नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरू अभिनीत फिल्म 'ह्रस्व दीर्घ' कात्तिक ३० गते रिलिज हुँदैछ।
नीता ढुंगाना र हरिहर अधिकारी स्टारर यो फिल्मको प्रदर्शनका क्रममा भारतीय कलाकारहरू समेत नेपाल आउने तयारी छ।
फिल्मकी निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले ब्रह्मानन्दमसहितका कलाकारहरूलाई नेपाल ल्याउन कुराकानी भइरहेको बताइन्।
'ब्रह्मानन्दम सरले नेपाली दर्शकलाई भेट्न आउँछु भन्नुभएको छ। उहाँ स–परिवार नेपाल आउने कुरा छ,' ढुंगानाले सेतोपाटीसँग भनिन्, 'अन्य भारतीय कलाकारहरूसँग पनि कुराकानी भइरहेको छ।'
ब्रह्मानन्दम एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका अभिनेता हुन्।
'ह्रस्व दीर्घ' मा ब्रह्मानन्दमसहित प्रदीप रावत, सुनील वर्मा, कबीर दुहान, मोहम्मद अली लगायत भारतीय कलाकारहरूको अभिनय छ। प्रदीप रावत र सुनील वर्मा छायांकनका क्रममा समेत काठमाडौं आएका थिए।
फिल्ममा रहेका नेपाली कलाकारमा नीता र हरिहरका साथमा विपना थापा, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत छन्।
चन्द्र पन्त फिल्मका निर्देशक हुन्।
नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा र पटकथा हरिहरको हो। संवाद प्रतिक पौडेलले लेखेका हुन्। फिल्मलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।
बुधबारमात्रै सार्वजनिक फिल्मको ट्रेलर २४ घन्टा नपुग्दै १० लाख भ्युजसहित ट्रेन्ड्रिङमा उक्लिएको छ। ट्रेलरमा लभ, इमोशन र एक्सनलाई प्राथमिकता दिइएको छ।
यो फिल्मको बजेट ६ करोड रहेको बताइएको छ।