, जसले आफ्नो दरबारमा बसेर लडाइँको कथा सुने।
तीन — सारथि सञ्जय, जसले राजा धृतराष्ट्रलाई लडाइँको कथा सुनाए।
र, चार — त्यो दिव्यदृष्टि, जसको बलमा सञ्जय हस्तिनापुर दरबारमै बसी बसी कुरूक्षेत्र लडाइँको प्रत्यक्षदर्शी बने।
हाम्रो यो स्टोरीमा पनि चार पक्ष अहम् छन् —
यहाँ लडाइँ हुँदैछ, अंग्रेज र नेपाली सेनाबीच।
धृतराष्ट्रजस्तो चुपचाप लडाइँको कथा सुन्दैछु, म।
मलाई कथा सुनाउँदैछन्, पत्रकार तथा लेखक मोहन मैनाली।
र, मोहन मैनालीलाई काठमाडौंको हाँडीगाउँस्थित आफ्नो घरको कोठामै बसी बसी दुई सय नौ वर्षअघि अंग्रेज र नेपाली सेनाबीच भएको लडाइँको प्रत्यक्षदर्शी बन्ने र कथा सुनाउने ‘दिव्यदृष्टि’ प्राप्त भएको छ, नेपाली र अंग्रेज सिपाहीहरूले लडाइँको मैदानबाट लेखेका चिठीपत्रबाट।
सबभन्दा पहिला यिनै चिठीपत्रको कुरा गरौं, जसका आधारमा मैनाली नेपाल–अंग्रेज युद्धको कथा सुनाउन काबिल भए।
२०७६ पुस महिनाको कुरा हो। मैनाली एक अर्कै ऐतिहासिक विषयमा लेख लेख्न सन्दर्भ सामग्री खोज्दै राष्ट्रिय अभिलेखालय पुगेका थिए। त्यहाँ कम्प्युटर प्रिन्ट गरिएको एउटा क्याटलगमा उनको आँखा पर्यो, जसमा दुई सय वर्ष पुराना चिठीपत्रहरूको विवरण थियो।
ती सामान्य चिठीपत्र थिएनन् — ती थिए, विक्रम सम्बत् १८७१ देखि १८७२ सालसम्म त्यति बेलाको शक्तिशाली अंग्रेज साम्राज्यसँग विभिन्न ठाउँमा युद्ध लडेका नेपाली सिपाहीहरूले युद्धभूमिबाटै लेखेका चिठीपत्र।
त्यो लडाइँ पनि सामान्य थिएन — त्यो थियो, नेपालले लडेको सबभन्दा ठूलो, सबभन्दा लामो र सबभन्दा धेरै ठाउँमा फैलिएको लडाइँ।
र, सबभन्दा ठूलो कुरा त लडाइँको परिणाम पनि सामान्य थिएन — त्यो थियो, सुगौली सन्धि जसले नेपालको भौगोलिक स्वरूपलाई झन्डै झन्डै आजको अवस्थामा खुम्च्याइदियो।
करिब डेढ वर्ष चलेको सुगौली सन्धि लडाइँको ‘आँखो देखा हाल’ थाहा पाइने चिठीपत्रको क्याटलग आँखासामुन्ने भेटेपछि मैनाली रोमाञ्चित भए।
ती चिठीपत्र पढ्ने हुटहुटीले मैनालीको पत्रकार मनलाई हुलुक्कै बनायो।
उनी जुन कामले अभिलेखालय पुगेका थिए, त्यसलाई थाती राखेर सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित चिठीपत्र छानी छानी पढ्न थाले।
केही यस्ता चिठीपत्र पनि फेला पारे, जुन अहिलेसम्म सार्वजनिक गरिएका थिएनन्। त्यस्ता ‘क्लासिफाइड’ (गोप्य) दस्तावेज खोतल्न परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्थ्यो। घर लैजान वा फोटोकपी गर्न निषेध थियो।
मैनालीले परराष्ट्रबाट अनुमति लिए र दिनैभरि अभिलेखालयमा बसेर हातैले सारे। कुनै हुबहु सारे, कुनैको संक्षिप्त टिपोट मात्र लिए।
यस क्रममा हजार पृष्ठभन्दा बढी चिठी संकलन भयो, जुन पूर्व टिष्टादेखि पश्चिम सतलज नदीसम्म फैलिएको पन्ध्र सय किलोमिटर लामो भूभागका विभिन्न किल्लामा खटिएका सिपाहीहरूले लेखेका थिए। ती चिठी कुनै तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहलाई सम्बोधन गरिएको थियो भने कुनै मुख्तियार भीमसेन थापालाई सम्बोधन गरिएको थियो।
नेपाली सिपाहीहरूले लेखेका चिठीपत्रका अतिरिक्त त्यही युद्धमा होमिएका अंग्रेज सिपाहीहरूले आफ्ना कमान्डर वा सैनिक मुख्यालयलाई पठाएका चिठी पनि मैनालीले खोजखाज पारे।
यसरी एउटै युद्ध लडिरहेका दुइटा सेनाले पठाएका चिठीपत्र आपसमा भिडाएर हेर्दा सुगौली सन्धि लडाइँका दृश्य तरोताजा भएर आए।
लडाइँको यस्तो नालीबेली बन्यो, जुन यही रूपमा मैनालीले कहिल्यै पढेका वा सुनेका थिएनन्।
उदाहरणका लागि — नालापानी लडाइँको माथिको वर्णन तिनै चिठीपत्रमा आधारित छ। कर्णेल मबीले नालापानी किल्ला कहिले र कसरी हानियो, किल्ला हान्दा के–के भयो, किल्ला कब्जा गरेपछि भित्र के–के देखियो लगायत विवरण आफ्नो सैनिक मुख्यालयका प्रमुख प्रशासक लेफ्टिनेन्ट कर्णेल जीएच फागनलाई लेखेका चिठीमा बयान गरेका छन्। खासगरी १८७१ मंसिर १४, १५ र १७ गते लेखिएका चिठीमा माथिका विवरण उल्लिखित छन्।
त्यस्तै, कमान्डर रिपुमर्दन थापाले नालापानीबाट भीमसेन थापा र रणध्वज थापालाई लेखेका चिठीमा नेपाली फौजले ढुंगा, भाला र बाँसको भरमा कसरी अंग्रेजको तोप सामना गर्यो र आखिरमा कसरी फौज छिन्नभिन्न भयो भनेर बेलीविस्तार लगाइएको छ।
दुईतर्फी चिठीपत्रको अध्ययनबाट दुई सय वर्ष पुरानो युद्धको तस्बिर सजीव भएपछि मैनालीले त्यसलाई किताबको रूप दिने निधो गरे, जुन ‘मुकाम रणमैदान’ नामले केही दिनअघि प्रकाशित भएको छ।
यसै सन्दर्भमा म ऐतिहासिक किताब लेखन र नेपालको एक महत्वपूर्ण ऐतिहासिक युद्धकथा मैनालीकै मुखबाट सुन्न उनको घर पुगेको थिएँ।
मैनालीले मलाई नेपाल–अंग्रेज रणमैदानको कथा त्यसरी नै सुनाए, जसरी कुरूक्षेत्रको कथा सञ्जयले धृतराष्ट्रलाई सुनाएका थिए।
हाम्रो कुराकानीको सिलसिला पनि महाभारतको जस्तै थियो।
त्यहाँ धृतराष्ट्रको प्रश्नमा सञ्जय कुरूक्षेत्रको झलक देखाउँथे, यहाँ मेरो प्रश्नमा मैनाली रणमैदानको झलक देखाउँदै छन्।
प्रश्न जता जता मोडिन्छ, रणमैदानको दृश्य उतै उतै मोडिन्छ।
जस्तो —
नेपाल नराम्ररी पराजित भएको नालापानी किल्लाको किस्सापछि मैले मैनालीलाई लडाइँमा प्राण गुमाएका वा घाइते भएका सिपाहीको अवस्थाबारे सोधेको थिएँ।
जवाफमा आफूले फेला पारेका चिठीपत्रका आधारमा मैनालीले भने, ‘कतिपय अवस्थामा वीरगति पाएका सिपाहीका परिवारलाई क्षतिपूर्तिबापत् जमिन दिने चलन रहेछ। त्यसलाई ‘मरोट’ भनिँदो रहेछ। कतिपय अवस्थामा चाहिँ पुरूष सन्तानलाई बालिग भएपछि सेनामा भर्ती लिएको पनि पाइयो। तर यस्तै सुविधा सबै सिपाहीले पाउँथे कि पाउँथेनन्, त्यो चाहिँ यकिनसँग भन्न सकिन्न।’
उनी यो यस कारण पनि यकिनसँग भन्न सक्दैनन्, किनभने नेपालमा त्यति बेला र पछिसम्मै सैनिकलाई स्थायी नियुक्ति दिने चलन थिएन। जसको स्थायी नियुक्ति नै छैन, उनीहरूको निम्ति क्षतिपूर्तिको स्थायी बन्दोबस्त हुने त सवालै आएन!
मैनालीका अनुसार हरेक वर्ष एकवर्षे अस्थायी नियुक्ति दिएर सिपाही भर्ती गरिन्थ्यो। कति सिपाही त अस्थायी नियुक्तिसमेत नदिएर भाडामा झिकाइएका हुन्थे। त्यस्ता भाडाका सिपाहीलाई ‘ढाक्य्रा’ भनिन्थ्यो। उनीहरू पछि कुनै बेला नियुक्ति पाइएला भन्ने आसमा पारिश्रमिकबिनै आफ्नो घरभन्दा टाढाका गढी, गौंडामा बसेर लडाइँमा सामेल हुन्थे।
नियुक्ति लगायत सेनाभित्र भएको चरम अन्यायको कुरा उठाउँदै १८९९ सालमा पाल्पाका सैनिकहरूले विद्रोह गरेको प्रसंग पनि मैनालीले किताबमा उल्लेख गरेका छन्। उक्त विद्रोह भएको करिब सय वर्षपछि १९८९ सालमा आएर मात्र सेनामा स्थायी भर्ती गर्ने परम्परा सुरू भएको थियो।
घाइतेहरूको व्यवस्थापनबारे भने मैनालीले नालापानीकै उदाहरण दिए।
जब कर्णेल मबी नालापानी किल्ला फतह गरेर भित्र छिरे, त्यहाँ थुप्रै घाइते सिपाहीहरू रहेको प्रसंग हामीले माथि उल्लेख गरिसकेका छौं। तीमध्ये जो जो हिँड्न सक्ने अवस्थामा थिए, तिनलाई कर्णेल मबीले किल्ला छाडेर जाने अनुमति दिँदै मानवता देखाए।
मबीले भनेका थिए, ‘यिनीहरूले आफ्नो किल्लामा ढलेका हाम्रा सिपाहीप्रति राम्रो व्यवहार गरेका थिए। त्यसैले यिनीहरूप्रति आदरभाव देखाउनु मेरो धर्म हो।’
त्यही किल्लामा हिँड्न नसक्ने अवस्थाका घाइते पनि धेरै थिए, जसलाई अंग्रेज फौजले नै ओखतीमुलो गरेको मैनाली बताउँछन्।
उदाहरणका लागि —
दयाराम खड्का भन्ने सिपाही तिघ्रामा गोली लागेर किल्लाभित्रै ढलेका थिए। उनी हिँड्न सक्दैनथे। उनलाई अंग्रेज सिपाहीहरूले वैद्यकहाँ लगेर उपचार गराएको प्रसंग एउटा चिठीमा भेटिएको छ।
यति मात्र होइन, पछि नेपाली सेनाले ‘हाम्रा घाइतेहरू फर्काइदिनू’ भन्दा अंग्रेजहरूले ‘घाइतेको उपचार हामी आफैं गर्छौं’ भनेको अर्को चिठीबाट खुलेको छ।
‘उपचारपछि ती सिपाहीलाई के गरियो त?’ मैले सोधेँ, ‘के तिनलाई आफ्नो सेनामा सामेल हुन फिर्ता पठाइयो?’
‘अहँ पठाइएन,’ मैनालीले भने, ‘उनीहरूलाई उपचारपछि अंग्रेजहरूले नालापानी किल्लाभन्दा दक्षिणमा रहेको आफ्नो युद्धबन्दी शिविरमा लगेर राखेको देखिन्छ।’
‘ओहो, युद्धबन्दी शिविरमा लगेको भनेपछि त त्यहाँ यातना पनि दिइन्थ्यो होला है!’
‘त्यस्तो यातना दिएको प्रसंग त मैले भेटिनँ,’ उनले भने, ‘बरू युद्धबन्दीहरूलाई राम्रो व्यवहार गरिएको छ भन्ने सन्देश नेपाली सेनासम्म पुगोस् भनेर अंग्रेजहरूले चाहेको देखिन्छ। लडाइँमा हारेका नेपाली सिपाहीहरू आफूसँग मिल्न आउलान् कि भनेर रणनीतिक रूपमा यसो गरिएको हुनसक्छ।’
‘लडाइँकै बीचमा कोही उता मिल्न पनि गएका थिए र?’
‘किन नजानू!’ मैनालीले भने, ‘घाइते सिपाहीहरू धेरैलाई अंग्रेजले आफ्नै फौजमा भर्ती गराएका थिए।’
‘हो र!’
मेरो आश्चर्यको जवाफमा मैनालीले बूढाकाजी अमरसिंह थापासँग अंग्रेजहरूले गरेको सन्धिको प्रसंग सुनाए।
त्यो सन्धिको कुरा गर्नुभन्दा अगाडि हामी अमरसिंह थापाले अंग्रेजसँग कसरी लडे, त्यो दृश्य हेरिहालौं है।
स्कुलका पाठ्यक्रमदेखि नै ‘वीर योद्धा’ भनेर नाम सुन्दै आएको अमरसिंह थापा कसरी अंग्रेजहरूसँग सन्धि गर्नुपर्ने अवस्थामा पुगेछन् त?
अमरसिंह थापाको कथा नालापानीको हारबाट सुरू हुन्छ।
जसै अंग्रेजहरूले नालापानी र वरपरका साना–ठूला किल्ला कब्जा गरे, त्यसपछि तत्कालीन नेपालको सुदूर पश्चिम मोहडामा रहेको नेपाली फौजसँग बाँकी मुलुकको सम्पर्क टुट्दै गयो।
त्यसै क्रममा अंग्रेजसँग लडाइँ सुरू भएको छ महिनापछि १८७२ वैशाख १७ गते (सन् १८१५ अप्रिल २७) कुमाऊँमा पनि नेपाली फौज पराजित भयो। कुमाऊँका चौतरिया बम शाहको एकै अनुरोधमा गढवालका नेपाली भारदार कम्पनीले आफ्नो भूभाग अंग्रेजलाई सुम्पिदिएको मैनालीले किताबमा उल्लेख गरेका छन्।
यसले नेपालका लागि जटिल अवस्था सिर्जना भयो। तपाईंहरूले पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको ‘ग्रेटर’ नेपालको नक्सा त देख्नुभएकै होला। हो, त्यही नक्सामा महाकालीदेखि गढवालसम्मको जुन भूभाग नेपालको सीमाभित्र देखिन्छ, छ महिनाको लडाइँपछि त्यो भूभाग अंग्रेजहरूको कब्जामा पुग्यो।
यसले नेपाल दुई खण्डमा बाँडियो — पूर्वमा टिष्टादेखि पश्चिममा महाकालीसम्म एउटा खण्ड र गढवालदेखि सतलजसम्म अर्को खण्ड।
नेपालको राजधानी रहेको भूभाग र सुदूर पश्चिममा बूढाकाजी अमरसिंह थापाको अधीनमा रहेको भूभागबीच आवतजावत र चिठीपत्र बन्द भयो। यसका लागि या त उनीहरूले भोटको बाटो प्रयोग गर्नुपर्थ्यो, या अंग्रेजले कब्जा गरेको भूभाग। दुवै बाटो गोप्य सूचना आदानप्रदानका लागि सुरक्षित थिएनन्।
यसबीच बूढाकाजी अमरसिंह थापा देशको पश्चिम मोहडाको मलाऊँ डाँडामा डेभिड अक्टरलोनी नेतृत्वको अंग्रेज फौजसँग कात्तिक महिनादेखि नै लगातार भिडेका भिड्यै थिए। कुमाऊँ गुमेर नेपालसँग सम्पर्क बिच्छेद भएपछि भने उनी समस्यामा परे।
अमरसिंहलाई मद्दत गर्न काठमाडौंबाट पठाइएको फौज सुदूर पश्चिमको किल्लासम्म पुग्नै पाएन, कुमाऊँमै अड्कियो। अमरसिंहले काठमाडौं पठाएका चिठीपत्र पनि अंग्रेजहरूले सजिलै खोस्न थाले। ती चिठीबाट अंग्रेजहरूले नेपाली फौजले भोगिरहेका समस्या थाहा पाए र झनै हौसिए।
त्यसपछि मलाऊँ किल्ला कब्जा गर्न अक्टरलोनीले हात्तीमा बोकाएर ठुल्ठूला तोप डाँडामा उकाले।
यसो गर्दा भाग्ने ठाउँ नपाएर अमरसिंह आत्मसमर्पण गर्न बाध्य हुनुपर्छ भन्ने अंग्रेजहरूको आस थियो।
आखिरमा भयो पनि त्यस्तै।
१८७२ वैशाख २८ गते बिहान अमरसिंह थापाले अक्टरलोनीलाई चिठी पठाएर उनको चाहना के छ भनेर सोधे।
लडाइँमा माथि पर्दै गएका अक्टरलोनी किन आफ्नो चाहना बताउँथे र!
उनले उल्टै अमरसिंहसँग उनको चाहना सोधे।
अमरसिंहले जवाफ दिएनन्।
जवाफ नपाएपछि अंग्रेजहरूले नेपाली सेनालाई चारैतिरबाट च्याप्दै लगे। मलाऊँ किल्लाको छेउमा तोपहरू खडा गरे र दिनभरि गोला बर्साइरहे।
अविराम गोलाबारीले नेपाली फौज हायलकायल भयो।
भोलिपल्ट बिहानै अमरसिंहका छोरा किल्लाबाहिर आए र आफूहरू वार्ता गर्न तयार भएको बताए।
वार्ता सुरू भएसँगै अंग्रेजले युद्धविराम गर्यो। तर नाकाबन्दी कायम राख्यो।
त्यसको केही दिनपछि जेठ ४ गते अमरसिंह थापा र अक्टरलोनीबीच सन्धि भयो, जसअनुसार नेपाली फौजले आफ्ना हातहतियार र निजी सम्पत्तिसहित किल्ला छाडेर जान पाउने भयो।
उनीहरूलाई आफूले रोजेको बाटो हुँदै महाकालीपूर्वको नेपाली भूभागमा जाने अनुमति पनि अंग्रेजहरूले दिए।
अमरसिंह थापाको यो पराजयसँगै महाकालीपारिका सबै भूभाग नेपालको कब्जाबाट गुम्यो।
हामीले अहिले देख्ने ‘ग्रेटर’ नेपालको नक्सामा सुदूर पश्चिमी खण्डबाट नेपालले आफ्नो अधीन गुमाएको त्यही बेला हो। महाकालीपारिका सबै जमिन गुम्दा नेपालले बर्सेनि १६ लाख ६५ हजार रूपैयाँ बराबरको आम्दानी हुने ठाउँ पनि गुमाएको मैनालीले किताबमा लेखेका छन्।
अमरसिंह थापा र अक्टरलोनीबीच भएको त्यही सन्धिमा पराजित र घाइते नेपाली सिपाहीहरूलाई अंग्रेज फौजमा भर्ती गराउन सकिने बुँदा पनि परेको छ।
मैनालीका अनुसार कतिपय नेपाली सिपाही युद्धकै बीच आत्मसमर्पण गरेर अंग्रेजसँग मिसिएका थिए। यताबाट खाद्यान्न र अरू सहयोग नपुगेको, कुनै हालतमा लडाइँ जित्ने अवस्था नरहेको र किल्लामै बसिरहे ज्यान जान सक्ने देखेर हतास हुँदै अंग्रेजसँग मिल्न गएका घटना पनि छन्।
यसरी घाइते भएर वा आत्मसमर्पण गरेर अंग्रेज सेनामा भर्ती भएका नेपालीहरूलाई ‘नसिरी’ पल्टन वा ‘मित्र’ पल्टन भनेर भनिएको छ।
‘त्यस्ता नेपाली सिपाहीलाई युद्धमा पनि खटाइन्थ्यो कि बन्दोबस्तीका काममा मात्र लगाइन्थ्यो?’
मेरो यो प्रश्नमा मैनालीले भने, ‘मैले पाएका केही चिठीपत्रबाट उनीहरूलाई बकाइदा लडाइँमै सामेल गराइएको पाइन्छ। त्यो पनि अरूसँग लड्न होइन, नेपालीहरूसँगै लड्न नेपालीहरूलाई नै प्रयोग गरिएको छ। यताबाट लड्ने पनि नेपाली, उताबाट लड्ने पनि नेपाली।’
उदाहरणका लागि —
लोहार भञ्ज्याङ (दोस्रो देउथल) को भूभागमा कब्जा जमाउँदा अंग्रेज फौजबाट लड्ने सिपाहीहरूमा तीन सय जना ‘नसिरी’ पल्टनका सिपाही पनि थिए।
‘यसरी आफ्नै देशसँग भिडाउँदा विद्रोहको डर भएनछ?’
‘त्यस्तो डराएको त देखिँदैन,’ मैनालीले भने, ‘सायद त्यसरी अंग्रेज तर्फबाट लड्ने नेपाली सिपाहीको संख्या सानो भएकाले पनि उनीहरूले डराउनुपर्ने अवस्था देखेनन् होला! भोलि यिनीहरूले विद्रोह गरिहाले वा लडाइँमा असर पर्ने गरी धोका दिन खोजे हामी सजिलै दबाउन सक्छौं भन्ने पनि अंग्रेजहरूले ठाने कि!’
आफ्नो समूहमा भर्ती भएका नेपाली सिपाहीहरूकै मद्दतबाट एक नेपाली अफिसरको लास पहिचान गर्न मद्दत मिलेको दृष्टान्त पनि मैनालीले भेटेका छन्।
त्यो लास १८७२ वैशाख ६ गते मलाऊँको लोहार भञ्ज्याङ लडाइँमा ज्यान गुमाएका भक्ति थापाको थियो।
लोहार भञ्ज्याङको लडाइँ हुनुअघि अमरसिंह थापा र भक्ति थापा दुवै सुरजगढमा थिए। अक्टरलोनीले डाँडातिर फौज पठाएको थाहा पाएपछि भक्ति थापा पश्चिम मोहडाबाट र अमरसिंह थापा पूर्वी मोहडाबाट लोहार भञ्ज्याङतिर बढे।
यसबीच वैशाख ५ गते नै नसिरी पल्टनसमेतको मद्दतले अंग्रेज फौजले लोहार भञ्ज्याङको भूभागमा कब्जा जमाइसकेको थियो। उनीहरू त्यहाँ आफ्नो किल्ला मजबुत बनाएर बसेका थिए।
त्यही रात बूढाकाजी अमरसिंह थापा र भक्ति थापा नेतृत्वको दुइटा फौजले दुईतिरबाट उकालो चढेर अंग्रेजमाथि हमला गर्ने निधो गरे।
भोलिपल्ट वैशाख ६ गते भक्ति थापा नेतृत्वको नेपाली फौज लोहार भञ्ज्याङ पुग्यो र अंग्रेजका पोस्टहरूमा धावा बोल्यो। बूढाकाजी अमरसिंह थापाको फौज भने बन्दुकको निशाना लाग्न सक्ने दुरीमा बसेर आफ्नो फौजलाई हौस्याइरह्यो।
लोहार भञ्ज्याङको त्यो लडाइँलाई अक्टरलोनीले ‘आफ्नो फौजले अहिलेसम्म झेल्नुपरेको सबभन्दा साहसिक र बलशाली हमला’ भनेका थिए।
दुई घन्टासम्म चलेको उक्त लडाइँमा दुई हजार जना नेपाली सिपाही मारिएको अंग्रेजहरूले अनुमान गरेका छन्। अंग्रेजतर्फ भने ६३ जना मारिएका थिए।
‘त्यही रणभूमिमा एक जना नेपाली अफिसरको लास फेला परेछ। हुलिया हेर्दा उनी फौजका सरदार नै हुन् भन्ने अन्दाज भए पनि को हुन् भन्ने चाहिँ अंग्रेजहरूले चिनेनछन्,’ मैनालीले भने, ‘त्यसैले लास पहिचान गर्न लोहार भञ्ज्याङको अंग्रेज क्याम्पमै ल्याइएछ।’
क्याम्पमा रहेको नसिरी पल्टन अर्थात् नेपाली सिपाहीहरूले नै त्यो लास भक्ति थापाको हो भनेर पहिचान गरेका थिए।
त्यसपछि अक्टरलोनीले भक्ति थापाको शवलाई सम्मानका साथ कपडामा बेरेर नेपाली फौजको जिम्मा लगाइदिए।
मैनालीले बलभद्र कुँवर, अमरसिंह थापा र भक्ति थापाले लडेको लडाइँको झलक देखाएपछि मैले उनलाई सोधेँ, ‘डेढ वर्षको भीषण लडाइँ सुगौली सन्धिसम्म कसरी पुग्यो त? के अंग्रेजले चाहेका भए सिंगै नेपाल कब्जा गर्न सक्थे?’
जवाफमा उनले भने, ‘सायद अंग्रेजले त्यो लडाइँ नेपाल कब्जा गर्न लडेकै थिएन।’
‘त्यसो भए के उद्देश्य थियो त अंग्रेजको?’
‘पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानपछि नै नेपालले आफ्नो भूभाग द्रुत गतिमा फैलाइरहेको थियो। नेपाली फौजले पूर्वमा टिष्टादेखि पश्चिममा काँगडा र सतलज नदीसम्मको भूभाग आफ्नो कब्जामा लिइसकेको थियो। नेपालको यो तीव्र विस्तार त्यति बेलाको शक्तिशाली अंग्रेज साम्राज्यलाई सह्य भएन। उनीहरू नेपाललाई पाठ पढाउन, नेपालको भूभाग खुम्च्याउन र नेपाललाई आफूविरूद्ध कहिल्यै उठ्न नसक्ने गरी होच्याउन चाहन्थे। नेपालको फैलिँदो भूगोल खुम्च्याएर एसियामा आफ्नो शान र मान उच्च राख्ने अंग्रेजहरूको मनसाय थियो। त्यसैले महाकालीपारिको भूभागमा नेपाललाई पराजित गरेपछि उनीहरू सकेसम्म चाँडो सन्धि गर्न चाहन्थे।’
‘नेपाली सिपाहीको लडाकू स्वभाव देखेर अंग्रेजलाई के पनि लागेको हुन सक्छ भने — यिनीहरूलाई लडाइँमा हराए पनि लामो समय कब्जामा राख्न सकिँदैन। भोलि कुनै बेला विद्रोह गर्न सक्छन्। हामीले पटकपटक लडेर बसिरहनुपर्छ। त्योभन्दा बरू सन्धि गरेर दौत्य सम्बन्ध कायम गर्नु नै हाम्रो हितमा हुनेछ,’ मैनालीले अगाडि भने, ‘खासगरी अंग्रेजलाई टिष्टादेखि काँगडासम्म फैलिएको ठूलो छिमेकी शक्ति मन नपरेको हो। त्यसलाई सानो भूगोलमा खुम्च्याउन सकियो भने नेपालीहरूको दम्भ झर्छ र फेरि फेरि हामीसँग लड्ने आँट गर्दैनन् भन्ने अंग्रेजहरूले सोचेका हुन सक्छन्।’
यति मात्र होइन, लडाइँले उत्पन्न गरेको आर्थिक भारबाट पनि अंग्रेजहरू थिचिएका थिए।
‘उनीहरूले यो लडाइँ लड्न ठूलो रकम ऋण लिएका थिए। लडाइँमा त्यति बेलासम्म ३० लाख ९३ हजार सोना रूपैयाँ खर्च भइसकेको थियो। प्रत्येक महिना ७ लाख ८४ हजार रूपैयाँ खर्च हुन्थ्यो। थप लडाइँ लड्न २० हजारभन्दा बढी सैनिक र हातहतियार थप्नुपर्थ्यो। यसो गर्दा खर्च अझ बढ्थ्यो,’ मैनालीले भने।
अर्कातिर, लामो समय चलेको लडाइँले नेपाली पक्ष पनि कमजोर हुँदै गएको थियो। खासगरी कोसीपूर्वको भूभाग सजिलै अंग्रेजको कब्जामा गएपछि र मध्य नेपालको मकवानपुर गढीसमेत गुमेपछि नेपालीहरू हच्किएका थिए।
हुन पनि मकवानपुर जितेपछि त्यहाँबाट काठमाडौं उपत्यका छिर्न अंग्रेज फौजलाई कत्ति पनि समय लाग्ने थिएन। अंग्रेजहरू काठमाडौं छिरे भने पूरै राज्य गुम्ने खतरा थियो।
त्यति बेला काठमाडौंमा खासै धेरै सैनिक थिएनन्। देशभरिका विभिन्न ठाउँमा लडिरहेका सैनिकहरू या त घाइते थिए, या थाकेका थिए। त्यो अवस्थामा अंग्रेज सेना मकवानपुरबाट उकालो लाग्यो भने उनीहरूलाई काठमाडौं छिर्नबाट कसैगरी रोक्न सकिँदैन भन्ने राजा गिर्वाणयुद्ध विक्रम शाहको आकलन हुन सक्छ।
यसबीच नेपालले अंग्रेजसँग भिड्न आफ्नो उत्तरी छिमेकी चीनसँग पटकपटक सहयोग मागेको थियो। राजा गिर्वाणयुद्धले नै धेरैचोटि चिनियाँ बादशाहलाई पत्राचार गरेका थिए। त्यस्तो पत्राचार तिब्बतको ल्हासामा रहेका चिनियाँ प्रतिनिधिमार्फत् हुन्थ्यो।
एउटा पत्रमा गिर्वाणयुद्धले भनेका छन्, ‘हाम्रा सिपाही त धेरै छन्, तर दौलत–धन नभई कसो गरी लडाइँ गरूँ? चीन बादशाहका हजुरमा बिन्ती गरी दौलत बक्साई दिनुभया सिपाहीहरूले दिल लगाई लडाइँमा अंग्रेजलाई हराउने थियौं।’
चिनियाँ बादशाहले भने नेपाललाई निराश बनाए।
उनले नेपालको लडाइँमा आर्थिक, फौजी वा अन्य कुनै किसिमको सहयोग हुँदैन भनेर हरेकचोटिको पत्राचारमा किटेरै भनेका थिए।
त्यसै क्रममा चिनियाँ बादशाह तर्फबाट काठमाडौं पठाइएको एउटा पत्रमा भनिएको छ, ‘दस हजार मुलुक चीन बादशाहका शरणमा छन्। उनले सबैलाई बरोबर गरी दया गर्ने गरेका छन्। ती मुलुकबीच लडाइँ पर्यो भने निसाफ गरी दिन्छन्, कसैको पक्ष लिँदैनन्।’
त्यही पत्रमा अगाडि भनिएको छ, ‘अघि मल्ल राजाहरू पनि चीन बादशाहका शरणमा बसेका थिए। उनीहरूको राज्य तिमीले बल गरेर लियौ। ती देश नेवारहरूलाई थामिदिनू भनी बादशाहले तिमीलाई भनेका छैनन्। जुम्लाको आधा भाग पनि तिमीले बल गरी लियौ। जुम्लाले बादशाहका हजुरमा बिन्ती गरी बादशाहले तिमीलाई ‘पुरानै साँध थामिदिनू’ भनेका खण्डमा तिमी कहाँसम्म बसौला?’
यसरी आन्तरिक रूपमा आफू कमजोर हुँदै गएको र उत्तरबाट चिनियाँ सहयोग पाउन नसकेको अवस्थामा राजा गिर्वाणयुद्धले सुलहको प्रयास थालेका थिए।
उनले भारतको बेतियामा रहेका वकिल चन्द्रशेखर उपाध्यायलाई युद्ध रोक्नेबारे अंग्रेजको विचार के छ भनी बुझ्न लगाएका थिए।
खबर पाउनासाथ अंग्रेजले आफ्नो सर्त पठायो।
लडाइँभन्दा पहिले विवादित जग्गा अंग्रेजलाई छाड्नुपर्ने, पहाडका मानिस अंग्रेजसँग मिलेबापत् उनीहरूलाई दिइएको सुविधा नेपालले पनि दिनुपर्ने, कम्पनीको फौज पुगेजति भूभाग छाड्नुपर्ने, सबै मैदानी भूभाग अंग्रेजलाई सुम्पनुपर्ने सर्त प्रमुख थिए।
लडाइँ लड्दा अंग्रेजको जति खर्च लागेको छ, त्यति रकम नेपालले किस्ताबन्दीमा तिर्नुपर्ने र यस्तो किस्ता नतिरेसम्म अंग्रेजले छानेका राजा र भीमसेन थापाको परिवारका सदस्यलाई बन्धकीस्वरूप बुझाउनुपर्ने सर्त पनि राखिएको थियो।
राजा गिर्वाणयुद्ध कतिसम्म हतास थिए भने, उनले बुटवल, पाल्पा, स्युराजका टप्पा र बाराको विवादित जमिनसमेत छाडेर मिलाप गर्नमा जोड दिए, मैनालीले किताबमा लेखेका छन्, ‘यति छाड्दा पनि मिलाप भएन भने जम्मै तराई, दून र कछारसमेत छाड्न राजा राजी भए। यतिमा पनि कुरा नमिले अंग्रेजले पहाडको भाग पनि चाहिन्छ भनेका खण्डमा देहरादूनदेखि सतलज नदीसम्मको जमिन छाडिदिए हुने विचार राजाले व्यक्त गरेका थिए।’
धेरैचोटिको पत्राचार र धेरै चरणको छलफलपछि १८७२ मंसिर १९ गते नेपाल र अंग्रेजबीच सन्धि भयो।
सुगौली भन्ने ठाउँमा दुवै पक्षले हस्ताक्षर गरेको यो सन्धि ‘सुगौली सन्धि’ का रूपमा चर्चित छ।
यही सन्धिअनुसार नेपाली फौज महाकालीपश्चिम र मेचीपूर्वका सम्पूर्ण भूभाग, बुटवल बजारबाहेक महाकालीदेखि नारायणी नदीसम्मको मैदानी भूभाग र नारायणीदेखि कोसीसम्म अंग्रेजको अधीनमा भइसकेका वा हुने क्रममा रहेका सबै मैदानी भूभागबाट हट्नुपर्ने भयो।
त्यस्तै, नेपाल र सिक्किमबीच विवाद भए अंग्रेजको निर्णय नेपालले मान्नुपर्ने भयो।
अंग्रेजको अनुमतिबिना नेपालले अंग्रेज, युरोपेली र अमेरिकी नागरिकलाई काममा लगाउन नपाउने भयो।
दुई देशमा एकअर्काका राजदूत पनि रहने भए।
उक्त सन्धिलाई नेपालका राजा र अंग्रेज गभर्नरले लालमोहर लगाएर अनुमोदन गर्नुपर्ने थियो। यसका लागि १५ दिन समय तोकिएको थियो। तर अमरसिंह थापा लगायतको विरोधका कारण नेपालले समयमा सन्धि अनुमोदन गर्न सकेन।
त्यति बेलाका केही चिठीपत्रअनुसार अमरसिंह लगायत केही नेपाली सैनिकहरू ‘हार मान्नुहुँदैन, जसरी भए पनि लड्नुपर्छ’ भन्ने पक्षमा थिए।
मैनालीले अमरसिंहले लेखेको एउटा पत्र उद्धृत गरे, जसमा भनिएको छ, ‘सन्धि गरेर दिएको जमिन फिर्ता लिन गाह्रो पर्छ, उसले युद्धमा खोसेको हो भने फिर्ता लिन सकिन्छ।’
नेपालले तीन महिनापछि १८७२ फागुन २५ गते (सन् १८१६ मार्च ५) बिहान मात्र लालमोहर लागेको सन्धि अक्टरलोनीलाई बुझाएको थियो।
यसरी नालापानीबाट सुरू भएर सुगौली सन्धिमा टुंगिएको डेढ वर्ष लामो लडाइँले नेपालको भौगोलिक स्वरूप नै फेरियो। हामीले ‘ग्रेटर’ नेपालको नक्सामा देख्ने भूभागको झन्डै दुईतिहाइ हिस्सा नेपालले गुमायो।
लडाइँ रोकिएको करिब एक वर्षपछि अंग्रेजले नेपालबाट लिएको कोसीदेखि राप्तीसम्मको मैदानी भूभाग नेपाललाई नै फिर्ता दिएको थियो।
त्योभन्दा पछि सन् १८५७ मा ब्रिटिस इन्डियाविरूद्ध भएको सिपाही विद्रोह दबाउन जंगबहादुर राणाले सैन्य सहयोग पठाएबापत् अंग्रेजले अनुग्रहित भएर महाकाली र राप्तीबीचको मैदानी भूभाग पनि नेपाललाई फिर्ता गर्यो। यसमा अहिलेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला पर्छन्, जसलाई ‘नयाँ मुलुक’ पनि भनिन्छ।
सुगौली सन्धिअनुरूप नै काठमाडौंमा बेलायती आवासीय प्रतिनिधिको निवास र कार्यालय राख्न लैनचौरको जग्गा खाली गरिएको मैनालीको किताबमा छ।
किताबको आखिरीमा मैनालीले लडाइँपछि नेपाली सिपाहीहरूले भोग्नुपरेको नियति वर्णन गरेका छन्।
उदाहरणका लागि —
नालापानी मोर्चामा हार भोगेका कप्तान बलभद्र कुँवर त्यसपछि भारतको पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भएका थिए। उनले रणजित सिंहकै तर्फबाट अफगानीहरूसँग लड्दा लड्दै ज्यान दिए।
त्यति बेला पञ्जाब र अफगानिस्तानबीच लडाइँ हुँदा बलभद्र पेशावरको नौशेरा (हाल पाकिस्तान) मा खटिएका थिए। यही लडाइँ क्रममा १८७९ चैत ३ गते बलभद्रको मृत्यु भएको थियो। उनीसँगै ५० जना गोर्खाली सिपाही मारिएका थिए।
बलभद्र कुँवरले लाहुरबाट आफ्ना जेठा दाजु वीरभद्र कुँवरलाई लेखेको चिठी किताबमा परेको छ। उनले चिठीमा ‘बिरानो मुलुकको चाकरी गर्नुपरेकोमा’ दुःखमनाउ गरेका छन्।
यही लडाइँमा होमिएका नेपाली सिपाहीहरूले अफगानिस्तानबाट भीमसेन थापालाई लेखेका अरू केही चिठी पनि किताबमा समावेश छन्।
उनीहरू लेख्छन्, ‘हामी भागीनासी भएकाले मालिकको नाउँ बदनाम भयो होला। एकपटक हामीलाई दया कसो नहोला भनी बस्याका छौं। यो शरीर मालिकको नुनपानीले जम्याको छ। दुई दिन चर्न कहीँ गया पनि मुलुक घर हाम्रो ताहीँ छ, परन्तु आउनु ताहीँ छ। जहाँसुकै गया पनि नुनको सोझो ताहीँको गर्नुछ। तिमीहरूले यो काम गर्नुपर्छ भन्ने हुकुम जुन बेला आउला, सो काममा हामी हाजिर हुन्छौं।’
नेपाल–अंग्रेज रणमैदानका केही महत्वपूर्ण घटनाको झलक पाएपछि हामीले मोहन मैनालीसँग ऐतिहासिक किताब लेखनको अनुभवबारे कुरा गर्यौं।
यो मैनालीको चौथो किताब हो। यसअघि उनले ‘उपल्लो थलो’, ‘मान्ठ डराएको जुग’, ‘देखेको देश’ र ‘आकाशमुखी’ जस्ता निबन्ध कृति लेखेका थिए। उनको ‘जोगीमाराका ज्यूँदाहरू’ नामक वृत्तचित्र पनि चर्चित छ।
हामीले उनलाई सोध्यौं — धेरै इतिहासकारले यो लडाइँको वर्णन गरिसकेका छन्। विदेशीहरूले पनि यसबारे थुप्रै किताब लेखेका छन्। तपाईंले किन यही विषय छान्नुभयो?
जवाफमा मैनालीले भने, ‘सुगौली सन्धिपूर्वको नेपाल–अंग्रेज लडाइँको पूर्ण विवरण दिने किताब नेपाली सन्दर्भमा लेखिएको छैन। अहिलेसम्म खण्डित इतिहास मात्र लेखिएको छ। मैले यसबारे इतिहासकार महेशराज पन्तसँग कुरा गर्दा उहाँले पनि ‘खण्डित इतिहास मात्र लेखियो’ भनेर भन्नुभएको थियो। कसैले भक्ति थापाका बारेमा लेखे, कसैले अमरसिंह थापा त कसैले बलभद्र कुँवरका बारेमा लेखे। विशुद्ध युद्धका बारेमा कसैले लेखेनन्।’
‘यस्तो खण्डित इतिहासले युद्धको पूर्ण चित्र दिँदैन। हामीले नालापानी लडाइँबारे थाहा पाउन त्यति बेला पाल्पामा खटिएका सैनिकहरूले के सोचेका रहेछन् भन्ने पनि बुझ्नुपर्छ। अर्को ठाउँको कमान्डरको मनोदशा बुझेपछि बल्ल पूर्ण चित्र सामुन्ने आउँछ,’ मैनालीले अगाडि भने, ‘मैले लडाइँका क्रममा लेखिएका चिठीपत्र भेटेसम्म अध्ययन गरेर यो किताब लेखेको हुँ। त्यसैले यसमा पूर्वदेखि पश्चिमसम्मका विभिन्न किल्लामा खटिएका नेपाली सिपाहीहरूको मनोदशा प्रस्ट झल्किएको छ भन्ने मलाई लाग्छ।’
दोस्रो, विगतमा लेखिएका इतिहास सिपाहीका चिठीपत्रमा आधारित थिएनन्। त्यसमा आंशिक रूपमा भए पनि लेखकको कल्पना मिसिएको थियो र आजको आग्रह वा पूर्वाग्रहले त्यति बेलाको घटना मूल्यांकन गरिएको थियो भन्ने मैनालीलाई लाग्छ।
‘कल्पना र आग्रह–पूर्वाग्रह मिसिएको इतिहासले सत्य बोल्दैन,’ उनले भने, ‘मैले युद्धभूमिबाट सिपाहीहरूले लेखेका चिठीपत्रका आधारमा त्यो लडाइँलाई फर्केर हेरेको छु र जे जे घटना जसरी भएको थियो, त्यसरी नै चित्रण गरेको छु।’
तेस्रो कुरा, लडाइँको कथा एक समूहको वृत्तान्तले मात्र पूर्ण हुँदैन। अंग्रेजहरूले जे–जति किताब लेखे, ती सबै अंग्रेज सिपाहीहरूको अनुभवका आधारमा लेखियो। त्यसमा उनीहरूले आफ्नो दृष्टिकोण लेखे। घटनालाई आफ्नो आँखाबाट मात्र हेरे। उनीहरूले नेपाली पक्षको कुरा लेखेनन्।
‘दुई पक्ष भिड्ने लडाइँमा एउटा पक्षको मात्र वर्णनलाई हामीले कसरी पूर्ण मान्ने? त्यसले त आधा मात्र लडाइँ चित्रण गर्ने भयो,’ उनले भने, ‘मैले किताबमा दुवै पक्षको कुरा उतारेको छु। नेपालीहरूले कसरी लडे र अंग्रेजहरूले कसरी लडे? नेपालीहरूको विवरण के थियो र अंग्रेजहरूको विवरण के थियो? दुवैलाई जस्ताको तस्तै उतारेको छु। र, दुवै पक्षको दृष्टिकोण बुझ्ने प्रयास गरेको छु।’
‘अंग्रेजहरूले अहिलेसम्म लेखेका किताबहरूले नछोएको पाटो मैले छोएको छु,’ मैनालीले भने।
हामीले उनलाई यो पनि सोधेका थियौं — सिपाहीले लेखेका चिठीपत्र पढ्दै जाँदा तपाईंले व्यक्तिगत रूपमा त्यो लडाइँलाई कसरी हेर्नुभयो त?
मैनालीले नालापानी किल्लाबाट लेखिएको चिठीपत्र पढ्दा आफू व्यक्तिगत रूपमा निकै बिथोलिएको बताए।
‘नालापानीको अन्तिम लडाइँ साह्रै हृदयविदारक देखिन्छ,’ उनले भने, ‘त्यो युद्धमा नेपालीहरूले भाला, ढुंगा, बाँसजस्ता सामान्य हतियारले नै अंग्रेजहरूको तोपसँग सामना गरेका थिए। यसका बाबजुद अंग्रेजतर्फ ठूलो क्षति गराउन सफल भए। नालापानी किल्लामा नेपालीहरू जसरी मारिएको वर्णन चिठीपत्रमा पाइयो, त्यो पढ्दा हृदय चिराचिरा हुन्छ।’
उनले यो पनि भने, ‘अंग्रेजहरूले विगतमा अन्य लडाइँको वर्णन गर्दा नेपालीहरूलाई ‘बर्बर’ भनेका छन्। तर यो लडाइँमा त्यस्तो बर्बरता मैले दुवैतर्फ देखिनँ। दुवै तर्फको फौजले एकअर्काका घाइते सिपाहीलाई राम्रो व्यवहार गरेका छन्। सिपाहीका शव स–सम्मान फिर्ता गरेका छन्। घाइतेहरूको पनि ओखतीमुलो गरेका छन्। यसबाट लडाइँको मैदानमा पनि मानवीय व्यवहार गरिएको देखिन्छ।’
यति हुँदाहुँदै १८७२ वैशाख २२ गते नेपाली कमान्डर कीर्ति रानालाई बन्दी बनाइएपछि ‘मारौं कि के गरौं’ भनेर सोधिनुले आफूलाई धेरै दिनसम्म मुटुमा घन हानेजस्तो अनुभव भएको मैनालीले बताए।
‘त्यो एउटा घटनाले मलाई साह्रै दुःख लाग्यो,’ उनले भने, ‘जतिसुकै मानवीय व्यवहार गरिए पनि युद्ध आखिर युद्ध नै हुँदो रहेछ!’
एउटा कुराले भने मैनालीलाई चकित पारेको छ —
अंग्रेजहरूको दाँजोमा स्रोत–साधन कम भएका, संख्या पनि कम भएका, भनेका बेला खाद्यान्न, हातहतियार र पारिश्रमिकसमेत नपाउने नेपाली सिपाहीहरूले कुन मनोबलले त्यत्रो लडाइँ लडे होलान्!
‘त्यो बेला अंग्रेजहरूको कति ठूलो शक्ति थियो भन्ने नेपालीलाई राम्ररी थाहा थियो। उनीहरूको तोपका अगाडि आफ्नो तरबार केही होइन भन्ने पनि नेपालीलाई राम्ररी थाहा थियो। उनीहरू नियमित तलब र थुप्रै सुविधासहित युद्धभूमिमा लड्दै थिए। नेपाली सिपाहीहरूसँग भने स्थायी नियुक्ति पनि थिएन। धेरै त भाडाका ढाक्य्रा थिए, जो सधैं युद्धमा होमिनेवाला थिएनन्। नेपाली सिपाहीलाई आफ्नो मृत्युपछि परिवार र सन्तानको बिचल्ली हुनसक्छ भन्ने पनि थाहा थियो। सरकारले आश्वासन त दिन्थ्यो, तर त्यो आश्वासन पूरा होला भन्ने भर थिएन। यी सब थाहा हुँदाहुँदै नेपालीहरू कुन मनोबलले युद्धभूमिमा होमिए होलान्? कुन मनोबलले ज्यान फाल्न तयार भए होलान्?’ मैनालीले भने।
यी प्रश्नले मैनालीलाई अहिलेसम्म घच्घच्याइरहन्छ।
किताबमा एउटा प्रसंग छ —
१८७२ वैशाख २२ गते नेपाली कमान्डर कीर्ति राना र उनको फौजलाई बन्दी बनाइएको थियो।
त्यति बेला स्कटिस लेखक तथा कलाकार जेम्स बेइली फ्रेजर (सन् १७८३–१८५६) ले कीर्तिको टोलीका केही मानिसलाई भेट्ने मौका पाएका थिए।
यही भेट क्रममा फ्रेजर कीर्तिसँगै बन्दी बनाइएका एक जना भारदारलाई सोध्छन्, ‘सन्धि भयो र घर फर्किन पायौ भने आफ्नो घर जान्छौ?’
ती भारदारको जवाफ छ, ‘अहँ, म घर जान्नँ। मैले अन्त कतै नोकरी खोज्नुपर्छ। म राजाका अगाडि मुख देखाउन लायक छैन। मैले राजाको नुन खाएको छु। उनले मलाई विश्वास गरेका थिए, तर मैले विश्वासघात गरेँ, आफ्नै किल्लामा लडेर ज्यान दिइनँ।’
फ्रेजर सोध्छन्, ‘तिमी मर्दा तिम्रो उद्देश्य पूरा हुँदैनथ्यो भने तिमीले बेकारमा किन ज्यान फाल्नू?’
जवाफमा ती भारदार भन्छन्, ‘हामीले कुनै हालतमा आफ्नो किल्ला छाड्न हुँदैनथ्यो। किल्ला छाडेर भाग्नुभन्दा त्यहीँ मर्नु जाती हुन्थ्यो। अब हामी आफ्नो देश फर्कन योग्य छैनौं।’
उनको यस्तो जवाफ सुनेर त्यहाँ रहेका सबै सुबेदार र कमान्डरले एकै स्वरमा टाउको हल्लाउँदै भनेका थिए, ‘हामी फर्कन योग्य छैनौं।’
उनीहरूको यस्तो कुराले फ्रेजर छक्क परेका थिए। उनले भनेका थिए —
‘उनीहरू बन्दी थिए, उनीहरूले आफ्नो सर्वस्व गुमाएका थिए। उनीहरू क्रूर र विश्वासघाती वैरीका फेला परेका थिए। उनीहरू आफ्नो इच्छा व्यक्त गर्न सक्दैनथे, तर उनीहरूले विलाप वा गुनासो गरेको सुनिएन। उनीहरूमा सन्तुष्टि र हृदयको चमक छाएझैं देखिन्थ्यो।’
‘यी मानिसमा उच्च तहको र चाहिनेभन्दा बढी कर्तव्यपरायणता छ। हेर्दा झुत्रेझाम्रे शरीर भएका यी मानिस आफ्नो शारीरिक अवस्थाको ठिक उल्टा असाधारण विचार व्यक्त गर्छन्। बनावटी वा देखावटी पाराले होइन, यसै सहज ढंगले। सदाझैं, आफ्ना मनका सरल विचार।’
***