मोडल तथा अभिनेत्री कविता नेपालीले एक दिनको अन्तरमा ८ हजार मिटरभन्दा अग्ला दुई हिमालको आरोहण गरेकी छन्।
उनले गत आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमाल आरोहण गरेकी हुन्। २४ घण्टाभित्र यी दुई अग्ला हिमाल आरोहण गरेसँगै कविता यतिबेला थप चर्चामा छिन्।
८ हजार ८ सय ४८ मिटरको सगरमाथा र ८ हजार ५ सय १६ मिटरको ल्होत्से एकअर्कासँग जोडिएका हिमाल हुन्।
कविताले बुधबार दिउँसो मात्रै सगरमाथा र ल्होत्से आरोहणबारे सामाजिक सञ्जालमा जानकारीसहित दुई तस्वीरहरू सार्वजनिक गरेकी छन्।
उनले दुवै हिमालको चुचुरोमा राष्ट्रिय झण्डा फर्फराएको उक्त तस्बीरमा देख्न सकिन्छ। उनले आफ्नो यात्रा सपना देख्नेहरू र सीमाभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि भएको समेत बताएकी छन्।
कविताले दर्जनौं म्युजिक भिडिओमा मोडलिङ गरेकी छन्। पछिल्लो समयको ट्रेन्डिङ गीत 'दुश्मन हेरेको हेर्यै' मा पनि उनलाई देख्न सकिन्छ। उनको फिल्म 'एक्लो' प्रदर्शनको तयारीमा छ।