सेतोपाटीमा मैले जीवन क्षेत्रीलाई नचिन्दैदेखि पढिरहन्थे। यसको मतलब म अहिले उहाँलाई चिन्छु भन्न खोजेको चाहिँ हैन। आज पर्यन्त उहाँसँग मेरो व्यक्तिगत चिनापर्ची छैन। पछि उहाँलाई अन्य अनलाइन तथा प्रिन्ट मिडियामा समेत सघन रूपमा भेट्टाउन थालेपछि खोजी खोजी पछ्याउँदै जाँदा उहाँले नचिने पनि मैले भने राम्रै चिन्न थालेको छु आजभोलि। नुन–तेलमा उहाँसँग नमिसिँदै मैले उहाँलाई चिन्नुको पछाडि दुई तीन वटा कारण छन्।
पहिलो हो उहाँको जलवायु परिवर्तनका बारेको गम्भीर चासो अनि वातावरण संरक्षणका समसामयिक सवालहरूमा उहाँको दरिलो र सशक्त लेखन कार्य जुन उहाँले अभियानकै रूपमा विभिन्न फोरमहरूमा उठाइरहनु भएको छ।
आफ्नो व्यक्तिगत वेब पेज वा ब्लग पनि चलाइरहनु भएको छ सायद।
दोस्रो उहाँ एक चिकित्सक हुनुहुन्छ र मेरो वर्तमान कार्यक्षेत्र रहेको चितवनमै उहाँको पनि कर्मथलो अनि हालको वासस्थान रहेको कुरा मलाई अवगत भइसकेको छ।
तेस्रो तर महत्त्वपूर्ण कुरा भनेको उहाँ जुन स्थानमा जन्मेर हुर्कंदै आफ्नो बालापनका स्वर्णिम समयहरू बिताउनुभयो त्यो स्थान मेरो पनि जन्मथलो हो। हो म पनि बागलुङको त्यही सेरोफेरोमा उहाँभन्दा एकाद् वर्ष पछाडि जन्मिएर वालवयका सात वटा वसन्तहरू व्यतित गरेको थिएँ।
विभिन्न माध्यमबाट परिचित हुँदै गर्दा उहाँको 'नुन-तेल' बजारमा आयो। उहाँका छोटा तर चोटिला लेखाइबाट प्रभावित हुँदै गरेको किताबको पारखी मैले नुन तेल आएपछि त्यसलाई किनेर नपढ्ने कुरै भएन।
करिब दुई बसाइमा पढिसकें पछि उहाँ त मलाई सानोमा सँगै खेलेको दामली जस्तो लाग्न थाल्यो। नुन तेलमा उहाँले भनेअनुसार उहाँका आफन्तहरू समेत बसाइ सरेको बारा जिल्लाको सिमरामा मेरो बुवा पनि बसाइ सरी नगएको भए सायद हाम्रो भेट उतिबेलै हुने थियो।
बाल्यकालका समानता
एउटै समयमा जन्मी हुर्केका प्राय: सबैको बाल्यकालको अनुभव उस्तै-उस्तै खालको हुने नै भयो। ठाउँ विशेष तथा वर्ग विशेष अनुसार रितिरिवाज चालचलनमा केही फरकपना भने हुन सक्ला। तर डा. साब र मेरो बाल्यकालका भोगाइहरू उस्तै थिए भन्ने कुरा नुन-तेलबाट छर्लंग हुन्छन्।
मेरो र उहाँको गाउँ दूरीका हिसाबले करिब ३ वा ४ किमीको मात्र फरकमा हुनुपर्छ। त्यसमाथि उहाँका र मेरा बाल्यकालका केही संयोगहरू यस्ता रहेछन् यदि नुन-तेल एउटा अनुभव र नियात्राको यथार्थपरक कृति नभई कथानक वा काल्पनिक हुन्थ्यो भने त्यो म, मेरा आफन्तजन, र मेरो समुदायको विषयलाई लिएर लेखिएको कथा हुने थियो।
उहाँको बुवाले लाहुर गएर फर्किएपछि उहाँको गाउँको नजिकै रहेको रुम्टा भन्ने सानो बजारमा पसल चलाएर परिवारको गुजारा चलाए जस्तै मेरो बुवाले पनि आफ्ना दाजुहरू लाहुर गएपछि खेती किसानीका अलावा रुम्टाभन्दा केही ठूलो कुश्मीसेरा बजारमा चिया तथा किराना पसल चलाएर परिवार पाल्नु भएको थियो। जुन टार भन्ने हाम्रो गाउँबाट नजिक रहेको बजार थियो।
मलाई लाग्छ रुम्टाको बाटो हुँदै बुवाको मामाघर लाम्सु जाँदा उहाँको बुवा र मेरो बुवाको चिनजान वा देखा देख वा आँखा आँखा जुध्ने काम धेरै पटक भएको हुनुपर्छ।
उहाँलाई पहिले पहिले नुन तेल बोक्न थाकखोला वा बटौली गएको कुरा बुवा आमा र बोईहरूले भने जस्तै हामीलाई पनि त्यस्तै भोगाइका कथाहरू बुवा र हजुरआमाहरूले सुनाउनु हुन्थ्यो।
उहाँको बुवालाई जस्तै मेरो बुवालाई पनि आफूहरूले चाहेर पनि हासिल गर्न नसकेको शिक्षा दिक्षा आफ्ना सन्तानलाई भने उच्च तहसम्म दिलाउनुपर्छ भन्ने मनैदेखिको चाहना रहेको कुरा आज पनि गर्वका साथ भन्नुहुन्छ।
राजनीतिको विषय जुन नुन तेलमा उठाउनु भएको छ लेखकले मेरो बुवा पनि गाउँको एकमात्र कम्युनिष्टको छवि बनाएर उहाँले भनेकै शैलीमा होमिएको कार्यकर्ता हुनुहुन्थ्यो।
गाउँघरका सामाजिक कार्यमा पनि उहाँको बुवा जस्तै मेरो बुवा पनि सबैको प्रिय पात्र हुनुहुन्थ्यो भन्ने कुरा गाउँलेहरूले हामीलाई आजका दिनमा पनि सुनाउँछन्।
सात वर्षको बालापनमा मैले स्पष्ट सम्झिने थोरै कुराहरू मात्र छन् जुन धमिला भैसकेका थिए। नुन तेलले ती यादहरूलाई पुन ताजा र गाढा बनाइदिएका छन्।
यो मानेमा मैले लेखकलाई मुरी मुरी धन्यावाद दिनै पर्छ। आँखाबाट धमिलो पर्दा हटाइदिएकोमा। मलाई मेरो बाल्यकाल सम्झाइदिएकोमा।
नुन तेलले उहाँसँग अझ आत्मीय बनाउनुको पछाडिको अर्को कारण हो उहाँका केही गाउँलेहरू।
जो बसाइ सरेर तराई झरेपछि हामीहरू बसोबास गरेकै ठाउँमा आजसम्म पनि बसिरहेका छौं। छिमेकी बनेर। यसरी नुन तेलमा वर्णन गरिएका पात्र, प्रवृत्ति र प्रसँगहरू उहाँका पहिलेका र हाम्रा अहिलेका साझा छिमेकीहरूसँग कुनै न कुनै रूपमा जोडिने भएका कारणले नयाँ लाग्दैनन् मलाई।
जुन एउटा पाठकको रूपमा पढिरहँदा आनन्दानुभूति गराउने विषय बन्दो रहेछ भन्ने कुराको आभाष मलाई नुन तेलले दिलायो।
कस्तो छ त ‘पुस्तक’ नुन तेल?
आफूसँग जोडिएको जस्तो लागेका केही कुरा गरेपछि अब पुस्तकको बारेमा पनि थोरै चर्चा गर्न मन लाग्यो। सानो लेखनमा जतिसुकै कलम चलाएको भए पनि लामो लेखाइ लेख्न एक खालको हिम्मत चाहिन्छ नै। त्यो जुटाउन धेरैलाई हम्मे हम्मे पर्छ। जीवन क्षेत्री जस्ता समयको अत्यन्तै अभाव हुने चिकित्सा पेशामा लागेका व्यक्तिहरूलाई निरन्तर कलम चलाइरहनु चानचुने कुरा होइन। तर उहाँ त्यस्ता केही सीमित डाक्टरहरूमा पर्नु हुन्छ जो लेखिरहनुहुन्छ। यसै बीचमा उहाँको पहिलो कृति आएको छ नुन-तेल शीर्षकमा।
पुस्तक मध्यम आकारको पठनीय छ। जसमा लेखक आफैंले कुनै समयमा गरेको यात्राको वर्णन गरेका छन्। यस पुस्तकमा आफ्ना पुर्खाहरूले हिजोका दिनमा दैनिक उपभोग्य वस्तु नुन र तेललाई भान्सासम्म भित्राउनका लागि गरेको संघर्षलाई उतार्ने जमर्को गरिएको छ। खासगरी यातायातका पूर्वाधार तथा माध्यमहरूको अभाव हुने तत्कालीन समयमा कसरी लामो तथा जोखिमपूर्ण यात्रा तय गरी अग्रजहरूले जीवनयापनका आधारभूत आवश्यकता परिपूर्ति गर्थे भन्ने विषयमा लेखकको चासो देखिन्छ।
बाग्लुङको कुनै एउटा दक्षिणी गाउँदेखि सुरू गरेर चार दिनसम्म निरन्तर यात्रा गरी गुल्मी र पाल्पा जिल्ला पार गर्दै बुटवल पुग्दा लेखकले पहिल्याउन चाहेको मेटिन आँटिसकेको त्यो मार्ग वा बाटोको डोबहो जो उनका पुर्खाले विगतमा हरसाल नुन र मट्टितेल लिन जाँदा हिँड्ने गर्थे।
गज्जबको वर्णन शैली र अब्बल दर्जाको लेखनी रहेको यस कृतिभित्र लेखकको बहुविषयको विज्ञता स्पष्ट रूपमा देख्न सकिन्छ। गहिरो अध्ययन र अनुसन्धानबिना यस प्रकारको लेखाइ सम्भव नै हुँदैन।
पुस्तकभित्र लेखिएको पृथ्वीको उत्पत्ति र जीवन जगतको विकासको सुरूआती क्षणको सरस र सरल शैलीको वर्णनले लेखकको विज्ञान विषयको बुझाइको गहिराइलाई उजागर गर्छ।
त्यसैगरी बर्माको प्रसंग अनि द्वितीय विश्व युद्धमा जापानले आक्रमण गरिसकेपछिको त्यहाँको कारूणिक जनजीवनको विषयको चर्चाले लेखकलाई इतिहासका कुराहरूमा पनि गहिरो रुचि रहको बुझ्न पाठकलाई गाह्रो पर्दैन।
ठाउँ-ठाउँमा साभार गरिएका प्रख्यात विचारक तथा लेखकहरूको भनाइका किस्साहरू अस्वाभाविक, अतिशयुक्ति र अतिरञ्जित कतै पनि लाग्दैन बरू तिनले लेखकको सानलाई उँचो पार्न र लेखलाई मजबुद बनाउन थप मद्दत पुर्याएका छन् जस्तो लाग्छ मलाई।
पुस्तकमा खट्केका केही कुरा
पुस्तक पढिरहँदा मलाई केही कुरामा यति धेरै नबहकिएको भए पनि हुन्थ्यो कि? अथवा कुनै विषयमा यति विधि पूर्वाग्राही नभइदिएको भए हुन्थ्यो कि भन्ने लागेका एक दुई वटा प्रसंग छन्।
पहिलो हो लेखकको जलवायु परिवर्तन र तिनले पारेका नकारात्मक प्रभावहरूको बारेमा गहिरो चिन्ताको विषय। पुस्तकभित्र चाहे विकासका वा विनाशका हर प्रसंगमा लेखक पृथ्वीको भावी दृष्यलाई लिएर धेरै नै चिन्तित हुनुहुन्छ। हुनु पनि पर्छ। उहाँ त्यसको अभियानमा पनि लागिरहनु भएको छ। तर यो पुस्तकमा त उहाँ स्पष्ट मिसनमा हुनुहुन्छ। नुन-तेल यात्राको पहिचानमा। न कि विकास र मानवीय क्रियाकलापले वातावरणमा पारेका असरहरूको खोजी गर्ने अभियानमा।
कुनै कुनै परिवेशमा सो चिन्तालाई जोडेता पनि यात्रालाई स्वच्छन्दताको प्रतीक मान्ने भएर पनि होला हर विषयमा यति साह्रो जलवायु परिवर्तनका प्रति पूर्वाग्राही नभैदिएको भए हुन्थ्यो कि जस्तो लाग्यो मलाई।
दोस्रो उहाँको लेखाइमा पदयात्रामा देखिएका र भेटिएका स्थान विशेषको चर्चाभन्दा आफ्नो बाल्यकालका सम्झनाहरूलाई बढी प्राथमिकता दिनुभएको हो कि भन्ने भान पर्न जान्छ पाठकमा।
यात्रामा उहाँ गन्तव्यमा निर्धारित समयमा पुग्ने हतारमा त हुनुहुन्छ तर केही विशेष स्थानको बाहेक अन्य धेरै ठाउँहरूको विगतका बारेमा जान्ने सवालमा केही कञ्जुस्याइँ गर्नु भएको जस्तो लाग्छ कता कता।
बरू जुनसुकै ठाउँका किस्साहरूलाई पनि उहाँको बाल्यकालका स्मृतिमा लगेर जोडिँदा पुस्तकका केही हरफहरू विषयवस्तुभन्दा केही बहकिएको जस्तो आभाष हुन्छ। त्यसमा थोरै विचार पुर्याएको भए पनि हुने भन्ने जस्तो लागे पनि खोट लगाई हाल्न चाहिँ हुन्न जस्तो लाग्छ मलाई।
शीर्षकसँग विषयवस्तुको मिलान गर्दा मात्र यस्तो लागेको हो तर पढ्दा दिक्क वा झर्को लाग्ने त कतै पनि भएन मलाई।
अन्त्यमा
मलाई मेरो आफ्नै दाजुले हाम्रा भोगाइहरूलाई लेखेकोजस्तो लागेर नुन-तेल उत्सुकतापूर्वक पढेँ र लेखकप्रति थप अनुगृहीत भए। उहाँलाई लेखनमा राम्रो सफलता मिलोस्। यहाँका अझै उत्कृष्ट लेख तथा कृतिहरू पढ्नको लागि व्यग्रताका साथ कुरी नै रहने छु।