लेखकको सबैभन्दा ठूलो खुबी भनेकै पाठकहरूलाई अल्झाइराख्न सक्नु हो। यदि कुनै पनि लेखकले किताबको सुरूआतमै पाठकको मन जित्न सकेन वा खुल्दुली बढाउन सकेन भने त्यो किताब धेरै पाठकहरूले नपढ्ने पक्का हुन्छ।
किताबका पानाहरू सिनेमाका दृश्यहरू जस्तै चलायमान हुनुपर्छ। पाठकहरू सबै एकै प्रकारका हुँदैनन्। कुनै पाठकहरूलाई तथ्यमा आधारित विषयवस्तु मनपर्छ भने कुनै पाठकहरूलाई काल्पनिक विषयवस्तु मनपर्न सक्छ।
युवापुस्तालाई प्रेम, रोमान्स र कमिक मनपर्न सक्छ। नयाँ पाठकहरूले सिधा र सरल भाषामा लेखिएका किताबहरू मात्र पढ्न रुचाउलान्।
यी सबै कुराहरू एकैठाउँ पाउने कुरो पनि भएन। तर बिक्रम भक्त जोशीको केही महिना आगाडि प्रकाशित कथा संग्रह 'चोभार ब्लुज' माथि उल्लेख गरेका थोरै-थोरै सबैखाले विशेषताहरू बोकेको एउटा किताब हो।
यो कथा संग्रहको लेखन शैलीमा नवीनता र प्रयोगात्मक शैली त छँदैछ, लेखकले परम्परागत विषयवस्तु र कथा वाचन शैलीलाई पनि बिर्सेका छैनन्। सामाजिक यथार्थता, कानुनी बेथिती र हाम्रो समाजले चिन्न नसकेर शारीरिक तथा बौद्धिक भिन्नता भएका मान्छेहरूको दु:खद् पलायन यो कथासंग्रहका विषयवस्तु हुन्।
लेखक यस्तै कथाहरू टिप्नको लागि कहिले खुट्टाले यात्रा गर्छन् त कहिले कल्पनाले। खुट्टाले यात्रा गर्दा धर्ती छोड्ने कुरै भएन तर कल्पनाको बग्गीमा हुइँकिँदै गर्दा धर्तीको एउटा त्यान्द्रो सँगसँगै लिएर गैरहेका हुन्छन्। त्यसैले उनका फेन्टासी पढ्दै गर्दा या त उनी त्यही चोभार डाँडा वरिपरि हुन्छन्, या आफ्नै घरको कोठाभित्र।
अलिक फरकखाले कथाहरूमध्ये 'पर्खाल' धेरै लेखकहरूको नजरमा नपरेको एक सामाजिक विभेदको कथा हो। कथाको मुख्य पात्र बाङ्गे अटिजम अर्थात् शारीरिक र बौद्धिक रुपमा आम मान्छेहरूभन्दा फरक छ। समाजले उनीहरूप्रति हेर्ने दृष्टिकोणका कारण ऊ हेपिएको छ। चेपिएको छ। आफ्ना इच्छाहरूलाई दबाएर लुकेर हिँड्न बाध्य छ।
कथाले भन्छ, 'बाङ्गे लेख्न जान्दैन। जान्दो हो त लेख्थ्यो। मनको उकुसमुकुस पोख्थ्यो।'
हाम्रो समाजमा अझै पनि शारीरिक र बौद्धिकरुमा भिन्न क्षमता भएकाहरूलाई सही शिक्षा दिने व्यवस्था छैन। बाङ्गे त केवल प्रतिनिधि पात्र मात्र हो। हाम्रो समाजमा यस्ता कति पात्रहरू होलान् जसले उचित स्याहारसुसार पाउँदैनन्, शिक्षा पाउँदैनन्, जवानी देख्न पाउँदैनन्, उपभोग गर्न पाउँदैनन् र दिनहुँ हराइरहन्छन् कसैले थाहै नपाउने गरी।
'यो जात्रा अनि त्यो जात्रामा' पनि शारीरिक रुपमा फरक व्यक्तिले भोग्नु पर्ने विभेदको बारेमा कथा बुनेको छ। मैचाजस्ती मानसिक रुपमा पूर्ण विकसित अर्थात् 'डेभलपमेन्टल डिसेबल' केटीलाई फल्मांच नामक पात्रले जवानीको फाइदा लुटेर बेपत्ता हुन्छ। तर पनि ग्वाचाको मेहनतले गर्दा उनीहरूले सहज जीवन निर्वाह गरेको देखाएको छ। उनका पात्रहरू कुनै हिरोइक नभई सामान्य तर औसत मान्छेहरूको नजरमा नपरेका हुन्छन्।
'ख्याङ्क, मान्छे र कुकुर' मा लेखक नयाँ शैली प्रयोग गरेका छन्। यो कथामा अनौठो तरिकाले तीन भिन्न-भिन्न पात्रहरूको सिर्जना गर्छन। सुरूमा उनीहरूबीच कुनै कुराको पनि तादम्यता हुँदैन। पार्वतीको हठले गर्दा पैदा भएको ख्याङ्क, विकासको नाममा सडक फराकिलो बनाउने कार्यले घरबार गुमाउन पुगेको विसन्चो र रोगी भएकै कारण मालिकबाट लखेटिएको कुकुर विभिन्न दु:ख कष्ट झेल्दै जान्छन्। तर अन्त्यमा भाग्यले ठगिएका तिनै पात्रहरूलाई सुखद् अन्त्यमा पुर्याएर कथाको बिट मार्छन्।
'यात्राका अनुत्तरित प्रश्नहरू' पनि अर्को सामाजिक पर्खालको ज्वलन्त उदाहरण हो। यसमा लेखकले समाजमा भएको छोराछोरीप्रति गर्ने विभेदका कारण माइलीले जीवन गुमाउनु परको तितो यथार्थता कोट्याएका छन्।
'निलो कमिज खैरो प्यान्ट', 'अनि म विरही भए' पनि सामाजिक विभेदको बारेमा बुनिएका कथाहरू हुन्। दोश्रो कथाका मुख्य पात्र जोगी बाबा अर्थात् श्याम विश्वकर्मा कथित तल्लो जातको भएकै कारण मुनासँगको गहिरो प्रेम विछोडमा परिणत हुन्छ। मुनालाई समाजले आत्महत्या गर्न बाध्य पार्छ। श्यामले मानसिक सन्तुलन गुमाउन पुग्छ।
त्यही समाजको ढोँगीपनलाई प्रयोग गरेर उसले प्रतीकात्मक ढङ्गले जातीय विभेदको विरोध गर्छन्। अर्थात् गेरु वस्त्र धारण गरेर जोगी बन्छन्। न कसैले उसको जात सोध्छ न कसैले लात हान्छ।
त्यसैगरी 'सुनको पोको' विकासको नाममा गाउँ-गाउँमा बिना मापदण्ड बनेका बाटाहरू र यसले गर्दा वर्षेनी जाने बाढीपहिरले पार्ने अतुलनीय क्षति, राज्यको ढुकुटीलाई सुनको पोको बनाएर दलिनमा घुसार्ने पुनेजस्ता ठेकेदारहरू, यिनै ठेकेदार दलालकै कारण घरखेत र जीवन समेत गुमाउन बाध्य सन्तेहरूको कथा हो। यो कथाले वर्तमान सामाजिक बेथितीलाई छर्लङ्ग देखाएको छ।
कथा संग्रहको शीर्षक कथा 'चोभार ब्लुज' एक बेजोड फेन्टासीको प्रयोग गरेका छन् लेखकले। चोभारको सेरोफेरोमा बुनिएको यो कथामा एक पागल प्रेमीको डायरीलाई कल्पनाशीलताको प्यारासुट बनाइएको छ।
त्यस्तै 'लकडाउन फेन्टासी'मा उनले अल्ट्रा इगोको फिलोसोफीलाई पौराणिक कथाको माध्यमबाट अत्यन्त रोचक तरिकाले प्रस्तुत गरेका छन्। उनका हरेक कथाहरू भिन्न-भिन्न शैलीमा लेखिएको कारणले गर्दा पनि पाठकहरूलाई दिक्क लाग्दै लाग्दैन।
'फ्लानर फेन्टासी' घुमन्ते मान्छेका उडन्ते कुरा भने झैँ सुनिए पनि यसले काठमाडौं उपत्यकाको उत्पति गाथा निकै रोचक ढंगले भनेको छ।
'धिर्बाको विदेशयात्रा' पढ्दा लाग्छ लेखक त्यतै कतै अस्ट्रेलियाको एउटा सहरमा बस्छन् र उनी नै धिर्बाको छोरा हुन् जस्तो महसुस हुन्छ। नेवारी भाषाको प्रयोग, विदेशमा पढ्ने नेपालीहरूको लिभिङ टुगेदर र धिर्बाको विदेश बस्दाको अनुभवले भरपूर मनोरन्जन प्रदान गर्छ।
त्यस्तै 'बोसन हाइट'मा पनि लेखकले सन्तानहरूको विदेश पलाएनले गर्दा एक्लो जीवन बिताइरहेका बुढाबुढीको पीडालाई छाती नै चसक्क घोच्ने गरी पस्केका छन्।
सामाजिक विभेद र फेन्टासीका तानाबुना भित्र घुसाइएका ओजिला विषयवस्तु बाहेक माया प्रेम र रोमान्सलाई पनि यो संग्रहमा समेटेका छन्। 'सम्झी बस्छु कता कता', 'बाली बैजनी' आदि यसका उदाहरणहरू हुन्।
'बाली बैजनी' मा लेखले आफ्नो यात्रा संस्मरणभित्र काडेक (केटा पात्र) र निलु बीचको प्रेकथालाई अत्यन्त रोचक ढंगले प्रस्तुत गरेका छन्। यो कथाको पृष्ठभूमि इन्डोनेसियाको बाली रहेको छ।
राजनीतिलाई पनि छुटाएका छैनन् यो संग्रहमा लेखकले। 'म मोरिक्लब' एउटा बेजोड राजनैतिक व्यंग्य हो। अधिकांश पात्रहरू जनावरहरू भएको यो कथाले ठ्याक्कै नेपालमा देखिएको राजनीतिक प्रवृत्तिलाई चित्रित गर्दछ।
धेरैजसो कथाहरू लेखकले यात्राको क्रममा भेटेका पात्रहरूलाई टिपेर यथार्थ परिघटनालाई काल्पनिक र पौराणिक मरमसलाले स्वादिष्ट बनाएका छन्। कतिपय पाठकहरूलाई उनको कथा भन्ने शैलीले एकछिन अल्मलाउन सक्छ। पढिसकेपछि पनि फेरि किताबका पान्ना पल्टाउन बाध्य पार्न सक्छ। तर अन्ततः पाठकलाई अन्तिम कथासम्म कठालोमा समातेरै लैजान्छ।
कथा, विषयवस्तु तिनै हुन्। समाज त्यही हो। मात्र ती विषयवस्तुलाई हेर्ने त कथाको रुपमा तयार गरेर पाठकको टेबुलसम्म पुर्याउने कला फरक हो। यसैलाई नै प्रयोगात्मक शैली भनिन्छ होला। त्यहीँ कला प्रयोग गरिएको छ चोभार ब्लुजमा।
लेखकहरू सबैले नयाँ शैलीमा नै किताब लेख्छन् भन्ने पनि छैन। कतिपय लेखकहरू पुरानै शैलीमा किताब लेख्न मन पराउँछन् भने कतिपयले नयाँ शैली, भिन्न प्रस्तुती दिन मन पराउँछन्। यो संसारभरि नै चलेको चलन हो।
कुमार नगरकोटीको लेखन शैली अन्य समकालीन लेखकहरूको भन्दा भिन्न छ। अंग्रेजी भाषाको प्रयोग कमेडीको पन्च लाइनजस्तै घुसाइएको हुन्छ। उनको लेखाइ 'हु केअर्स' खालको हुन्छ।
राधा, बाली धार्मिक ग्रन्थहरूमा आधारित किताबहरू हुन्। तर लेखकहरूको कल्पना गर्न सक्ने क्षमता र भिन्न प्रस्तुतीले परम्परागत सोचाइलाई बदलिदिएको हुन्छ। धार्मिक ग्रन्थहरूले पारेको भ्रमलाई चिरेको हुन्छ। महत्वपूर्ण विषयलाई नवीन ढंगले प्रस्तुत गरिएको हुन्छ।
चोभार ब्लुजमा पनि लेखकले आफ्ना अनुभव, विचार र भावनाहरूलाई कुनै सिद्धान्तभित्र नबाँधी निर्वाद ढंगले कोरेका छन्। लेखाइमा उनी सरल तरिकाले बगेका छन्। यात्राको वर्णन गर्दैगर्दा बाटोमा भेटिएका पात्रहरूको कथा पनि सँगै बुनेका छन्।
उनले निकथा नै लेख्छु भनेर सायद लेखेनन् होला। तर अहिले आएर यसले साहित्यप्रेमीबीच निकथाको बारेमा निकै चर्चा परिचर्चा पनि भैरहेको देखिन्छ।