चर्चित टिकटकर तथा कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ।
उनले माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म 'राम नाम सत्य' बाट फिल्ममा डेब्यू गर्ने भएका हुन्।
सोमबार फिल्मको निर्माणपक्ष र आयुषले कागजी सम्झौता गरेका छन्।
निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी सम्झौता गरे। यो फिल्ममा यसअघि विराज भट्ट, सुशील श्रेष्ठलगायत कलाकारहरू अनुबन्धित भइसकेका छन्।
फिल्म साइन गरेपछि आयुषले आफूलाई थुप्रै फिल्मबाट अफर आइरहेकोमा डेब्यूका लागि 'राम नाम सत्य' उपयुक्त लागेर साइन गरेको बताए।
उनले अगाडि भने, 'तर मैले राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ। यो फिल्मको कथा र मेरो भूमिका बलियो छ। यसैले साइन गरेको हुँ।'
फिल्मका निर्देशक माइकल चन्दले भने– 'आयुष र हामीबीच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं। अब, उनले अभिनयको कोर्स पनि सुरू गर्दैछन्। उनले फिल्मका लागि निकै मेहनत गरिरहेका छन्।'
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, अभिनेत्रीहरू दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डिसी, रवि गिरीलगायत कलाकारहरू यसअघि नै अनुबन्धित भइसकेका छन्। अब, एक अभिनेत्री फाइनल गरेपछि कलाकारहरूको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ।
फिल्मको निर्मातामा उपेन्द्र शाही र श्वेता विमली, सह–निर्मातामा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय छन्। सञ्जय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गर्ने तयारी छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो।