शुक्रबारदेखि एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। 'माग्ने राजा', 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' र 'ताराहरू' देशभरका हलमा रिलिज भएका हुन्।
यी तीन फिल्म फरक फरक कथामा बनेका छन्। शोको सन्दर्भमा पहिलो दिन मल्टिप्लेक्स हलहरूमा 'माग्ने राजा' लाई सबभन्दा बढी शो दिइएको छ। 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' ले पनि राम्रो संख्यामा शो पाएको छ। 'ताराहरू' लाई भने तुलनात्मक रूपमा कम शो दिइएको छ।
माग्ने राजा
हाँस्य कलाकार केदार घिमिरे (माग्ने राजा) ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म हो, 'माग्ने राजा'।
मुनाल घिमिरेको निर्माण तथा ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्म कमेडी जनरामा आधारित छ। फिल्मले मनोरञ्जनका साथै एउटा सचेत नागरिकको रूपमा वर्तमान समयप्रतिको असन्तुष्टिको कथा प्रस्तुत गर्नेछ।
फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ। यसको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्।
जनै हराएको मान्छेः सम्बन्धका धागाहरू
हिमाल न्यौपानेको निर्देशनमा बनेको 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' ले कोरिया जान संघर्षरत एक युवाको कथालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गर्छ।
'पूर्णबहादुरको सारंगी' जस्तो सुपरहिट फिल्मपछि विजय बरालको मुख्य भूमिका रहेको यो वर्षको पहिलो फिल्म हो। फिल्ममा विजयसँगै केकी अधिकारी, मिरूना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी लगायत कलाकारहरूको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने छन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
ताराहरू
अभिनेता तथा निर्देशक आशान्त शर्माको निर्देशनमा बनेको 'ताराहरू' मानसिक स्वास्थ्यको संवेदनशील विषयमा आधारित छ।
नाटक 'साथी, साथी आइदेऊ न' लाई फिल्मको पर्दामा उतारिएको हो। फिल्ममा शीर्ष भूमिकामा आशान्त शर्मा स्वयं छन्। साथमा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्कालगायत कलाकारहरूको अभिनय छ।
यदि साँचो साथीहरू छन् भने तिनीहरूले उज्ज्वल भविष्यको लागि राम्रो बाटो देखाउन सक्छन् भन्ने सन्देश पनि यो फिल्मले दिन्छ।
फिल्मको निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा छन्। कथा निर्देशक शर्मा आफैंले लेखेका हुन्।