आयरल्याण्डकी चित्रकार लोरा मर्फी गत वर्ष नेपाल आइन्। फर्किंदा नेपाली कागज किनेर लगिन्। यस वर्ष आउँदा उनले त्यो कागजमा चित्र कोरेर ल्याइन्। अनि पोखरामा प्रदर्शनमा राखिन्।
‘नेपाली हातबाट बनेको कागज सुन्दर रङमा रहेछ जुन अरू कागजभन्दा बलियो रहेछ,’ उनले भनिन्, ‘मैले काठमाडौंमा फेला पारेको यो कागजमा एउटा काल्पनिक अनुहार बनाउन सकें।’
उनले नेपाली कागजमा बनाएको चित्रमा रातो रङको पृष्ठभूमिमा एउटी युवतीको अनुहार छ। उक्त अनुहार कसैको नभएर उनले कल्पना गरेको बताइन्।
‘यो अनुहार कसैको होइन, खासमा मैले कल्पना गरेर बनाएकी हुँ,’ उनले भनिन्।
-1736862706.jpg)
यसपालि नेपाल आउँदा उनले विभिन्न देशका २६ जना कलाकार ल्याइन्। उनीहरूले कम्तीमा एउटा एउटा चित्रकला पनि ल्याउन लगाइन्। जुन चित्रकला पोखरामा सोमबार र मंगलबार सार्वजनिक प्रदर्शनीमा राखियो।
लोराको टिममा उनीसहित २ जना आयरल्याण्ड, फिलिपिन्स र डेनमार्कका १/१ जना र बाँकी २२ जना अमेरिकी गरी २६ जना चित्रकार थिए। उनीहरूका चित्रसँगै नेपाली चित्रकारका कलाकृति पनि सँगसँगै प्रदर्शनमा राखिएको थियो।
नेपाली र विदेशी चित्रकला एकै ठाउँमा प्रदर्शनमा राख्न पाउँदा एकअर्कालाई बुझ्ने र एकअर्काका कलाबारे सिक्ने अवसर मिलेको सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरूङ बताउँछन्।
‘विदेशी कलाकारका मिडियम फरक छ, हामीले क्यानभास र कागजमा मात्र चित्रकला बनाउँछौं, उहाँहरूको फरक छ,’ उनले भने, ‘हामीकहाँ फरक मिडियममा हुँदैन भन्ने थियो, उहाँहरूको काम देखेपछि यसरी पनि चित्रकलामा काम गर्न सकिँदो रहेछ भनेर बुझियो।’
‘फ्रम द रकिज टु द हिमालयज’ शीर्षकमा आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शनीको चाँजोपाँचो मिलाएका हुन्, व्यवसायी डिल्लीरत्न तुलाधरले।
-1736862708.jpg)
उनी काठमाडौंबाट विभिन्न देशमा हस्तकलाका सामग्री बिक्री गर्छन्। हस्तकलाका सामग्री बिक्री गर्ने क्रममा नै उनको लोरासँग चिनजान भएको थियो। लोरा आयरल्याण्डको ‘इसेन्स अफ मुलरेनी’ नामक चित्रकला सम्बन्धी काम गर्ने संस्थाका निर्देशक हुन्।
काठमाडौंको ठमेलमा ट्राभल एजेन्सीदेखि कार्गो कम्पनी, रेष्टुरेण्ट लगायत व्यवसाय चलाएका तुलाधरले नेपालमा कलाकृति प्रदर्शन गर्न गत वर्षदेखि नै आग्रह गरेका थिए। गत वर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपाली कलाकारसँग अन्तर्क्रिया गराएका उनले यसपालि पोखरामा चित्रकला प्रदर्शनी आयोजना गर्न खटिएका हुन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहेका तुलाधरकै सक्रियतामा प्रतिष्ठानले पोखरामा दुई दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गर्यो। जहाँ २६ जना विदेशीसँगै २२ जना नेपाली कलाकारका चित्रकला पनि प्रदर्शनमा राखिएको थियो।
‘उहाँहरू विश्वका अरू ठाउँमा चित्रकला प्रदर्शन गर्न जानुहुँदो रहेछ, नेपालमा पनि किन नगर्ने भनेर हामीले यो कार्यक्रम गरेका हौं,’ तुलाधरले भने, ‘कलाकारको माध्यमबाट पनि नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिँदो रहेछ भनेर यसले सिकाएको छ।’
नेपालको पर्यटन क्षेत्र ‘अफ सिजन’ भनेर बस्न जरूरी नभएको भन्दै उनले नेपाली परम्परागत कला, संस्कृति र प्रकृति देखेर विदेशी मोहित हुने गरेको बताए।
काठमाडौंमा थान्का र पौवा देखेर उनीहरू अचम्ममा परेको भन्दै उनले कलाकारको टोलीलाई भक्तपुर, नगरकोट लगायतका स्थानमा घुमाएर पोखरा ल्याएको बताए।
पोखरामा मंगलबार चित्रकला प्रदर्शनी आयोजना गरिएपछि उनीहरू धम्पुस घुम्न गएका थिए।
नेपाल हस्तकला महासंघका पूर्वउपाध्यक्ष तुलाधरका अनुसार विदेशमा नेपाली हस्तकलाका सामग्री बिक्री गर्दा त्यस्ता सामग्रीका पछाडि रहेका कथा पनि भन्नुपर्ने बताए।
‘हामीले हाम्रो हस्तकलाका सामग्री सँगसँगै कथा भन्न सक्यौं भने मात्र बिक्री हुन्छ, नत्र हुँदैन,’ उनले भने, ‘हामीले नेपालबाट हस्तकलाका सामग्रीसँगै कथा पनि भन्छौं, विदेशीले त्यही कथा सुनाएर किन्दा रहेछन्।’
-1736862708.jpg)
नेपाली उत्पादन बिक्री गर्न रणनीति नै बनाउन नसकेको उनको भनाइ छ। त्यही हस्तकलाका सामग्री बिक्री गर्दागर्दै विश्वका विभिन्न देशका कलाकारसँग आफ्नो सम्पर्क स्थापित भएको तुलाधरले बताए।
कला प्रदर्शनीमा मंगलबार कलाकार केशवराज खनालले नेपालमा बहुआयामिक कलाका विषयमा र कलाकारद्वय पृथ्वी श्रेष्ठ र सुनिल सिग्देलले पर्फमेन्स आर्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय कला प्रदर्शनीले नेपाली कला र विदेशी कलाका विषयमा आपसी संवाद र अनुभव आदान प्रदानको मौका मिलेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्तर्गत बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले बताइन्।
‘हामीले मिडियमलाई लिमिट बनाएर काम गर्छौं, उहाँहरू खुलेर काम गर्नुहुँदो रहेछ,’ उनले भनिन्, ‘हामी क्यानभास वा पेपरमा मात्र पेन्टिङ गर्छौं, उहाँहरू बोर्डमा पनि गर्नुहुँदो रहेछ।’
पोखरामा अधिकांश कलाकार पानी रङको प्रयोग गरेर चित्र बनाउँछन्।
कहिलेकाहीँ एक्रोलिक रङमा पनि चलाउँछन्। विदेशीले भने रङमा पनि सीमितता नरहेको उनले बताइन्। विदेशी कलाकारले बनाएको एउटा चित्रमा २३ क्यारेट सुनको जलप प्रयोग भएको भन्दै उनले रङको प्रयोगमा पनि विदेशी कलाकारले खुलेर काम गरेको बताइन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, विन्दु स्पेस फर आर्टिष्ट, इसेन्स अफ मुलरेन्नी र काठमाडौं त्रिनालेको संयुक्त आयोजनामा भएको प्रदर्शनी भएको हो।
-1736862708.jpg)
-1736862708.jpg)
-1736862706.jpg)
-1736862707.jpg)
-1736862707.jpg)
-1736862706.jpg)
-1736862706.jpg)
-1736862705.jpg)
-1736862705.jpg)
-1736862705.jpg)
-1736862705.jpg)