फिल्म 'द ब्लू लाइट' निर्माणको घोषणा गरिएको छ। निर्माणपक्षले मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माणको घोषणा गरेको हो।
यो फिल्म बलिराम चौहानले निर्देशन गर्नेछन्। उनी अहिलेको प्रतीक्षित फिल्म 'बलिदान' का लेखक तथा मुख्य सहायक निर्देशकसमेत हुन्। मुख्य निर्देशकका रूपमा भने चौहानको 'द ब्लू लाइट' पहिलो फिल्म हुनेछ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्ममा सह निर्माताका रूपमा रमन ग्रे रहनेछन् भने नरेन्द्र मैनालीले खिच्नेछन्।
'द ब्लू लाइट' सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने निर्देशक चौहानले बताएका छन्।
यो फिल्मका कलाकारको लाइनअप केही समयपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ।
निर्देशक चौहानले भने, 'हामी विस्तारै फिल्मबारे थप जानकारी दिँदै जानेछौं। कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिनेछौं।'
उनका अनुसार अहिले बजारमा नाम चलेका प्रमुख कलाकारहरू नै फिल्ममा हुनेछन्।