आशान्त शर्माको निर्देशनमा बनेको फिल्म 'ताराहरू' भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। अन्य दुई नेपाली फिल्महरू 'माग्ने राजा' र 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' सँग 'ताराहरू' पनि एकसाथ रिलिज हुन लागेको हो।
यो फिल्मको हालै नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जसमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन्। यसमा शीर्ष भूमिकामा रहेका आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ।
निर्देशक तथा अभिनेता शर्माका अनुसार 'ताराहरू' मध्यमवर्गीय परिवारको कथामा आधारित छ। विशेषतः सहरको निम्न मध्यमवर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ।
फिल्ममा आशान्त र मेनुकाका साथमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ। गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी शर्मा निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो।
यसैबीच, फिल्म 'ताराहरू' सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेटसहित प्रदर्शन अनुमति दिएको हो। योसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
फिल्मको रनटाइम २ घण्टा २९ मिनेट तय छ।