बलिउड अभिनेता संजय मिश्रले फिल्म पैसाले नभई दिमागले चल्ने बताएका छन्। करिब २५ वर्ष अभिनय गरिसकेका संजयले अबका दर्शकले फिल्ममा नयाँ कहानी र गुणस्तर खोज्ने कुरा जोड दिँदै उक्त कुरा बताएका हुन्।
संजय भन्छन्, ‘आजकल फिल्मको बजेटले त्यति मान्यता राख्दैन। तपाईंले २०० करोड रुपैयाँ खर्च गर्नुहोस् या २ करोड रुपैयाँ, फिल्म हेर्न जानेलाई त्यो कुराको कुनै मतलब नै हुँदैन। दर्शकलाई त फिल्म राम्रो हुनुमा मात्र मतलब हुन्छ। फिल्ममा चाहे खान, कपुर या चोपडा होस्, त्यो कुराले पनि फिल्मलाई कुनै असर पार्दैन। यदि फिल्मले दर्शकको दिमागमा छाप छोड्न सक्दैन भने त्यस्तो फिल्मको कुनै काम नै छैन।’
संजयले ‘दिल से, तारे जमिन पर, गोलमाल, वेलकम’ लगायतका फिल्ममा विभिन्न भूमिका निभाएका छन्। आफू ‘मेनस्ट्रिम र अफबिट’ दुबै फिल्ममा काम गर्दा रमाउने कुरा उनी बताउँछन्। विभिन्न चरित्रमा देखिने संजयका काम दर्शकले रुचाएका छन्। ‘कमर्सियल फिल्म गर्दा मलाई टि–२० खेलेको अनुभूति हुन्छ।’ क्रिकेटको भाषामा फिल्मको परिभाषा दिदैं उनी भन्छन्, ‘यस्तै मलाई अफबिट फिल्म टेस्ट म्याच जस्तै लाग्छ। यसमा मैले एउटै पिचमा तीन दिनसम्म काम गर्नपर्ने हुन्छ।’
अभिनय गर्दा आफू को हुँ भन्ने नै बिर्सिएर फिल्मको पात्रमा भुल्ने उनी बताउँछन्। उनी भन्छन्, ‘अभिनेताको रुपमा मैले वास्तविकतामा नै म त्यो पात्र भएको भए कस्तो हुन्थेँ भन्ने कुरा सदैव ध्यान दिने गरेको छु।’
हालै उनी फिल्म ‘कवाडी हावा’को तयारीमा व्यस्त छन्। निला माधव पांडा निर्देशित यो फिल्म जलवायु परिवर्तनको विषयमा केन्द्रित छ। फिल्ममा संजयले एक ७० वर्षीय नेत्रहिन व्यक्तिको भूमिका निभाएका छन्। उनी भन्छन्, ‘कवाडी हावा’मा म प्रमुख भूमिकामा छु। त्यसैले फिल्म अगाडि बढाउने जिम्मा मेरै काँधमा छ। दुई घण्टाको फिल्ममा दर्शकको पैसा असुल होओस् भनेर मैले यो निकै मिहेनत गर्न परेको छ।’
‘कवाडी हावा’ २४ नोभेम्बरमा प्रदर्शन हुने तयारीमा छ। फिल्ममा संजयसँगै रनवीर शौरी र तिलोत्तमा शोमको पनि अभिनय छ।