‘ठमेल बजार’ अघि नै मीना निरौला नेपाली सांगीतिक घेरामा परिचित थिइन्। विगत एक दशकदेखि ‘पलेँटी’ जस्तो संगीतको गम्भीर स्रोताको अघिल्तिर गाउँदै आएकी उनलाई ठूलो समूहले भने ‘ठमेल बजार’ बाटै चिन्यो। त्यसलगत्तै सार्वजनिक ‘काले दाइ’ पनि हिट भयो। यी दुवै गीत फिल्ममा समावेश आइटम गीत थिए।
हालै उनै मीन बेग्लै स्वादमा प्रस्तुत भएकी छन्। पुराना गीतकार चेतन कार्की संकलित तीजको झोरा गीतमा उनको स्वर सुन्न सकिन्छ।
‘मलाई बेग्लाबेग्लै खालका गीत गाउन मन थियो,’ मीनाले भनिन्, ‘एउटा सांगीतिक कार्यक्रममा चेतन कार्कीज्यूसँग भेट भयो। मैले मलाई तीज गीत गाउन रहर लागेको बताएँ। उहाँले लेखिदिनुभयो। उहाँजस्तो मान्छेको गीतबाटै मैले तीज गीतको सुरुवाती गर्न पाएँ। त्यसैले खुसी छु।’
गीतका संकलक चेतन कार्कीले चर्चित ‘तीजको रहर आयो बरी लै’ लेखेको २७ वर्षपछि तीज गीत संकलन गरेका हुन्। उनी यो गीत संकलनका लागि बाटुलेचौर, पोखराका गन्धर्व जातिलाई श्रेय जाने बताउँछन्।
गीतको एरेन्ज शिलाबहादुर मोक्तानले गरेका हुन्। समन अधिकारी निर्देशित गीतको भिडियोमा रंगकर्मी तथा अभिनेत्री दिया मास्के र पुरानो अभिनेत्री मिथिला शर्माको अभिनय देखिन्छ।
https://www.youtube.com/watch?v=hdaqzvSOzSs