चलचित्र, नाटकप्रति रक्षा थापाको खासै रूचि थिएन। चलचित्र र नाटकको कर्मले जीविका चल्छ र यतै लाग्छु भनेर उनले सोचेकी पनि थिइनन्।
तथापि उनी केही सौन्दर्य प्रतियोगितामा भने सरिक भएकी थिइन्। नृत्यमा शौखिन भएकैले उनी सौन्दर्य प्रतियोगिताको मञ्चसम्म पुगेकी थिइन्।
तर बाह्र कक्षासम्म पढ्दा जीवनको लक्ष्य तय भइसकेको थिएन। बाह्रको परीक्षा सकेपछि झन्डै छ महिना खाली बस्नुपर्थ्यो। यो 'ग्याप' लाई सिर्जनशील काममा कसरी लगाउने भनेर उनी सोचिरहेकी थिइन्। यही क्रममा उनी नाट्य प्रशिक्षणका लागि मण्डला थिएटर पुगेकी थिइन्।
त्यसबेला नाट्य क्षेत्रमा आकर्षण बढिरहेको थियो। रंगमञ्चमा मञ्चन भइरहेका नाटक हेरेर दर्शकहरूले मज्जा लिइरहेका थिए।
दर्शकहरूको अनुहारमा टुसाएको खुसी देखेर उनको मनको कुनामा अभिनयप्रतिको रहर अंकुराउन थाल्यो। उनलाई पनि नाट्य क्षेत्रमा लाग्ने उत्प्रेरणा मिल्यो। नाटकमा अभिनय गर्न थालिन्।
क्रमशः म्युजिक भिडियोहरूको प्रस्ताव पनि आउन थाल्यो। कर्मले सार्थकता पाउँदै गएको अनभूति गर्न थालिन्। 'अब त यो क्षेत्रमा काम गर्न सक्छु भन्ने आत्मविश्वास बढ्न थाल्यो,' पुलकित हुँदै रक्षाले सुनाइन्। उनी रंगकर्ममा जोडिएको पाँच वर्ष भयो।
यसबीचमा उनले 'झिल्के मामा', 'कनन हरलता', 'त्रयम' लगायतका नाटकमा अभिनय गरिसकेकी छन्।
उनले अभिनय गरेको म्युजिक भिडियोको संख्या पनि १८–२० हाराहारी पुगिसकेको छ।
'केही लघु चलचित्रहरूमा पनि अभिनय गरेकी छु,’ उनले सुनाइन्।
रक्षा यतिबेला फिचर फिल्मको अभिनेत्रीसमेत बनिसकेकी छन्। प्रदर्शनमा रहेको फिल्म ‘बाटोः रोड टु डेथ’ मा उनले मुख्य भूमिका निर्वाह गरेकी छन्।
यो फिल्ममा रक्षा अडिसन नै दिएर छनोट भएकी हुन्। छनोट भएपछि स्क्रिप्ट पढ्दा नै उनलाई निकै अनौठो अनुभूति भएको थियो।
फरक शैलीको भएकाले काम गर्न नसकिने हो कि भन्ने डर मनमा टुसाएको रहेछ। उनले टिम हेरिन्। दक्षिण भारतीय फिल्ममा काम गरेका मदन थापा निर्देशक थिए।
चन्दन झा निर्माता रहेको फिल्ममा अरू कलाकारहरू पनि थिएटरबाटै लिइएको थियो। दक्षिण भारतीय फिल्ममा नै काम गरेका छायांकार झिकाइएको थियो। यी सबै कुराले रक्षाको मनमा टुसाएको डर मुर्झायो। त्यो ठाउँ उत्साहले ओगट्यो। 'जब वर्कसप (कार्यशाला) सुरू भयो, धेरैजना म भन्दा सिनियर भएकाले सबैले माया गर्नुभयो। नयाँ कुराहरू सिकाउनुहुन्थ्यो। सुझाव दिनुहुन्थ्यो,' उनले भनिन्, 'सुटिङ पनि एकदमै रमाइलो तरिकाले भयो।'
फिल्म निर्माण भयो। उनले फाइनल फिल्म प्रिमियरमै हेरेकी हुन्। त्यतिबेला नर्भस थिइन् उनी। दर्शकले कुन रूपमा लिनेहुन्? रुचाउने हुन् कि होइनन्? उनीहरूबाट के प्रतिक्रिया आउने हो भनेर मनमा छटपटी पैदा भइरहेको थियो।
चलचित्र प्रिमियर भइरहँदा दृश्य एवं संवादलाई लिएर बीच-बीचमा धेरैले ताली पिटे। सिट्टी बजाए।
'त्यो देखेर प्राउड फिल भयो। हामीले राम्रो काम गरेका रहेछौं भन्ने भएको थियो,' रक्षाले प्रिमियरको अनुभव सुनाइन्।
फिल्म रिलिजपछि टिमसहित उनी दर्शक प्रतिक्रिया लिन हल हलमा पुगिरहेकी छन्। त्यसक्रममा दर्शकबाट पाएको प्रतिक्रियाले पनि उनी पुलकित छिन्। 'जतिले हेर्नुभएको छ, राम्रो प्रतिक्रिया दिनुभएको छ। क्यारेक्टर (पात्र) लाई पनि धेरैले रुचाउनुभएको छ। हलबाट निस्किँदै गर्दा धेरै दर्शकले दोस्रो भागको प्रतीक्षा गर्छौं समेत भन्नुभएको छ,' उनी भन्छिन्, 'दर्शकबाट यो तहको माया पाउँदा आगामी दिनमा राम्रो काम गर्न ऊर्जा मिल्दो रहेछ।'
उनले अर्को फिल्म ‘बेहुली फ्रम मेघौली’ मा समेत अभिनय गरिसकेकी छन्। निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण रहेको यो फिल्म दसैंमा प्रदर्शनमा आउँदैछ।
यसबीचमा उनले नयाँ नाटकको समेत तयारी गरिरहेकी छन्।
आगामी दिनमा थिएटर र फिल्मलाई समानान्तर वेगमा अगाडि बढाउने चाहना छ उनको।
'यस्तो, उस्तो फिल्म भन्ने छैन। आफ्नो क्यारेक्टर भर्सटायल देखियोस्,' चलचित्रमा उनको चाहना यत्ति छ।
त्यसो त उनले पढाइलाई पनि समान गतिमा अगाडि बढाइरहेकी छिन्। अध्ययनले बुझाइमा निखारता ल्याउने उनको विश्वास पनि छ।
रक्षाले अहिले समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी छिन्।
तस्बिरहरूः