फिल्म 'रियाल रिंगेट' को प्रदर्शन स्थगित गरिएको छ।
गत शुक्रबार रिलिज फिल्मलाई सोमबारदेखि नेपालभरका सबै हलहरूमा प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको हो।
निर्माण ब्यानर रेबेल फिल्मस् प्रा.लिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यो निर्णयबारे जानकारी दिएको हो।
विज्ञप्तिमा फिल्मलाई उचित समयमा शो नदिइकन मात्र अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको कारण दर्शकसामु प्रभावकारी ढंगले प्रस्तुत गर्न नसकिएकोले प्रदर्शन स्थगित गरिएको जनाइएको छ।
'लामो परिश्रम, मेहनत र लगानीपछि तयार पारिएको फिल्मलाई सिनेमा हलहरूले उचित समयमा शो नदिइ, केवल अप्रभावकारी समयमा मात्र प्रदर्शन उपलब्ध गराएको कारण आम दर्शकसम्म फिल्म पुग्न सकेको छैन। यस परिस्थितिमा हामी बाध्य भएर यो निर्णय लिनुपरेको हो,' विज्ञप्तीमा उल्लेख छ।
यस निर्णयबाट उत्पन्न असुविधाप्रति निर्माताले दर्शक वर्गसामु क्षमा समेत मागेका छन्।
विभोर पोखरेलको निर्देशन, गगनलाल प्रधानको निर्माण रहेको 'रियाल रिंगेट' ले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ।
फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना लगायतको अभिनय छ।