अग्ला रूखले घामको तातो राप रोक्दै शीतलता दिने कोसिस गरिरहेको छ। वरिपरि झुरूप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ।
फाट्टफुट्ट झुल्कने किटपतङ्गले घरआँगनको झल्को दिन्छ। झाडीकै बीचमा एउटा पुरानो डुंगा टक्क अडिएको छ। डुंगाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको हुन्छ। तर त्यहाँ जमिनसँग नाता जोड्ने प्रयत्नमा डुंगा लागेको छ। अनुभूति मात्रै पानीको बहाबसँग जोडिन्छ।
नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा बग्दाको स्मरण अनि काठमाडौंकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुंगासँग छ। अहिले डुंगा जमिनमाथि नै आफ्ना यात्रु खोज्दैछ। फरक यति हो उसले यात्रुलाई नदीको वारिपारि किनार तार्नु पर्दैन।
यात्रु डुंगामा यात्रा गर्छन्। डुंगामा एक युवा गितारमा पुराना धुन बजाउँछन्। 'ए माझी दाइ...पुरानो डुंगा...' आदि।
दर्शक आफैं पनि सहभागी हुन सक्छन्। अनि यहाँ नयाँ युगका धुन पनि बज्छन् बेलाबेलामा। यात्रुअनुसारको धुनको स्वाद पस्कन उनी खप्पिस छन्। यसरी बज्ने गितारको मधुर धुनमा रमाउँछन् सङ्गीतका पारखीहरू। यहाँ पुग्ने धेरैले वर्षाैंअघिको कर्णदासको गीत, ‘पुरानो डुंगा पानीको छाल पार गरूँ कसरी, उनी छिन पारी तारेर लौन भेटुँन् कसरी...’ गीत सम्झन्छन्।
डुंगामै रहेको पुस्तकालयको कालजयी पुस्तकमा अक्षरहरूको स्वाद लिन्छन्। सत्यमोहन जोशीको जीवनी, प्रयोगशाला, कलासम्बन्धी पुस्तक, उपन्यास र अनुसन्धानमूलक पुस्तकहरू राखिएका छन्। अनि जमिनमाथिको यात्राको नयाँ अनुभूति संगाल्न पाउँछन् आगन्तुकहरू। त्यो अनुभूतिले जमिनमा रहे पनि बहँदै गरेको पानीको छालमाथिको यात्रामा भावनाहरू छचल्किन पुग्छ। त्यही नदीको यात्रामा डुब्न पुगिन्छ।
यात्रुको यात्रामा साथ दिन डुंगाका माझी बनेका छन् ललितकलाका कलाकार रवीन्द्रकुमार श्रेष्ठ। उनी यात्रुको साथै रहन्छन्। उनी डुंगाको बहना बनेर यात्रुको मानसपटलमासँगै डुल्छन्। उनको यो ‘डुंगा चियाघर’मा चियाको चुस्किसँगै संगीत र साहित्यको स्वाद लिन पाइन्छ।
डुंगाको अर्को छेउमा पुरानो डिक्चेमा चिया पाक्छ। चिया पकाउने तरिका पनि परम्परागत छ। चिया पसलेले चियासँगै दुनोटको एक थान साथै ल्याइदिन्छन्। दुनोटले पुरानो काठमाडौलाई झक्झक्याइदिन्छ। पुरानो काठमाडौंमा दुनोट चर्चित थियो।
'यी चिया लिनुस्', उनी डुंगाभित्र रहेको सानो टेबलमा थपक्क राख्छन् अनि मुसुक्क मुस्काउँदै श्रेष्ठ भन्छन्, 'पानी नहालेको खाँटी दूध हो हजुर, चिनी नपुगे भन्नुस् है।'
अनि अर्को खेप ओसार्न पुग्छन्। धुलिखेलबाट ल्याएको गाईको खाँटी दूधमा धुवाँको हरक मिसिएको चियाको स्वादले धेरै यात्रुलाई आफ्नो पहाड घर सम्झाउँछ। कतिलाई तराईको आँगनको ओदानको स्मरण गराउँछ।
नयाँ पाहुना थपिएपछि भने डुंगामा ठाउँ पुग्दैन । धेरैजना डुंगाकै परिपरि बसेर निहार्छन् र पालो कुर्छन् । आगन्तुकहरु त्यतिञ्जेल छेउमा रहेका काठका कुर्सीमा बस्छन्, पुस्तक पल्टाउँछन् र गीत सुन्छन्। वरिष्ठ साहित्यकार अभि सुवेदीले उनको कलाको स्वाद लिएर गए। रुचिसाथ अवलोकन गरे। त्यही डुंगाभित्र बसेर उनले केही अन्तर्वार्ता पनि दिनुभएको कलाकार श्रेष्ठ स्मरण गर्छन्।
चलचित्रका कलाकार रवीन्द्रसिंह बानियाँ परिवारसहित आएर पनि मज्जा लिएर गए। शिल्पी थिएटरका घिमिरे युवराजमात्रै होइन, स्कुलका विद्यार्थीहरूको नजरमा परेको छ डुंगा चियाघर। कविले कविता प्रस्तुत गर्ने ठाउँ बनेको छ भने साहित्यकारले किताब पढ्ने ठाउँ। चिया पारखीले चिया खाने ठाउँ बनेको छ त थकितहरूका लागि थकान बिसाउने ठाउँ बनेको छ उनको सिर्जना।
यो डुंगा १५ वर्षअघि ललितपुरको नाग दहमा चल्थ्यो। प्वाल परेकाले त्यसले आराम पायो। उनले नल्याएको भए त्यो आगोमा बलिसक्थ्यो होला। तर श्रेष्ठले पुनः प्रयोगमा ल्याएर नयाँ सन्देश दिए। उनले कलालाई व्यवसायसँग जोड्ने योजना बनाएका छन्।
कोलाहलयुक्त काठमाडौं सहरको एउटा कुनाको एकान्तमा डुंगा यात्राको जोहो उनै कलाकार रविन्द्रको नयाँ सिर्जना हो। राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीको एउटा सानो तर महत्वपूर्ण अंशका रूपमा उहाँले पुरानो डुंगाको भर्सनलाई प्रतिस्थापन आर्टमा रुपान्तरण गरेर नमूना प्रस्तुत गरेका छन्।
“खै किन हो डुंगा मलाई एकदम मन पर्छ । काठमाडौँमा पुराना डुंगा खोज्दै गर्दा एउटा भेट्टाएँ पनि”, उनले अनुभव सुनाए।
सत्र हजार रुपियाँमा किनेको डुंगा उनले पानीमा चलाएनन्। जमिनमा उभ्याइदिए। काठमाडौँ उपत्यका खाल्डोमा ठूला नदी र पोखरी लोप हुँदै जाँदा यस्ता काठका डुंगा विस्थापित भए। खुम्चिएका साना पोखरीमा रबरका डुंगा चल्न थालेपछि काठका धेरै डुंगा बेवारिसे बने। धेरैले दाउरा बनेर अस्तित्व गुमाए। तर श्रेष्ठले भेट्टाएको एउटा डुंगाको अस्तित्व ब्युँताए।
‘पुराना वस्तु नयाँ वस्तुका आधार हुन्’,उनी भन्छन्, ‘मासिनु हुन्न, केही न केही गरेर यसलाई बचाउनुपर्छ भन्ने सोचले यहाँ ल्याएँ।’
डुंगा यहाँ परफरमेन्स आर्टको एउटा सहभागी हो। तर यो सहभागितालाई उनले यथार्थवादी कलासँग जोड्दै मानिसको दैनिकसँग मिसाउँदै छन्।
कलालाई अर्थसँग जोडेर उनले पस्केका छन्। कला पर्यटन प्रवद्र्धन र आर्थिक विकासको सूचक हो भन्ने उदाहरण उनले यहाँ प्रस्तुत गरेका छन्।
कला देखाएर चिया बेचेर उनले कमाइ पनि गरिरहेका छन्।
पैसामै चिया बिक्री पनि भइरहेको छ। उनका अनुसार सहरका विभिन्न भागमा कलात्मक प्रस्तुतिसँगै डुंगा रेष्टुरेन्ट खोल्ने तयारी गरिएको छ। यो उनको रिहर्सलभन्दा पनि फरक पर्दैन। त्यसका लागि पोखरा, चितवनलगायतका स्थानबाट पुराना डुंगा खोजेर जम्मा गर्दैछन्।
उनले यो नयाँ अवधारणालाई पहिलो चरणमा साहित्य, कला अनुरागीमाझ पस्कने जमर्को गरेका छन्।
कला र साहित्य पारखीका पुस्तक विमोचन, कला उद्घाटन र विमर्शका लागि नयाँ स्थान यही पुराना डुंगालाई बनाउने लक्ष्य लिएको उनले सुनाए।
मानिस जति आधुनिक भए पनि उसको रगतभित्र लुकेको पुरानो पुस्ताको वंशाणुपन कहिल्यै जाँदैन। यही मूल मर्मलाई उनले डुंगाबाट जगाउँदै छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति लालकाजी लामालाई पनि उनको यो अवधारणा मन परेको छ।
लामा भन्छन्, ‘हामी कलाकार सधैँ नयाँ कुराको खोजीमा हुन्छौं, डुंगाले त्यो नयाँपन दिन खोजेको छ। हुन त डुंगा पुरानो हो। तर यसले दिने अनुभूति पुराना र नयाँ दुवै पुस्ताका लागि नयाँ र मौलिक हुन्छन्।’
एउटा डुंगामा एकपल्टमा चार जनासम्म अटाउन सक्छन्। चारजना बसे पनि उनीहरूको एउटै ध्याउन्न हुन्न। कोही गीत मात्र सुन्छन्। कोही चियामा मग्न रहन्छन्। कोही पुस्तक बढी पढ्छन् । कोही डुंगाका हरेक कुना आउने गरी सेल्फी र भिडियो खिच्छन्। र मोबाइलमा नयाँ स्मरण कैद गर्छन्।
श्रेष्ठले डुंगामा शताब्दी पुरूष सत्यमोहन जोशीको हस्ताक्षर भएको उनको जीवनीसँगै उनकै औंठा छाप भएको कलात्मक स्वरूप पनि डुंगामा राखेका छन्। यसले शताब्दी पुरूषको जीवित अस्तित्वलाई उजागर गर्छ।
प्रतिष्ठान परिसरमा जारी कला प्रदशर्नीमा घुम्दै अवलोकन गरेपछि सुस्ताउने थलो पनि बनेको छ उनको ‘डुंगा कला’।
कलाका अनेक हेरेपछि देखिने डुंगाभित्रको अनुभूति हेर्ने र महसुस गर्नेहरूका लागि ताजा रहने गर्छ। त्यसैले त दोहोर्याएर साथीभाइ र परिवारका सदस्यसहित डुंगाको एकान्तपनसँगै जमिनमाथिको यात्रा गर्न आउने गरेका छन्।
यहाँ पुगेका एक आगन्तुक अनिल शर्मा भन्छन्, ‘यो साँच्चै नमूना प्रदर्शनी हो, यसले समाजलाई जीवन्त प्रस्तुत गरेको मात्रै छैन, चिया बेचेर आयआर्जनको बाटो पनि देखाएको छ।’
उनको यो कला हेर्न कला पारखीले छुटाउँदैनन्।
कलाकार श्रेष्ठ भन्छन्, ‘यो पब्लिक आर्ट हो, यो हाम्रोमा एकदम ट्रेन्ड काम छ, यसलाई प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) भनिन्छ। मोबाइल कला हो। ठाउँअनुसारको कला भरेर प्रस्तुत गर्न सकिन्छ।’
कलालाई अर्थसँग जोड्नुपर्छ। भाषा, साहित्य, कला र अर्थसँग जोडिएको छ उनको सिर्जना।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष यसैगरी कला प्रदर्शनी गर्छ। तर गणतन्त्र दिवसका अवसरमा भने पहिलोपटक जेठ १५ बाट प्रदर्शनी थालिएको हो। यसपटक लोक तथा परम्परा कला नेपाल कला परिषद्मा प्रदर्शनमा छ। अन्य समसामयिकसहित मूर्तिकला लगायतका कलाहरू नक्सालमा प्रदर्शन भइरहेको छ। यसपालि विशिष्ट व्यक्तिहरूको अवलोकनमा चाख बढेको छ।
विगत १२ वर्षकै इतिहासमा पहिलोपटक सबैभन्दा बढी झण्डै ७०० कला राखिएको प्रदर्शनीमा विशिष्ट व्यक्तिहरूको अभिरूचि पनि बढी नै देखिएको छ। पूर्व राष्ट्रपति विद्यादेखि भण्डारीदेखि विभिन्न देशका राजदूत, अग्रज कलाकार, राजनीतिज्ञ तथा सामाजिक व्यक्तिहरूबाट कलाको अवलोकनले यसको महत्व बढाइदिएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली यसपटक कलामा नयाँपन दिन खोजिएको र कलाको विकास र प्रवर्द्धनमा ध्यान दिइएको बताउँछन्। रासस