पछिल्लो समय संसारभरि नै नेटफ्लिक्समा फिल्म र सिरिजहरू हेर्ने क्रम निकै बढेको छ। अन्तर्राष्ट्रिय फिल्मका नेपाली दर्शकको निम्ति पनि नेटफ्लिक्स राम्रो विकल्प बनेको छ।
अहिले नेटफ्लिक्समा रोमान्टिक कमेडीदेखि थ्रिलर, ड्रामा र क्राइमसम्मका सबै विधाका फिल्म उत्कृष्ट सूचीमा परेका छन्।
नेटफ्लिक्सले सन् २०२५ सेप्टेम्बर १५ सम्मका उत्कृष्ट १० फिल्महरूको सूची सार्वजनिक गरेको छ। यसले दर्शकहरूको स्वाद अब केवल हलिउड वा बलिउडमै सीमित छैन भन्ने देखाउँछ। धेरै दर्शकले कोरियन सिनेमादेखि जर्मन फिल्मसम्मलाई मनदेखि स्वीकार गरिरहेका छन्।
विशेष कुरा यो हो, यस सूचीमा एक भारतीय ब्लकबस्टर फिल्म पनि परेको छ, जसले हल र ओटिटी दुवैमा कमाइको नयाँ रेकर्ड बनाएको छ। यसले हलिउड र कोरियन फिल्मलाई पनि चुनौती दिएको छ।
अब हेरौं, हाल नेटफ्लिक्समा सबभन्दा बढी हेरिएका फिल्महरू कुन–कुन हुन् —
१. द रङ पेरिस (The Wrong Paris)
यो एक रमाइलो रोमान्टिक कमेडी हो। एक केटीले डेटिङ शोमा भाग लिन्छे। उसलाई के लाग्छ भने ऊ पेरिस (फ्रान्स) जाँदैछे, तर खासमा ऊ टेक्सासको पेरिस भन्ने ठाउँ पुग्छे। यो फिल्ममा हल्काफुल्का कथा र कमेडी ट्विस्टले दर्शकलाई निकै हसाउँछ।
२. के-पप डेमन हन्टर्स (KPop Demon Hunters)
यो कोरियन फिल्ममा संगीत र सुपरन्याचुरल तत्वहरूको अनौठो मिश्रण देखाइएको छ। खासगरी के-पप फ्यानहरूले यसलाई निकै मन पराइरहेका छन् र युवाहरूमाझ निकै हिट भइसकेको छ।
३. द थर्सडे मर्डर क्लब (The Thursday Murder Club)
हलिउडको यो क्राइम-कमेडी फिल्म क्रिस कोलम्बसको निर्देशनमा बनेको हो। यसमा केही रिटायर्ड मानिसहरूले क्लब बनाएर मर्डर मिस्ट्री सुल्झाउन खोज्ने कथा छ। यसको फरक कथाले दर्शकलाई बाँधेर राख्छ।
४. क्रेजी-ब्यूटिफुल (Crazy Beautiful)
यो रोमान्टिक ड्रामा फिल्म हो, जसमा गोरी केटी र अश्वेत युवकबीचको प्रेमकथा देखाइएको छ। भावनात्मक उतारचढाव र सामाजिक अवरोधमा आधारित यो कथाले दर्शकलाई गहिरो रूपमा छोइरहेको छ।
५. फल फर मी (Fall for Me)
जर्मनीको यो फिल्म शेरी होरम्यानको निर्देशनमा बनेको हो, जसको कथा स्टेफनी साइकोल्टले लेखेकी हुन्। स्वेद्जा जंग र थियो ट्रेब्सबीचको अन-स्क्रिन केमेस्ट्रीलाई निकै सराहना गरिएको छ।
६. अननोन नम्बर: द हाइ स्कूल क्याटफिश (Unknown Number: The High School Catfish)
यो फिल्मले हाई स्कुलका विद्यार्थी र अनलाइन क्याटफिसिङको रहस्यमय कथा देखाएको छ। यसको थ्रिलरले भरिएको प्लटले दर्शकलाई अलग अनुभव गराउँछ।
७. के-पप डेमन हन्टर्स – सिङ-अलङ (KPop Demon Hunters – Sing-Along)
हिट कोरियन फिल्मको यो विशेष सिङ-अलङ भर्सन खासगरी संगीतप्रेमीका लागि बनाइएको हो। यसले के-पप गीतहरूको मजा अझै बढाइदिन्छ।
८. ओसन्स ८ (Ocean's 8)
यो हलिउडको लोकप्रिय फिल्म हो। दमदार महिला स्टारकास्ट र रोमाञ्चक कथाले यसलाई फेरि नेटफ्लिक्समा हिट बनाइरहेको छ।
९. सैयारा (Saiyaara)
यो भारतीय ब्लकबस्टर फिल्म हो, जसले हलमा जबरजस्त कमाइ गरेको थियो। अहिले ओटिटीमा पनि धमाका मच्चाइरहेको छ। दर्शकले यसलाई पटक–पटक हेरेका छन्।
१०. अलङ केम ए स्पाइडर (Along Came a Spider)
सन् २००१ मा रिलिज भएको यो हलिउडको साइकोलोजिकल थ्रिलर ओटिटीमा आएपछि फेरि चर्चामा आएको छ। यसको रहस्य र रोमाञ्चले आज पनि दर्शकलाई बाँधेर राखेको छ।