किम्फ विशेष
शनिबार काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा प्रासना डंगोलको फिल्म प्रदर्शन भयो- बिफोर यु ह्वेयर माई मदर।
अर्थात् तपाईं मेरी आमा हुनुभन्दा अगाडि।
यो डकुमेन्ट्री फिल्म साउथ एसिया फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो।
फिल्म मेकर प्रासनाका लागि यो फिल्म विशेष छ, किनकी यसका पछाडि उनका आमाबुबाको प्रेमकहानी जोडिएको छ।
अहिलेजस्तो फोन वा इन्टरनेट सुविधा थिएन। चिठी लेखेर हुलाकबाट पठाउने जमानामा प्रासनाका बुबा एक भारतीय युवतीसँग प्रेममा परेका थिए। उनीहरूले दस वर्षसम्म चिठी लेखेरै आफ्नो प्रेम प्रकट गरे। आ-आफ्ना भावना चिठीबाटै आदानप्रदान गरे। उनका बुवाले ती युवतीलाई भेटेका बेला क्यामरामा भिडिओ कैद गर्थे र सम्झनाका लागि राख्थे। चिठीले गाढा बनाएको प्रेम समयक्रममा बिहेमा परिणत भयो।
प्रासनाले आफ्ना बुबाआमाको प्रेम कहानी भिडिओ अभिलेखबाट हेर्न र सुन्न पाइन्।
'बुबाममीको त्यो बेलाको भेटघाटका फोटा, भिडिओ र चिठी अझै पनि बुबाले अभिलेख गरेर राख्नुभएको छ,' प्रासनाले भनिन्।
उनलाई क्यामरामा रूचि जगाएको नै उनको आमाबुवाको प्रेमकथाले हो। त्यो समय अहिलेको जस्तो मेमोरी कार्डवाला क्यामरा थिएन। रिल/चक्का किनेर हाल्नुपर्थ्यो जुन निकै महँगो हुन्थ्यो। जति नै महँगो भए पनि बुबाले प्रासनालाई तस्बिर र भिडिओ खिच्न सिकाए।
बुबाको प्रेरणा र प्रशिक्षणमा प्रासना स्कुल पढ्दैदेखि फोटो र भिडिओ खिच्न तथा भिडिओ सम्पादन गर्न सिपालु भइन्।
'खिच्नै भनेर म यताउता डुल्न थालेँ। साथीहरूको जन्मदिनका फोटो/भिडिओ उपहारमा दिन थालेँ,' उनले भनिन्।
यही क्रममा कम उमेरमै उनको बाटो फिल्म निर्माणतिर डोहोरिन थाल्यो। तैपनि स्पष्ट रेखा पहिल्याउन सकेकी थिइनन्। ए-लेभलमा समाजशास्त्र र मनोविज्ञान पढेकी उनी विदेश गएर बालमनोविज्ञानमा उच्च अध्ययन गर्न चाहन्थिन्। परिस्थिति सोचेजस्तो नभएपछि मनोविज्ञान पढ्ने आकांक्षा त्यागिन्।
यसपछि प्रासना फिल्म निर्माणकै सपना देख्न थालिन्। यसैसम्बन्धी पढाइका लागि सत्र वर्षको उमेरमा बेलायत पुगिन्। त्यहाँ क्यामरादेखि फिल्मका अनेक पक्षहरूबारे सिकिन्।
उनले भनिन्, 'वृत्तचित्र बनाउँदा गोपनीयता कति ख्याल राख्नुपर्छ, निर्देशकले केकस्ता विषयमा ध्यान दिनुपर्छ जस्ता कुरा त्यहाँ पढ्न पाएँ। फिल्म बनाउँदा कति संवेदनशील हुनुपर्छ भन्ने कुरा सिकेँ।'
बेलायतमा एक तहको पढाइ पूरा गरेर उनी स्वदेश फर्किन्। फेरि सन् २०१४ मा भारत गइन्। तीन साता थप सिकाइ गरेर आइन्। अनि नेपालमै भविष्य खोज्न थालिन्। कान्तिपुर टेलिभिजनमा काम गरेको केही समयमा किम्फले कर्मचारी खोजेको थाहा पाइन्। महोत्सव आयोजक कर्मचारीका रूपमा काम गरिन्। यस क्रममा उनले धेरै विषयका वृत्तचित्रहरू हेरिन्। वृत्तचित्रको मर्म, फिल्मको कथा वस्तुका आयाम, नायक–नायिका, पात्रहरू र पात्रताका बारे जानकारी पाइन्।
यति मात्र होइन, फिल्म रहरले मात्र बन्दैन, उचित वातावरण पनि आवश्यक हुन्छ भन्ने पनि बुझिन्। किम्फमा काम गरिरहेकै बेला उनले नेपाली म्युजिक भिडिओहरू पनि हेरिन्। राम्रो भिडिओ खिच्ने व्यक्तिहरूको सूची बनाइन्। आफूले पनि 'थिएटर भिलेज' मा अभिनयको कक्षा लिइन्। फिल्मका हरेक पक्षबारे सिक्दै, बुझ्दै समयको एउटा बिन्दुमा पुगेर प्रासना फिल्म बनाउने निर्णयमा पुगिन्।
अनि सन् २०१७ मा बनाइन् 'स्ट्रगल इन के–पप'।
यो फिल्म कोरियाको प्रसिद्ध के–पप ब्यान्डका गीतमा नाच्ने सात नेपाली युवाहरूको संघर्षमा आधारित छ। ती युवाले कोरियाली नृत्य प्रतियोगितामा भाग लिएका थिए। प्रथम हुनेलाई कोरिया गएर नृत्य गर्न पाउने पुरस्कार थियो। उनीहरू प्रथम त भए तर कोरिया लगिएनन्। आयोजकले दोस्रो भएकालाई पठाए। प्रासनाले तिनै युवाको घटनामा आधारित वृत्तचित्र बनाइन्।
उनले यो फिल्म कोरियाको 'उजु माउन्टेन फिल्म फेस्टिभल' मा पठाइन्। त्यसपछि सात जना युवासँगै उनी कोरिया पुगिन्। कोरियामा ती युवाले कोरियाली नृत्य देखाए।
त्यो दिनको घटना सुनाउँदै उनले भनिन्, 'भाइहरूले मेरोअगाडि आफ्नो सपना पूरा गरिराख्दा मेरो आँसु थामिएन। खुसीले गदगद भएँ। यो मेरो पहिलो डकुमेन्ट्री भए पनि उनीहरूको सपना पूरा हुँदा एकदमै खुसी लाग्यो।'
यो वृत्तचित्रले प्रासनालाई हौसला र आँट दुवै दियो। यसपछि उनी कर्णालीको डोल्पा पुगिन्। आफूले चाहेको जस्तो फिल्मका लागि उपयुक्त वातावरण पाइन्। अनि बनाइन् फिल्म 'डोल्पा डायरी'।
त्यही फिल्मले उनलाई किम्फमा 'बेस्ट एड्भेन्चर फिल्म' र ह्युमन राइट्स फिल्म फेस्टिभलमा 'बेस्ट वुमन फिल्म मेकर' अवार्ड दिलायो। त्यसपछि पाएको प्रशंसाले उनलाई ऊर्जा त दियो नै, जिम्मेवारी पनि थपिदियो।
'डोल्पा डायरी' को चार वर्षपछि प्रासनाले 'बिफोर यु ह्वेयर माइ मदर' बनाएकी हुन्।
सुरूमा उनले आमाबारे फिल्म बनाउने सोचेकी थिइनन्।
सन् २०१९ तिरको कुरा, उनले फिल्म साउथ एसियाबाट महिला वा यौनहिंसा सम्बन्धी विषयमा फिल्म बनाउने अवसर पाइन्। धेरैतिर अध्ययन गरे पनि आफूले गर्न सक्ने कथा भेटेकी थिइनन्।
पछि उनले आमाकै जीवनमा आफूले खोजेको कथा भेटेकी हुन्।
‘सुरूमा त मैले सोचेकै थिइनँ। मेरो र आमाको संवादै कम हुन्थ्यो,’ उनले भनिन्, 'आमासँग धेरै कुराकानी हुने माध्यम होस् भनेर पनि यो फिल्म बनाएँ।'
२५ वर्षको उमेरमा बिहे गरी भारतबाट नेपाल आएकी उनकी आमालाई नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन। त्यसैले आमा धेरै संवाद गर्दिनन्। भाषाकै कारण पनि आमालाई घरमा घुलमिल हुन समय लागेको उनी बताउँछिन्।
प्रासनाको आमाबाट प्रेरित फिल्मले सन्देश चाहिँ के दिन्छ?
‘निर्देशकलाई दुइटा कुरा गर्न मन लाग्छ। एउटा मन लागेको कथा भन्न पाइयोस् र अर्को दर्शकले कथा बुझून् भन्ने हो। मलाई भने भन्न मन लागेको खासै केही होइन। फिल्ममार्फत आमाको धारणा बुझ्न मन लागेको हो,’ उनले भनिन्।
कति धेरै मान्छेहरूले विभिन्न कारणले आमालाई समय दिन सकेका हुँदैनन्। आमालाई सबैले नजिकबाट बुझून् भन्ने कुरा नै फिल्मले पस्किन खोजेको उनी बताउँछिन्।
किम्फ विशेषका यी स्टोरी पनि पढ्नुहोस्ः
किम्फलाई २२ वर्षको बनाएर बिदा हुन लागेका बसन्त
'हेर्ने कथा' खोज्दै जाँदा भेटिएको 'बाघको बंगारा'
धामीलाई 'बिरामी बचाउनुछ भने अस्पताल लैजाऊ' भन्न लगाउँदा झन्डै सुटिङ रोकियो
छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका बाबु
तीन घन्टामा फुरेको 'सेनाको चेली'