युवा पुस्ताकी अत्यन्तै सक्रिय स्रष्टा अनिता कोइराला। विभिन्न पत्रपत्रिकामा प्रकाशित फुटकर लेख, रचनाबाट उनले आफूलाई चिनाइसकेकी छन्।
उनले आर्जन गरेको पाठक प्रियता उतिकै लोभलाग्दो छ। कथा, कविता, निबन्ध, समीक्षा जस्ता विधामा उनले कलम चलाउँदै आएकी छन्।
सकारात्मक चेत भएकी साहित्यकार कोइरालाको हालसालै प्रकाशित उपन्यास 'उजयालो औंसी' ले यतिखेर सामाजिक सञ्जालमा धेरै माया पाएको छ। लाग्छ यति धेरै माया पाउन भाग्यमै लेखिनु पर्छ। तर होइन यो त उनको कलमले आर्जन गरेको लोकप्रियता हो। सूचना प्रवाहसँगै उनका पाठकले देखाएको उत्साह साँच्चि नै उदाहरणीय छ।
उच्च काल्पनिकता र त्यस्तै उच्च संवेदना भएकी साहित्यकार कोइरालाको ‘उज्यालो औँसी’ लेखिनुको अभिप्राय बडो मार्मिक छ, कारूणिक छ, संवेदनशील छ। त्यो कुरा उनको रचना गर्भले बताएको छ।
विम्बात्म, विरोधाभासी अर्थ दिने कृति शीर्षक आफैमा अर्थपूर्ण छ। हाम्रो बुझाइ छ औंसी भनेपछि त कालो रात हुनुपर्ने होइन? तर लेखकले औंसी पनि उज्यालो हुन्छ भनेर— आजसम्म कसैलाई थाहा नभएको कुरा उनले बताएकी छन्। कृति शीर्षक आफैमा एउटा आविष्कार जस्तो लाग्छ। अँध्यारोमा पनि उज्यालो देख्ने उनको दृष्टि महान छ।
जीवनीपरक वर्णनमा रचिएको आख्यान आध्यात्मिक चेतले निर्मित छ। स्वयं लेखकले भोगेका घटना र परिकल्पनामा आख्यानले मूर्तता पाएको छ। पैंतालीस वर्षअघि साहित्यकार कोइराला एक महिनाकी भ्रुण हुँदा उनका पिताको हत्या हुन्छ। त्यही भ्रुणकालबाट उपन्यासको सुरूआत हुन्छ। त्यही भ्रुण विस्तारित भई ‘उज्यालो औंसी’को रूप लिएको छ। विविधतापूर्ण थिम अभिव्यञ्जित कृतिले तत्कालीन समाजको एउटा डरलाग्दो दृश्य स्केच गरेको छ।
विशेषतः भ्रष्ट राजनीतिले सिर्जना गरेको अमैत्रीपूर्ण, असहिष्णु वातावरण तथा अमानवताले भयभीत समाजको चित्र दर्दपूर्ण छ। लेखकका समाजसेवी पिता त्यही अमानवताको भूमरीमा पिसिन्छन्। वीभत्स तरिकाले उनको जीवनको अन्त्य हुन्छ।
अतीत र वर्तमानको संयोजन गरिएको कृति। भिमान, जनकपुर हुँदै काठमाडौंसम्मको परिवेशमा मञ्चित कथानक। कालखण्ड लामो छ । घटना परिघटना धेरै छन्। आरम्भिक चरणको दुःख, कष्ट, पीडा, अवसाद अन्ततः समाप्त भई प्रमुख पात्र अनुको जीवन सुखमा टुङ्गिएको छ। उज्यालोमा टुङ्गिएको छ। काठमाडौंबाट उच्च शिक्षा लिएर ऊ भिमान फर्किन्छे अर्थात् आफ्नै गाउँ फर्किन्छे समाजसेवा गर्न। आफ्ना पिताको समाजसेवी इतिहासबाट ऊ अभिप्रेरित छे।
उपन्यासमा अनुको पारिवारिक अवस्था, उसको लालपालन, शिक्षादीक्षा, प्रेम तथा यौवन अनि समाजका विकृति, विसङ्गति तथा कुरूप राजनीतिका विषय प्रमुख छन्। त्यसमा केही उपविषय आइरहन्छन्। परिवेश र घटनालाई जीवन्तता दिन त्यसै अनुकूलका पात्रहरू चयन छन्।
सकारात्कताको प्रभाव छोड्न रचिएको कृति ‘उज्यालो औँसी’ ले विशेषतः मनको अवस्थालाई देखाएको छ। देखिनेभन्दा नदेखिने सत्यलाई अभिव्यक्त गर्न खोजेको छ। व्यक्ति स्वयंभित्रको उज्यालोलाई देखाउने प्रयास गरेको छ। लिङ्गीय विभेद भोगेर पनि प्रस्तुत कृतिका नारी पात्र पुरूषभन्दा ज्यादा सशक्त छन्। प्रखर छन्, दृढ छन्। पुरूष सरह जिम्मेवारी बहन गरेका ती पात्रले घर परिवार र समाजमा आफ्नो अस्तित्व कायम गर्न सकेका छन्। पितृसत्तात्मक समाजमा अपहेलना र चरम विभेद भोगेका नारीलाई सशक्तीकरण गर्नु पनि कृतिको तात्पर्य रहेको छ। त्यस्तै अरू धेरै तात्पर्यहरू रहेका छन्।
लेखकको कल्पना शक्ति अद्भुत छ। भ्रुणमा विराट चेतना भरेर, बाह्य जगत्को यथार्थता बोध गर्न लगाइएको छ। एकछिन पछि के हुँदैछ ? भ्रुणलाई त्यो सब थाहा छ। ऊ सम्भावित सङ्कट टार्न बाहिर जान लागेका आफ्ना पितालाई रोक्न खोज्छ। तर उसको कुरा कसैले बुझ्दैन। यस घटनामा अष्टवक्रको स्मरण हुन्छ। उनले गर्भमै आफ्ना पिताका अज्ञानतालाई सच्याएका थिए भनिन्छ। त्यस्तै अभिमन्यूले गर्भमै युद्ध कुशलता आर्जन गरी महाभारत युद्ध लडे भनिन्छ।
भ्रुणको क्रन्दनबाट सुरू भएको ‘उज्यालो औँसी’मा कति पाठकलाई अगाडि बढ्न कठिन हुन्छ। किनकि भ्रुणले भोगेको रोदन, क्रन्दन बडो कारुणिक छ। मनलाई विदीर्ण पार्ने विषादयुक्त चित्कार असह्य छ। विक्षिप्त भ्रुण हुर्किंदै जान्छ। यस कथालाई विज्ञानको दृष्टिले पनि अध्ययन गर्न सकिन्छ। गर्भको शिशुलाई बाह्य वातावरणले कस्तो असर गर्छ? पीडा वेदनाले विषाक्त भएकी आमाको—उसलाई कस्तो प्रभाव पर्छ? यस्ता कुरालाई लिएर भ्रुण मनोविज्ञानको अवधारणाले पनि उक्त आख्यानलाई विश्लेषण गर्न सकिन्छ।
युद्ध, आतङ्क, भय, त्रास सहेको भ्रुण गर्भमै पिताको अभाव महसुस गर्न थाल्छ। जन्मिनु अघि नै उपेक्षित भ्रुण जन्मिएपछि झन् बढी उपेक्षित हुन्छ। छोरी भएर जन्मिएकै कारण त्यसरी उपेक्षित हुनु परेको छ। उसलाई ‘बाबु टोकुवा’, ‘अलञ्छिना’ यस्तै केके विशेषण लगाइन्छ। पुरूष प्रधान समाजमा छोरी भएर जन्मिनुको पीडा कति अभिशप्त छ? कृतिमा त्यो कुरा अनुमान गर्न सकिन्छ।
म्याजिक रियालिजम् र यथार्थवादको सङ्घारमा निर्मित ‘उज्यालो औँसी’मा सत्यता छुट्याउन नसक्ने गरी पाठक झुक्किन्छ। ती घटना सत्य हुन् जस्तो पनि लाग्छ सत्य होइनन् जस्तो पनि लाग्छ। विक्षिप्तता भोग्दै ठूली भएकी अनु पात्रको जीवन कस्तो हुने होला ? यस्तो नमीठो उत्सुकताले अधैर्य बनाउँछ। बालमनोविज्ञानका दृष्टिले प्रस्तुत उपन्यास एकदम मार्मिक लाग्छ। अभिघात सिद्धान्तका दृष्टिले पनि कृति उतिकै संवेदनशील छ। यसले तत्कालीन समयको राजनीतिक, सामाजिक अवस्थालाई विशेष ध्यान दिएको छ।
कृतिको आधा भाग पढ्दासम्म अनु पात्रको मलाई एकदम चिन्ता लागेको थियो। उसको जीवन बर्बाद नहोस् मनमा एउटा व्यग्रता थियो। स्कुलको पढाइ सकेर—उच्च शिक्षाका लागि जनकपुर गएपछि उसको जीवनमा ठूलो परिवर्तन आउँछ। सहरिया अर्थात् बाह्य जगतले उसलाई धेरै थोक सिकाउँछ। आश्चर्य, हर्ष, उत्सुकता, लघुता मिश्रित जीवनसँग ऊ सङ्घर्ष गर्न थाल्छे। असल गुरुको पथ–प्रदर्शनले उसमा अस्तित्व चेत जागृत हुन्छ। तब उज्ज्वल भविष्य बनाउन ऊ लगनशील हुन्छे।
अनु बडो सुधी छे। कतिसम्म कि सुधी भने नि उसको नाउँमा आएको अज्ञात प्रेम पत्र—पढ्दै नपढी ऊ गुरुलाई दिन्छे। उमेरसँगै फक्राउँदो उसको यौवनमा केटाहरूको आँखा लाग्न थाल्छ। उसलाई प्रेमको अनुभूत हुन थाल्छ। उसको मनमा एउटा प्रेमीले बास गरेको छ। तथापि प्रेममा ऊ भुल्दिनँ। भविष्य बनाउने लयमा व्यस्त हुन्छे। काठमाडौंसम्म आइपुग्छे। यसबीचमा ससाना घटना घटिरहन्छ। ती प्रत्येक घटनाले केही न केही प्रभाव छोडेका छन् अर्थात् केही न केही आशय अभिव्यञ्जित छन् ती घटनाहरू।
अन्ततः आख्यान नाटकीय शैलीमा टुङ्गिन्छ। अनुको छवि उज्यालो भई कथाको अन्त हुन्छ। ग्राम्य तथा सहरिया परिवेशमा रचिएको ‘उज्यालो औँसी’का कतिपय पात्र अनुकै घर परिवारका सदस्य छन्। घरमा काम गर्ने कामदारहरू छन्। छरछिमेका शत्रु, मित्रु दुवैतर्फका चरित्रहरू मञ्चित छन्। स्कुल कलेजका गुरूदेखि लिएर साथी भाइ, प्रेमी प्रेमिका लगायतका चरित्रहरू धेरै छन्। आग्रह पूर्वाग्रहदेखि माथि उठेकी लेखक ती पात्रप्रति तटस्थ छिन्।
संस्मरणात्मक शैलीमा रचिएको ‘उज्यालो औँसी’—स्रष्टाको पहिलो कृति, आख्यान लेखनको पहिलो प्रयास हुँदा यसमा केही रिक्तता छ। कृति पठनमा केही अपुग भएको, केही अधुरो भएको महसुस पाठकले गर्न सक्छ। परिष्कार तथा परिमार्जन यो दीर्घ साधनाले प्राप्त हुने कुरा हो। साधना गर्दै जाँदा कला प्रस्तुति खारिँदै जानेछ। परिष्कृत हुँदै जानेछ। प्रथम प्रयासमा जे जस्तो कृति बनेको छ—त्यो स्वागतयोग्य छ।
समग्रतामा कृति पठनीय छ। पहिलो लेखनमै यति आकर्षक उपन्यास रचना गर्न सफल स्रष्टालाई हार्दिक बधाई तथा शुभकामना छ।