तेस्रो सातामा पनि 'पूर्णबहादुरको सारंगी' को व्यापारको रफ्तार घटेको छैन। गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'ह्रस्व दीर्घ' ले पनि सुखद् व्यापार गरिरहेको छ। यो शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आउँदैछन्।
तेल भिसा
यो सामाजिक, पारिवारिक ड्रामा हो। देश, विदेशमा एकसाथ रिलिज हुन लागेको फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ। यसमा विपिनले बृद्ध र जवान गरी दुइटा फरक चरित्र निर्वाह गरेका छन्।
ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्म शंकर घिमिरेले निर्देशन गरेका हुन्। अमेरिकामा बस्दै आएका शंकर र ऋचा श्रीमान–श्रीमती हुन्। उनीहरूले लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेका हुन्।
फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्। युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको रनटाइम २ घण्टा ३६ मिनेट छ।
अग्निदहन
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास 'अग्निदहन' मा आधारित रहेर यो फिल्म तयार पारिएको हो।
यो सोसल ड्रामालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। कलाकारमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्।
पिजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १ घण्टा ३० मिनेट तय छ।
बोक्सी कुप्रथाका नाममा हुने हिंसामा आधारित रहेर सचेतनामूलक फिल्म बनाइएको निर्माण पक्षले जनाएको छ। यो नेपाल सरकारबाट विशेष चलचित्र पुरस्कारबाट सम्मानित फिल्म समेत हो।
नेपालीसँगै विदेशी फिल्म पनि यो शुक्रबार रिलिज हुँदैछ।