कलाकार हरिप्रसाद शर्माका चित्रहरू हनुमानढोका संग्रहालयमा प्रदर्शन भइरहेको छ। करिब १० महिनादेखि उनका चित्रहरू प्रदर्शनीमा राखिएका हुन्।
यहाँका सबै चित्र काठमाडौं केन्द्रित छन्। काठमाडौं उपत्यकाका चाडपर्व, मल्लकालदेखि शाहकालसम्मका राजाहरू, राजदरबारका गतिविधि, काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहले गरेको आक्रमण, कोत हत्याकाण्ड, राजाहरूले होली पर्व मनाएको, काठमाडौंकी कुमारी लगायतका चित्रहरू प्रदर्शनमा छन्।
यी चित्र सक्कलका नक्कल हुन् तर हेर्दा त्यस्तो लाग्दैन। आफूले वर्षौ लगाएर बनाएको चित्रलाई धुलाएर कलाकार शर्माले संग्रहालयलाई उपहार दिएका हुन्।
सुरूमा ६ महिनाका लागि यी चित्रको प्रदर्शनी गर्ने भनिएको थियो। कला पारखी र पर्यटकहरूको मागका कारण प्रदर्शनी लम्ब्याइएको संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले बताए।
‘यी चित्र हेर्नकै लागि मानिसहरू आउनेक्रम बढेकाले अझैं केही महिना प्रर्दशनी चल्छ होला,’ उनले भने।
कला सर्जक हरिप्रसाद शर्मा चित्र-इतिहासकार हुन् जो इतिहासका अध्येताहरूले गहन खोज गरेर निकालेको शब्दचित्रमा कल्पनाको रङ भर्छन्। ऐतिहासिक क्षणहरूसँग जोडिएका विषयवस्तु मिहिन केलाउनु र त्यसलाई चित्र र रङका माध्यमबाट क्यानभासमा उतार्नु ८७ वर्षीय शर्माको विशेषता हो।
उनको 'समयक्रममा नेपाल' शीर्षकको किताब प्रकाशित छ, जसमा नेपालको इतिहास, संस्कृति र जनजीवन झल्काउने ८८ वटा चित्रकला संग्रहित छन्। प्रदर्शनीमा भने १३ वटा चित्र देख्न सकिन्छ।
तस्बिरहरू:
(सबै तस्बिरः नवीनबाबु गुरूङ)