शिवाशा केसीले एक दिन आफ्नो बुबाको पुरानो क्यामरा भेटिन्। त्यही क्यामराले उनका बाल्यकालका क्षणहरू कैद गरेको थियो।
बुबाको त्यो क्यामरा भेटेदेखि नै उनको मन फोटोग्राफीमा केन्द्रित भयो। उनका लागि फोटोग्राफी समाजलाई बुझ्ने एउटा माध्यम बन्यो। कला र मिडियामा उच्च शिक्षा हासिल गर्ने योजना बनाएकी शिवासाले केही समययता फोटो-कथाहरू खिचिरहेकी छन्।
यसैमध्ये उनको एक कथाको शीर्षक छ 'भित्र आउनुस् न!'
शिवासाको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
शिवासाले एउटा सानो परिवारको कथा खिचेकी छन्।
यो कथाबारे उनी भन्छिन्, 'ठूला रूख र बोटबिरूवाका बीचमा बाँस र तारले थामिएको साधारण टिनको घरमा एउटा सानो परिवार बस्छ। त्यहीँ मैले कमला, विमला, जोएल, उनीहरूका बाबु र मुना आमालाई भेटेँ। 'भित्र आउनुस् न' भन्ने सरल आमन्त्रणले मलाई उनीहरूको संसारमा स्वागत गर्यो, जुन संसार माया, समर्थन र करूणाले बनेको थियो।
मुना आमाले भर्खरै मुटुको शल्यक्रिया गराएकी छिन् र परिवारको मेरूदण्डका रूपमा उभिएकी छिन्। उनका श्रीमान दैनिक घन्टौं काम गरी परिवारको जीविका चलाउँछन्। जोएलको अपांगताले उनलाई रोकेको छैन; उनको कलात्मक रूचिले उनलाई अघि बढाइरहेको छ। कमला र विमला स्कुल जानुका साथै घरका काम र भाइको हेरचाह पनि गर्छन्।
कमला, विमला र जोएलको कला प्रतिको माया साझा छ। कमला र विमलाका लागि कला सोख हो। जोएलका लागि भने यो बाहिरी संसारमा जाने एक मात्र बाटो हो। दिदीहरूले पेन्सिल र रङहरू पोत्छन् भने भाइ कागजमा आफ्ना सपनाहरू उतार्छन्।
उनीहरूको जीवनमा एक सन्तुलन र लय छ, जुन प्रेम र एकअर्काप्रतिको माया र हेरचाहले बाँधिएको छ। आर्थिक समस्या र अन्य संघर्षहरूका बाबजुद, उनीहरूको दृढताले हार मानेको छैन। त्यो घर केबल टिन, बाँस र तारले बनेको होइन। त्यो घर माया, समझदारी र स्वीकृतिले बनेको हो।'
हेर्नुस् शिवासाको फोटो-कथाः