किम्फ विशेषः
फिल्म 'ह्विल्स अन द बस' कथित तल्लो र माथिल्लो जातले बालमनोविज्ञानमा पारेको असरको कथा हो।
उपल्लो जात भनिने बालबालिकाहरूले तल्लो जात भन्दै अर्को बालकलाई हेप्छन्। उनीहरू हुर्केबढेको समाजले त्यही सिकाएको हुन्छ।
हेपिएको बालक चुप लागेर बस्दैनन्। उनी आफ्ना साथीसँग मिलेर त्यो समाजले सिर्जना गरेको जातको विभेद कसरी तोड्ने भन्नेमा लाग्छन्। फिल्म उनीहरूको त्यही प्रयास देखाइएको छ।
काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा हालै प्रदर्शन भएको यो फिल्मको घटना दुःखद छ। हुम्लामा छायांकन भएको यसको कथा मात्र होइन, छायांकन गर्दाको अनुभव पनि उत्तिकै दुःखद भएको निर्देशक सूर्य शाही बताउँछन्।
'ह्विल्स अन द बस' का प्रमुख पात्र बालक वास्तविक जीवनमै दलित परिवारका हुन्। उनको घर हुम्ला नै हो। १२ वर्षे कलिलो उमेरका उनलाई छायांकनका लागि गाउँलेको घरमा लगिएको थियो।
तर उनी दलित भन्ने थाहा पाएपछि घरधनीले घरभित्र बस्न नदिएको शाहीले बताए।
'पहिलो दृश्यमै पात्र घरमाथि चोटामा पुग्नु थियो। तर घरमालिकले उनलाई दलित भनेर पस्न दिएनन्,' उनले भने।
छोटो फिल्मको छायांकन समय छोटो भएकाले उनीहरूले केही बहस गरेनन्। बरू अर्को घरमा छायांकन गरे।
'त्यो घटनापछि बाबुलाई हामीले निराश हुन दिएनौं। सानो बच्चालाई छिटो दिमागमा असर पुग्ने भएकाले हामीले राम्रोसँग सम्झायौं,' निर्देशक शाहीले भने, 'हामी दलित समुदायकै फिल्म बनाउन गएका थियौं तर त्यही दलित भनेर घरभित्र पस्न दिइएन। त्यसैले पनि यो मुद्दा उठाउन आवश्यक थियो।'
निर्देशक शाही पनि हुम्लामै जन्मेका हुन्। तर सानैदेखि जिल्लाबाहिर बसे। उनी आफू जन्मेको ठाउँ जानधरि पाएका थिएनन्। अमेरिकामा बसेर पढ्दै गरेका उनलाई नेपाल फर्किँदा मामाले उनको बाल्यावस्थाबारे सुनाएका थिए।
मामाले भनेअनुसार उनले एक दलित साथीलाई छोएका थिए। त्यसको सजाय भन्दै दलित साथीले नै उल्टो फलामको किलोजस्तो बनाएर दिएका थिए।
२५ वर्षअघिको त्यो घटना हुम्लामा उस्तै रहेको विषयमा मामाभाञ्जाबीच छलफल भयो।
अनि शाही फिल्म बनाउन कस्सिए।
शाहीले अमेरिकामा अभिनय विषय पढेका हुन्। त्यहाँ शिक्षामा काम गर्ने राष्ट्रिय कोषका लागि आवदेन दिएका थिए। त्यसमा उनीसहित तीन जना छानिए।
'म त्यही कोषको पैसाले हुम्लाको आफ्नो गाउँमा स्कुल बनाउन आएको थिएँ,' शाहीले अमेरिकाबाटै सेतोपाटीसँगको कुराकानीमा भने, 'हुम्लाका विद्यार्थीहरू स्कुलमा पढ्न सहर आउनुपर्ने बाध्यता थियो।'
यो बाध्यता कम गर्न उनलाई त्यहाँ स्कुल खोल्न रहर थियो। उनका अनुसार अहिले त्यहाँ स्कुल बनिरहेको छ। यही क्रममा शाही आफ्नो फिल्मका पात्र बालक पढ्ने स्कुल पुगेका थिए। अन्तिम बेन्चमा बसिरहेका बालकलाई देख्नेबित्तिकै उनले आफ्नो फिल्मको पात्र भेटेका हुन्।
'पहिला त ती बालक हामीसँग डराइडराइ बोले। बिस्तारै बोल्न सहज बनाउँदै गएपछि खुसी भए,' उनले भने।
यसपछि बालकका बाबुआमालाई भेटेर शाहीले फिल्मबारे बताए। आफ्नो कथामाथि फिल्म बन्ने भनेपछि बालक र बाबुआमा दुवैको राजीखुसी भयो। बालको घरमा आफ्नै आरन थियो। उनी स्कुल छुट्टी भएपछि बाबुसँगै फलामको काम गर्थे।
'उनी एकदम मेहनती छन् र संवाद पनि एकैछिनमा टिप्छन्। मैले काम सकेपछि पनि उनी सर एउटा टेक गर्छु नि भन्थे। उनको यही कुराले फिल्म राम्रो बनाउन मद्दत पुग्यो,' उनले बालकसँग काम गर्दाको अनुभव सुनाए।
बालकलाई आठ दिन अभिनय कक्षा दिएर उनीहरूले फिल्मको छायांकन सके।
बालक आफैं दलित समुदायको भएकाले विभेद खेपेका थिए। त्यसैले उनी कलाकार नभए पनि उनको अभिनय निख्खर र बलियो देखिएको शाही बताउँछन्।
विभेदका कारण बालबालिकामा पर्ने असरबारे बुझाउनु नै फिल्मको उद्देश्य हो।
उनले भने, 'जब एउटा बालक दलित भएकै कारण स्कुलमा छुट्टै बस्नुपर्ने, अरूलाई छुन नहुने जस्ता अन्धविश्वासको भूमरीमा पर्छ, उसलाई शारीरिक र मानसिक असर पुग्छ। यस्तो विभेद अन्त्य हुनै पर्छ। यी कथाहरू भन्नै पर्छ।'
शाही आफैंले पनि सानोछँदाका यस्ता याद सँगालेका छन्।
बिरामी भइराख्ने उनले राम्रो स्वास्थ्य उपचार पाएका थिएनन्। गरिब परिवारमा जन्मिएकाले पेटभरी खानै हम्मे पर्थ्यो। त्यसकारण उनका बाबुआमाले पढ्नका निम्ति उनलाई अरूकै रेखदेखमा काठमाडौं पठाइदिएका थिए।
'मैले जति समय गाउँमा बिताएँ, त्यो एकदमै कठिन थियो। स्वास्थ्य चौकी मात्र होइन, सबै सुविधा र पूर्वाधार अभाव थियो। त्यो कुरा गाउँमा अझै पनि उस्तै देख्छु,' उनी भन्छन्।
'ह्विल्स अन द बस' शाहीको पहिलो फिल्म हो। अभिनयमा भने उनले पहिल्यै हात हालिसकेका छन्। भारतमा पढ्दादेखि नै उनलाई नाटकमा रूचि बढेको थियो। उच्च शिक्षामा नाटक नै पढे। दुइटा नाटक खेले पनि। त्यसपछि स्नातक पढ्न अमेरिका पुगे। त्यही क्रममा शिक्षाबारे अनुसन्धान गर्नुपर्ने थियो। त्यसका लागि पनि उनी नेपाल आए।
यतिबेलै उनले राजेशप्रसाद खत्रीको 'जालगेडी (एक जिज्ञासु केटी)' फिल्मका लागि बालबालिकालाई अभिनय कक्षा दिने मौका पाए। उनले गायक जगदीश हमालको म्युजिक भिडिओ 'रातो टालो' मा अभिनय पनि गरेका छन्।
यसपछि उनी अमेरिका नै फर्किए। उनलाई बलिउड फिल्ममा काम गर्ने रहर थियो। तर हुम्लामा स्कुल बन्दै गरेकाले उनलाई आफ्नै देशमा काम गर्न मन लाग्यो। उनी फेरि नेपाल आए र अस्कर फिल्म कलेजमा पढाउन थाले।
आफूले सिकेको कुरा बाँड्दै धेरै कुरा सिक्ने शाहीको चाहना छ। उनको स्कुल लगभग बनिसक्यो। कति कक्षासम्म बनाउने भन्नेबारे छलफल भइरहेको छ।
हाल अमेरिकामै भएका उनलाई आफ्नो जीवनको कथा पनि फिल्ममार्फत् भन्न मन छ।
'मलाई राम्रो मान्छे बन्न मन छ,' मुस्कुराउँदै उनले भने, 'राम्रा फिल्म बनाउने मन छ र ती फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने सपना छ।'