एक समय दर्शकहरूले निकै रूचाएको टेलिसिरियल हो, गाह्रो छ हो। यो सिरियलमा बेगम नेपाली (भटभटे माइला) र रियाशा दाहाल (पुतली)को जोडीलाई दर्शकहरूले निकै रूचाएका थिए।
यी दुईले यो सिरियलमा ५ वर्ष सहकार्य गरे। रियाशाले विवाह गरेपछि यो सिरियल छाडिन्। बेगमले सिरियललाई केही वर्ष निरन्तरता दिए र अहिले उनले यो सिरियल बन्द गरेर नयाँ सिरियल ल्याइरहेका छन्।
'गाह्रो छ हो' सिरियलमा रियाशा देखिन छाडेदेखि नै बेगमलाई प्रश्न आइरहन्थ्यो,– पुतलीलाई किन सिरियलबाट निकालेको?
यो प्रश्न अहिलेसम्म जारी रहेको गुनासो गर्दै बेमगले यसबारे प्रष्टीकरण दिएका छन्।
रियाशाको मंगलबार परेको जन्मदिनमा बेगमले सामाजिक सञ्जालमा शुभकामना पोस्टसहित लामो स्टाटस लेख्दै प्रष्टीकरण दिएका हुन्। रियाशाले विवाहपछि सल्लाह गरेरै अब काम नगर्ने निर्णय गरेर छुट्टिएको बेगमले बताएका छन्।
उनले लेखेका छन्, 'रियाशा दाहाल (पुतली) र म बेगम नेपाली (भट्भटे) बीच कुनै पनि झगडा विवाद भएको होइन र हुने पनि छैन। हामी सल्लाह गरेरै सहकार्यबाट अलग भएका हौं।'
बेगमले आफूलाई बारम्बार यो प्रश्न आइरहेकाले सामाजिक सञ्जाल पोस्टमार्फत प्रष्ट पार्नुपरेको समेत उल्लेख गरेका छन्। बेगमले पछिल्लो समय ‘गाह्रो छ जिन्दगी’ सिरियल दर्शकमाझ ल्याइरहेका छन्।