विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेको 'गाउँ आएको बाटो' लाई काठमाडौंमा प्रिमियर गरिएको छ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको फिल्मको बुधबार बेलुका बिग मुभिजमा भब्य प्रिमियर गरिएको हो।
नवीन सुब्बाको निर्देशन रहेको यो फिल्म हेर्न थुप्रै फिल्मकर्मीदेखि राजनीतिज्ञ र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि उपस्थिति रहे। फिल्म हेरेपछि अधिकांशले खुलेर प्रशंसा गरे। सरल तरिकाले भनिएको कथाले दर्शकलाई छुने फिल्मकर्मीले बताएका छन्।
साकेला नाच समेत प्रिमियरको आकर्षण बनेको थियो।
'गाउँ आएको बाटो' ले पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बाँसको चोयाको काम गर्ने माइलाको परिवारमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा प्रस्तुत गर्छ।
महेश राईको कथा, उनी र निर्देशक सुब्बाको पटकथा लेखन रहेको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो।
अमोद राई र निर्देशक सुब्बा फिल्मको निर्माता हुन्। फिल्मको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।
तस्बिरहरू