नेपालको ख्यातिप्राप्त लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म जर्मनी र स्विट्जरल्याण्डका विभिन्न सहरहरूमा सांगीतिक प्रस्तुति दिने उदद्देश्य लिएर शनिवार त्यसतर्फ प्रस्थान गरेको छ।
करिब तीन साता लामो सांगीतिक यात्राको सुरुवाती जर्मनीको डुसेलडर्फ सहरबाट हुने टोलीका प्रमुख ध्रुवेशचन्द्र रेग्मीले जानकारी दिए। टोलीमा डा. ध्रुवेशचन्द्र रेग्मी सितारमा, मनोज पण्डित तवलामा र उमेश पण्डित बाँसुरीमा रहेका छन्।
सुकर्मले विगत एक दशकभन्दा लामो समयदेखि हरेक वर्षको गृष्म याममा युरोपेली सहरहरूमा आफ्नो सांगीतिक प्रस्तुती दिँदै आएको छ। जर्मनी र स्विट्जरल्याण्डका अधिकांश प्रस्तुती सांगीतिक महोत्सवसँग सम्बन्धित हुनेछन् भने केही प्रस्तुती खास सहरहरूका विशेष आग्रहमा गरिन लागिएका हुन्।
यस वर्षको कार्यक्रमबारे सुकर्म समूहका सितारवादक रेग्मीले भने, ‘हामीलाई पछिल्ला प्रस्तुती दिएका शहरहरूमा दोहोर्याउने अवसर जुट्दैछ भने नयाँ-नयाँ ठाउँहरूमा पनि प्रस्तुती दिने उत्तिकै निम्ता मिलिरहेको छ। हाम्रो संगीत सुन्ने र प्रशंसा गर्ने स्रोता दर्शकहरूको दायरा फराकिलो हुँदै गएको महसुस हुँदैछ।'
यस वर्ष सुकर्मले स्विट्जरल्याण्डको ज्यूरिच सहरस्थित बुलिङ्गर चर्चमा सार्वजनिक प्रस्तुती दिनेछ भने ज्यूरिच नजिकैको बादेन सहरका मेयरको आग्रहमा ‘टाउन फेस्टिभल’ मा सहभागी हुनेछ।
‘नेपाली पोशाकमा सजिएर राष्ट्रिय झण्डामुनि नेपालको लोक-शास्त्रीय धुनहरू विदेशी संगीत अनुरागीहरू बीच प्रस्तुत गर्दा छुट्टै गर्वको अनुभूति गर्ने गरेका छौं’, जर्मनी प्रस्थान पूर्व रेग्मीले सुनाए।
समूह आगामी भदौ १२ गते स्वदेश फर्किनेछ।