प्रिय विजयकुमार दाइ,
'सम्बन्धहरू' पढिभ्याएँ। 'खुसी' दोहोर्याएर नपढी मनले दिएन। फेरि पढेँ।
संयोगले म स-सानो अपरेसन गरेर ठीक हुँदै थिएँ। त्यही छुट्टीको मौका पारेर दिनभरमा खुसी आद्योपान्त पढेँ।
पढिसकेपछि केही नलेखी मनले दिएन। इमेलमा तपाईंलाई सुटुक्क लेख्दा हुन्थ्यो। तर प्रकाशित भइसकेका तपाईंका दुई किताबबारे सार्वजनिक रूपमा लेख्दा के नै फरक पर्ला र जस्तो लाग्यो। परिणाम यो खुला पत्र भयो।
'सम्बन्धहरू' तपाईंले लेखेको पुस्तक जस्तो लाग्दैन। त्यसमा तपाईं आफ्नो ट्रेडमार्क शैलीमा पाठकसित संवाद गर्नुहुन्छ। खुसी पढ्दा पनि मलाई त्यस्तै लागेको थियो तर पाठकसितको तपाईंको संवाद कला पछिल्लो किताबमा अरू केही खुड्किला चढेको छ।
विख्यात पोडकास्टर म्याल्कम ग्लाडवेल र भारतीय इतिहासकार रामचन्द्र गुहाका किताब पढ्दा पनि मैले त्यसरी नै लेखकसँग संवाद गरेको वा लेखकले आफ्ना लागि शब्दहरू वाचन गरेको महशुस गरेको थिएँ। सबै मानिसका किताब पढ्दा त्यस्तो अनुभव हुँदैन।
उसो त तपाईंका अखबारी लेख पनि संवादजस्तै हुन्थे। तर पुस्तकको जस्तो फैलावट र गहिराइ ती स्तम्भमा कहाँ!
'सम्बन्धहरू' र 'खुसी' को पठनले यसपल्ट मलाई केही कुरा बोध गरायो।
एक, लेखन मात्रै नभई राम्रो पठन पनि एउटा साधना हो। अभ्यास र संवेदनाको विकास बिना यीमध्ये कुनै पनि कर्म पूरा हुँदैन।
'खुसी' पहिलोपल्ट पढेपछि यतिका वर्षसम्म मेरो मनमा त्यो किताबका तीन कुरा मात्रै बसेका थिए।
एक, तपाईं अल्कोहलिक हुनुहुन्थ्यो तर धेरै हन्डर, ठक्कर पाएपछि त्यसबाट एक दिन मुक्ति पाउनुभयो।
दुई, तपाईंको जीवनमा रिम्पोचेहरूले ठूलो परिवर्तन ल्याइदिए। बौद्ध धर्मलाई तपाईंले जीवनको दिशा पत्ता लगाउने कम्पास बनाउनुभयो।
तीन, नेपाली मिडियाका प्रमुख प्रकाशक र सम्पादकहरूले नेपालको मिडियाकर्मबारे खुलेर तपाईंसँग बोले र त्यसलाई तपाईंले किताबमा उतार्नुभयो।
त्यसमा 'सन्तान' शीर्षकको अध्याय छ भन्ने मलाई हेक्कै रहेन। पढिसकेपछि त्यो अध्याय यसरी मेरो विस्मृतिमा गयो कि 'सम्बन्धहरू'मा तपाईंले त्यो अध्यायको चर्चा गर्दा मैले मनमनै 'हो र?' भनेँ।
कारणः म त्यतिखेर 'डिस्फंसनल' वैवाहिक सम्बन्धको दलदलमा थिएँ। वैवाहिक सम्बन्धमा तिक्तता र घर्षणबाहेक अरू पक्ष प्रधान भएको अनुभव मसँग थिएन। त्यसैले होला, सन्तान भन्ने चिज आफ्नो जीवनमा आउनेछन् भन्ने मलाई रत्तिभर विश्वास थिएन। पुस्ता फैलाउनेबाहेक सन्तानले खुसी पनि दिन्छन् भन्ने कुरा मेरो समझभन्दा बाहिर थियो।
जीवनका अरू अध्यायहरू झैं मेरो जीवनको त्यो अध्याय पनि एक दिन टुंगियो। सम्बन्धमा रहुन्जेल तिक्तता रहे पनि छुट्टिने बेला समझ र शालीनतासहित हामी छुट्टियौं।
लगत्तै मैले फेरि बिहे गरेँ। सम्बन्धहरू कति परिपूरक र मिठासपूर्ण हुन सक्छन् भन्ने मलाई त्यसपछि बोध भयो। पुराना घाउ पुरिए नै, दागहरू समेत मेटिएर गए। मानवीय सम्बन्धको यो आयाम मेरा लागि पूरै नौलो थियो।
नयाँ वैवाहिक जीवनमा मैले ती चिजहरू प्राप्त गरेँ जसको म पहिले कल्पना पनि गर्न सक्दिनँ थिएँ। त्यसको एउटा पाटो छोरा हो।
अहिले मैले खुसीमा तपाईंले लेखेको सन्तानसम्बन्धी अध्याय यसरी पढेँ, मानौं त्यो कुनै दिन मैले आफैं लेखेको होस्। अब त्यो अध्याय मेरो स्मृतिबाट कहिल्यै मेटिने छैन।
विजयकुमार दाइ, यस पटकको दुवै किताबको पठनपछि मलाई बोध भएको दोस्रो कुराः दुई कुरामा मैले तपाईंलाई उछिनेछु।
एक, मदिराका दूर्गुण मैले एउटा थोपै नचाखी थाहा पाएँ। मदिरा लोकमा प्रवेशै नगरेकाले तपाईंले झैं त्यो जादुयी पदार्थका कारण मैले हन्डर खानुपरेन। मेरो जीवनको धेरै ऊर्जा र समय बचत भयो।
सायद तपाईंको करिअर निर्माणमा मदिराले त्यति ठूलो अवरोध गरेन। तर छोरी र छोरा सानो छँदा उनीहरूसित समय बिताउन मदिराले जसरी तपाईंलाई वञ्चित गर्यो, तपाईंकै आत्मस्वीकृति अनुसार त्यो ठूलो गुमेको अवसर थियो। त्यस्तो आत्मबोधपछि तपाईंले मदिरा त्याग्नुभयो, जीवनलाई नयाँ दिशा दिनुभयो र तपाईंको परिवारले खेर गएको समयका लागि समेत क्षतिपूर्ति गर्ने मौका पायो।
विडम्बना के छ भने मदिरालोकबाट त्यसरी फर्किने तपाईंजस्ता मानिसहरू अझै पनि भारी अल्पमतमा छन्। अरू धेरै मानिसको आफ्नो र पारिवारिक जीवन अहिले पनि तहसनहस छ।
'खुसी' मा मदिरापान आफैंमा खराब होइन तर अल्कोहलिक हुनु चाहिँ खराब हो भन्ने तपाईंको मत छ। तर मेरो विचारमा मदिरापान गर्ने र नगर्ने विकल्प यदि जीवनमा छन् भने पहिलो विकल्प धेरै खराब हो, खास गरी हाम्रोजस्तो समाजमा। जहाँ अधिकांश मानिसका लागि मदिराको खर्च भनेको दैनिक जीवनका आधारभूत आवश्यकताहरूको पूर्ति गरेपछि रहने 'सरप्लस' खर्च होइन बरू आफ्नै वा परिवारका सदस्यहरूको अन्य खर्चमा सम्झौता गरेर गरिने रकमान्तर हो।
मदिराको मायावी जालमा फसिसकेपछि मात्रै सोसल ड्रिंकर, हेवी ड्रिंकर र अल्कोहलिकमध्ये कुन विकल्प रोज्ने भन्ने कुरा आउने हो। त्यता प्रवेशै नगर्नु सर्वोत्तम विकल्प हो भन्ने मेरो मत छ।
मैले तपाईंलाई उछिनेको दोस्रो काम भनेको सामाजिक सञ्जाललाई चिन्नु हो। २०१६ डिसेम्बरपछि म ट्वीटर र फेसबुकबाट अलग छु।
त्यसपछिका दिनमा पनि मैले ती सञ्जाललाई दुरदुर गरेको छैन। अहिले पनि ती सञ्जालमार्फत मेरा लेखहरू धेरै मानिससम्म पुग्छन्। एउटा डमी खाताबाट अत्यावश्यक हुँदा विभिन्न अभियानका पेजहरू चलाउने गरेको छु। कसैका बारे गुगल सर्च गर्दा ट्वीटको लिंक देखियो भने अफलाइन रहेरै त्यता पनि अवलोकन गर्छु।
तर मेरो व्यक्तित्व र कल्पनाका पखेटाका रूपमा तिनको प्रयोग ठप्प छ।
कहिलेकाहीँ बाहिरैबाट तपाईंको ट्वीटर खाता हेर्थेँ। तपाईंले अभिव्यक्त गर्न खोजेका कुरा र तपाईंले त्यसका लागि रोजेको माध्यमबीच तालमेल नमिलेजस्तो लाग्थ्यो।
तर मैले आफ्ना निर्क्यौल र धारणामाथि संशयको दृष्टि विकास गरेको अब धेरै भइसकेको छ। त्यसैले मेरा विचारमा असंगत लागेको कुरा तपाईं र अरू मानिसका विचारमा सुसंगत पो छ कि? सामाजिक सञ्जाललाई अनावश्यक 'सेन्सरी ओभरलोड' भनेर मैले निकालेको निष्कर्ष मेरा लागि मात्रै काम लाग्दो पो छ कि? अरू मानिसको मस्तिष्कले मेरोले भन्दा फरक तरिकाले पो सूचना पचाउँछ कि?
अनि सञ्जालमा हुनेहरूले त्यसका राम्रा पक्ष लिने र नराम्रा पक्षबाट टाढै बस्ने जादुमयी सीप पो विकास गरेका छन् कि? कसैको सिर्जनशीलता सामाजिक सञ्जालमा रहेका कारण बढेको पो त छ कि?
यस्तै यस्तै दुबिधाका कारण मैले तपाईंसित यसबीच आफ्नो त्यस्तो भाव साटिनँ।
'सम्बन्धहरू' मा जब तपाईंका छोरी र छोराले तपाईंलाई यस विषयमा लेखेका पत्रहरू पढेँ, त्यो मेरा लागि 'युरेका' क्षण थियो। लाग्यो- म पनि ठीकै त रहेछु नि सामाजिक सञ्जालको मूल चरित्रका बारेमा। अनि यो पनि लाग्यो- कतै सञ्जालबारे मैले निकालेका अरू निष्कर्ष पनि ठीकै पो छन् कि त?
अहिले तपाईंको नाम खोज्यो भने थाहा हुन्छ, तपाईं फेरि ट्वीटरमा सक्रिय हुनुहुन्छ। ट्वीटरको सनातनी ध्यान तानातान र हिलो छ्यापाछ्यापबाट पर बसेर साक्षीभावले त्यसलाई चलाइरहनुभएको हो भने मेरो केही भन्नु छैन। होइन भने कुनै बेला सारांशिका र सारांशले तपाईंलाई जे सल्लाह दिएका छन्, मेरो पनि त्यही सल्लाह रहन्छ।
यी दुवै किताब पढेपछि हामीजस्ता आम पाठकले निकाल्ने एउटा निष्कर्ष के हो भने बाहिर संसारलाई हेरेर निरीक्षण गरेजस्तै आफैंलाई पनि त भित्र फर्केर हेर्न सकिँदो रहेछ त।
त्यसबाहेक 'सम्बन्धहरू'मा योगिनी पात्रले जीवन र जगतबारे लामो साधनापछि बोध गरेका जस्ता कुराहरू भन्छिन्, तिनमा लुकेका पाठ र शिक्षाहरू हाम्रा लागि सहजै प्राप्य थिएनन्। यो किताबको सबभन्दा बलियो पाटो मलाई त्यही लाग्छ।
कसैले कठोर साधनापछि सिकेका पाठहरूबारे पढेर वा सुनेर के हामीले आफूलाई परिवर्तन गर्न सक्छौं? यो प्रश्न कम्तीमा पनि गौतम बुद्धका पालादेखि मानिसहरूले एकअर्कालाई सोध्दै आएका छन्।
मलाई लाग्छ, यो पुस्तक पढेपछि म थप ज्ञानी वा बुद्धिमान भएको छैन। तर जेलाई म आफ्नो बुद्धि या ज्ञान सम्झन्थेँ, त्यसलाई निरीक्षण गर्ने र त्यसमाथि प्रश्न उठाउने क्षमता चाहिँ 'सम्बन्धहरू' पढेपछि ममा बढेको जस्तो लागेको छ। जीवनमा म आफैंले गर्नुपर्ने साधनाका लागि पनि म अब अलि आतुर बनेको छु।
विजयकुमार दाइ, अबका दिनमा तपाईंका ट्वीट कम र किताब बढी पढ्न पाइयोस्। शुभकामना।
तपाईंको शुभचिन्तक भाइ।