नेपाली फिल्म 'सतीदेवी' आउँदो शनिबार अर्थात साउन ३१ गते अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शन हुने भएको छ।
महिलाहरूको महान पर्व तीजको अवसर पारेर नारीहरूको सम्मानमा 'सतीदेवी' को विशेष शो गर्न लागिएको आयोजक पुष्कर पन्तले जानकारी दिए।
लामो समयदेखि अमेरिका बसोबास गर्दै आए पनि नेपाली फिल्म निर्माण, कलाकारिता तथा समाजसेवामा समेत सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड विजेता फिल्म भएकाले आफूहरूले विशेष शो गर्न लागेको बताए।
उनले भने, 'सतीदेवीको चर्चा पनि सुनेको र यस प्रकारका मौलिक अनि पारिवारिक फिल्म अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरूप विशेष शो गर्ने निर्णय गरेका हौं।'
एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म 'ठूली' का निर्माता समेत रहेका पन्त आफूहरू ‘सतीदेवी’ हेर्न आतुर रहेको बताउँछन्।
चलचित्र बिकास बोेर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान फिल्म 'सतीदेवी' ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा मलिका महत मुख्य भूमिकामा छिन्। साथमा रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतले अभिनय गरेका छन्।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको फिल्मको निर्मातामा दिलासा, सारा, श्रीदेवी र विशाल सुवेदी छन्।
भर्जिनियापछि अन्य ठाउँमा पनि 'सतीदेवी' को विशेष शो हुन लागेको निर्देशक सुवेदीले बताए।
