गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशनमा फर्किएका छन्।
लघु चलचित्र 'भुवा' मार्फत निर्देशनमा फर्किएका उनको यो फिल्मको छायांकन हालसालै सकिएको छ।
सौगातले सात वर्ष ३४० दिनको उमेरमा चलचित्र 'लभ यू बाबा' निर्देशन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए। उनले दोस्रो प्रोजेक्टका रूपमा चलचित्र 'हैरान' निर्देशन गरेका थिए, जुन २०७५ सालमा प्रदर्शनमा आएको थियो।
त्यसपछि पढाइमा बढी केन्द्रित भएका सौगात सात वर्षपछि 'भुवा' मार्फत निर्देशनमा फर्किएका हुन्।
डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्। 'भुवा' शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन्।
'भुवा' ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने निर्माण पक्षको भनाइ छ। अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
सेतोपाटीसँग कुरा गर्दै सौगातले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई केन्द्रित गरेर यो चलचित्र बनाएको बताए। 'यो चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई सोचेर बनाएका हौं। त्यही अनुसारकै काम भएको छ। मेरो धेरैपछिको नयाँ काम भएकाले नेपालमा पनि चलचित्र देखाउनेछौं', सौगातले भने।
संगम विष्टको कथा तथा पटकथा रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन र प्रवीण भट्टको सम्पादन छ।
यस चलचित्रको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना, राजेन्द्र बजगाईंको संगीत रहनेछ। गीतमा सारिका घिमिरे र विषम आचार्यको स्वर सुन्न पाइनेछ।
चलचित्र निर्माणको सल्लाहकारका रूपमा गम्भीर विष्ट र कुमार मोक्तान तामाङ छन्।